३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

धमाधम लाभांश घोषणा गर्दै वाणिज्य बैंक

तिहार सकिएलगत्तै मेगा, प्राइम, सनराइज र प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेका छन्।तिहारअघि १६ वाणिज्य बैंकले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन्। सञ्चालनमा रहेका अन्य बैंकले पनि चाँडै नै गत वर्षको लाभांश घोषणा गर्ने लगानीकर्ताको अपेक्षा छ।

मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड रूपैयाँको१२.०७प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रूपैयाँ पुग्नेछ।यो लाभांश गत वर्षभन्दा करिब एक प्रतिशतले कमी हो।

त्यस्तै,प्रभु बैंकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद गरी१२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सनराइज बैंकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ०.३५ प्रतिशत नगद लाभांश गरी कुल सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त बैंकले गत वर्षको तुलनामा करिब साढे एक प्रतिशत बिन्दुले कम लाभांश घोषणा गरेको हो।

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सात बैंकले लाभांश वितरण गर्न बाँकी रहँदासम्म गत वर्षको मुनाफाबाट सबभन्दा धेरै लाभांश घोषणा नबिल बैंकले गरेको छ। हरेक वर्ष आकर्षक लाभांश दिँदै आएको उक्त बैंकले गत वर्षको आम्दानीबाट ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ४.४ नगद र ३३.६ प्रतिशत बोनस सेयर रहेको छ।

नबिलपछि हिमालयन बैंकले धेरै लाभांश घोषणा गरेको छ।हिमालयनले ४.६२ प्रतिशत नगद र २१.३८प्रतिशत बोनस सेयर गरी २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। हिमायन र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा छन्। त्यस्तै गत वर्षको आम्दानीबाट सानिमा बैंकले ०.८९प्रतिशत नगद र १७ प्रतिशत बोनस सेयर दिने जनाएको छ। बैंकले दिने भनिएको नगद चाहिँ कर प्रयोजनको लागि हो।

अघिल्लो वर्षको तुलनामा नबिल लगायतका केही बैंकले लाभांश वृद्धि गरे पनि एभरेस्ट लगायतका केही बैंकले भने घटाएका छन्।कुमारी बैंकले २.६७ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी८.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। एभरेस्टले ४.३२ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। एभरेस्ट बैंकले घोषणा गरेको लाभांश हालसम्मकै कम हो।

सरकारी स्वामित्वको नेपाल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई तीन प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। नेपालको पहिलो बैंक भए पनि पछिल्लो केही वर्षयता उक्त बैंकले लगानीकर्तालाई निराश नहुने गरी प्रतिफल दिइरहेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी आगामी दिनमा लगानीकर्तालाई निराश नपार्ने गरी प्रतिफल दिन बैंक सक्षम रहेको दाबी गर्छन्।

बैंकले तीन आर्थिक वर्षयता नियमित लाभांंश दिइरहेको छ।२०५९ देखि २०६४ सम्म बैंकको आर्थिक लगायतको अवस्था निकै खराब भएपछि नेपाल बैंकको व्यवस्थापन विदेशीलाई दिने सरकारले निर्णय गरेको थियो।

हिमालयन बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ३.३९ प्रतिशत नगद र १२.६१ बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सिटिजन्स बैंकले पनि गत वर्ष आम्दानी बढाएर लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त बैंकका लगानीकर्ताले ३.०९ प्रतिशत नगद र १२.९१ बोनस सेयर प्राप्त गर्नेछन्।

एनआइसी एसिया बैंकले कर प्रयोजनार्थ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने जनाएको छ। त्यस्तै नेपाल बंगलादेश बैंक ३.५ नगद र १२ प्रतिशत बोनस गरी १५.५प्रतिशत लाभांश वितरणको तयारी गरेको छ। सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांशको प्रस्ताव गर्दा माछापुच्छ«ेले सोही हाराहारी नै १४ प्रतिशत लाभांश दिने जनाएको छ।

ग्लोबल आइएमई बैंकले ३.५ प्रतिशत नगदसहित १३.५,स्ट्यान्डर्ड चार्टर्डले ३.०६ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १३.०६, बैंक अफ काठमाण्डूले चार प्रतिशत नगद र १० प्रतिशत बोनस गरी १४,एनएमबी बैंकले ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत बोनससहित १५.८लाभांश घोषणा गरेका छन्।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहाल कोरोना महामारीमा बैंकहरूले अतिरिक्त भारी बोकेर भए पनि कर्जाको ब्याजदर घटाई उद्योगी, व्यवसायीलाई सहयोग पुर्‍याएको बताउँछन्। त्यस्तै, राष्ट्र बैंकले ल्याएको नीति अनुसार कर्जा भुक्तानी गर्ने समय थप गर्दा पनि बैंकहरूको आम्दानीमा केही गिरावट आएको बताउँछन्।

महामारीमा एकातिर नियमित काममा अवरोध हुँदा र अर्कोतर्फ उद्योग, व्यवसायीलाई कर्जामा सहुलियत प्रदान गर्दा गर्त वर्ष बैंकहरूको आम्दानीमा केही गिरावट आएको बैंकरहरू बताउँछन्। तर चालु आर्थिक वर्षको सुरुआतमै कर्जाको माग निकै बढेको छ। गत वर्ष नौ सय एक अर्ब कर्जा लगानी विस्तार गरेका बैंकहरूले चालु आर्थिक वर्षको दुई महिनामा ३२ प्रतिशतले कर्जा लगानी वृद्धि गरेका छन्। उच्च कर्जा लगानीको मागले यतिखेर बैंकहरूसँग लगानी गर्ने रकमको अभाव हुँदै गएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App