१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

धरानको सेउती खोलामा ६ वर्षमा बन्यो पुल, अधेरी खोलामा अलपत्र

६ वर्षमा तयार भएको सेउती खोलाको पुल। ठेकेदारले काम नगरेपछि अलपत्र बनेको अधेरी खोलाको पुल। तस्बिरः रोहित राई

धरान उपमहानगरपालिकाको वडा नं १५, निराजन बस्ती र वडा नं ४ को खैरेनीटार जोड्ने पक्की पुल ६ वर्षमा निर्माण सम्पन्न भएको छ।

निर्माण कार्य शुरु भएको ६ वर्षमा पुल तयार भएपछि वडा नं ४ का बासिन्दाहरु हर्षित भएका छन्। साविक पाँचकन्या गाविस रहेको यो वडा उपमहानगरपालिका भएपनि सेउती खोलामा पुल नहुँदा साविक धरानसँग सिधा पहुँचमा थिएन। स्थानीयवासीले काठको पुल निर्माण गरेर वर्षामा ओहोर दोहोर गर्थे भने सवारीसाधनहरु जोखिम मोलेर तर्नुपर्थ्याे कि घुमेर बगरकोट वा पानवारी हुँदै आवतजावत गर्नुपर्थ्याे।

पर्याप्त बजेट अभावले पटक पटक रोकिएको पुल निर्माण सम्पन्न भएपछि वडावासीलाई धेरै राहत मिलेको पुल निर्माण समितिका सचिव एवं वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङले बताए। उनले भने,‘यो पुल तयार हुन ६ वर्ष लाग्यो। अब हामीलाई एकदमै सुविधा भएको छ, सबै खुशी छौं।’

२०७२ सालदेखि निर्माण शुरु भएको यो पुल कुल ३ करोड ३३ लाखमा निर्माण सम्पन्न भएको हो। त्यसमध्ये ९७ लाख उपभोक्ता समितिमार्फत काम भएको थियो। उपभोक्ताहरुले १५ लाख ४० हजार पुल निर्माणमा सहभागिता जनाएका छन्। शुरुवाती ३ वर्ष उपभोक्ता समितिमार्फत काम भएको थियो। निर्वाचन क्षेत्र विकास कोषबाट सांसद मिन बिकले २ पटक गरि ४७ लाख र सभासद कृष्णकुमार राईले ३० लाख बजेट दिएका थिए। यो रकमले ३ वटा पिलर मात्र ठडियो। बजेट अभावले २ वर्ष अलपत्र परेको पुल निर्माण कार्य गत वर्ष संघीय सरकारबाट बजेट विनियोजन भएपछि निर्माण सुचारु भएको थियो।

धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले यो पुल निर्माणमा बजेट विनियोजन गरेको थियो। मन्त्रालयले उपमहानगरपालिकालाई अख्तियारी दिएपछि ठेक्कामार्फत खाम्पासे निर्माण सेवाले गत वर्ष २ करोड ३६ लाखमा पुल निर्माण गरेको हो। उक्त बजेटबाट पुलको स्लाब, साइडवाल, बिमलगायतको निर्माण भएपछि पुल तयार भएको छ। आवतजावत भइसके पनि पुलको औपचारिक उद्घाटन भने हुन बाँकी छ।

यो पुल निर्माण हुँदा वडा नं ४ लाई धरान बजारसँग जोडेको छ भने ४ नम्बर वडाको खैरेनीटार, वसन्तटार, दानाबारी, देवी गाउँ, हर्दियालगायत पहाडी तथा ग्रामिण भेगका बासिन्दा आवतजावत गर्न सहज भएको छ। विगतमा यो क्षेत्रका बासिन्दा वर्षाको समयमा धरान बजार आउन निक्कै सास्ती झेल्नुपर्थ्याे। यो पुल बनेपछि धरानबाट दानाबारी, हर्दिया हुँदै जाने सडक भेडेटार राँके सडक खण्डमा जोडिएको छ। जसले गर्दा भेडेटार नगई राँके जाने बाटोको विकल्प पनि तयार भएको छ।

अधेरी खोलाको पुल भने अलपत्र

सेउतीको पुल ६ वर्षमा तयार भएपनि वडा नं ५ मा पर्ने अधेरी खोलामा निर्माणाधीन पुल भने अलपत्र परेको छ। यो पुलको ठेक्का इनरुवाका हजमुल मियाँले पाएका थिए। ठेकेदार मियाँले निर्माण कार्य छोडेपछि वडावासीहरु पीडित भएको वडाध्यक्ष सन्तोष लिम्बुले बताए।

उनका अनुसार आफूहरु जनप्रतिनिधिको रुपमा चुनिनु अघि नै यो पुल निर्माणाधीन थियो। पाँच वर्षे कार्यकाल सकिन लाग्दा पनि पुल तयार नभएको उनले बताए। ‘हामी निवार्चित हुनुअघि नै यो पुल बन्दै थियो, अहिले हाम्रो कार्यकाल सकिन लाग्यो, तर पुल बनेन्,’ वडाध्यक्ष लिम्बूले भने,‘बारम्बार ताकेता गर्दा पनि ठेकेदार गर्छु भन्न छोड्दैन, तर काम गर्दैन।’ यो पुल नबन्दा धरान स्कुल पढ्न आउने विद्यार्थी, सर्वसाधारण, विरामीहरुलाई घुमाउरो बाटोबाट आवतजावत गर्नुपर्ने बाध्यता भएको अध्यक्ष लिम्बुले बताए।

यो पुल संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण शुरु भएको थियो। ठेकेदारले करिब सोढ ७ करोडमा ठेक्का पाएको थियो। २०७४ सालदेखि निर्माण शुरु भएको पुल २ वर्षभित्र २०७६ असार २५ गते भित्र सकिनु पर्ने थियो। पटक पटक म्याद थप गरेपनि ठेकेदार भने अनेक बहाना बनाएर काम नगरि बसेका छन्।

यता, ठेकेदार मियाँ भने कोभिड, चाडपर्व, वर्षालगायतले गर्दा काम गर्न नपाएको जवाफ दिन्छन्। उनले भने,‘यो बहुवार्षिक योजना हो। कहिले बजेट हुँदैन। कोभिडले पनि काम रोकियो, चाडपर्व र वर्षाले पनि रोकियो। अब चाँडै शुरु हुन्छ।’

प्रकाशित: २५ कार्तिक २०७८ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App