२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बाढीले जुम्लाको कृषि क्षेत्र तहसनहस

गत कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण यहाँको कृषि क्षेत्र तहसनहस भएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार १३ हेक्टर खेतीयोग्य जमिन पूर्णरुपमा कटान गरेर बाढीले बगाएको छ।  

जिल्लाको तातोपानी ४,७ र ८, तिला गाउँपालिकाको ४ नम्बर वडामा खेतियोग्य जमिन बाढीले बगाएर लगेको हो। बाढीले खेतियोग्य जमिनसँगै घर भित्र्याउन लागेको धान पनि सँगै बगाएकोले किसान चिन्तित छन्। किसान कर्णबहादुर हमाल धानमात्र लिएको भएपनि अर्को वर्ष खेती गर्न सकिने अवस्था रहेको बताउँछन्। तर जमिनसँगै धान पनि बगाएकोले समस्या आएको छ। उनले भने, ‘कडा मेहनत गरेर उत्पादन गरिएको धान पनि रहेन। जमिन पनि रहेन। अब के खाने?के गर्ने? भन्ने अवस्थामा पुगिएको छ।’

उनको ६ मुरी खेतमा लगाएको धान र खेतसमेत बाढीले बगाएको छ। खेत बाढीले लैजाँदा घरबाट टुलुटुलु हेर्नुको विकल्प नभएको अनुभव सुनाए। उनले भने, ‘यो वर्ष त भोकमरी नै हुने भयो तर अर्को वर्ष खेती गर्ने जमिनसम्म रहेन। बाढीले सुकुम्बासी बनाइदियो।’

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जिल्लाको २१ हेक्टरमा लगाएको धान खेतीमा क्षति पुगेको बताउँछन । उनले भने, ‘१३ हेक्टरमा लगाएको धानसँगै जमिन पनि बगायो। बाँकी क्षेत्रमा धानमा मात्र क्षति पुग्यो। यो यहाँका किसानका लागि निकै ठूलो क्षति हो।’

तिला गाउँपालिका ४ मा १३ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुग्यो। जसमध्ये १० हेक्टर जमिनसँगै धान बगे। ३ हेक्टर जमिनमा लगाएको धान पहिरोमा डुबे। ‘तातोपानी गाउँपालिकामा मार्सीधान उत्पादन भएको लाछु, जीउलोमा पनि धान पहिरोले डुबायो। यो जीउलोमा मार्सीधान खेतीको पहिलो परीक्षण गरिएको थियो।

तातोपानी ४ मा ५ हेक्टर जमिनमा लगाएको बाली नष्ट भयो। जसमध्ये ३ हेक्टर कटान गरिसकेको छ। एक हेक्टरमा गरिएको खेती डुबायो। कृषि कार्यालयका प्रमुख देवकोटाले भने, ‘यो प्रारम्भिक टिपोट हो। विस्तृत क्षतिको विवरण संकलन गर्न स्थानीय प्रशासनको प्रतिनिधि, जलस्रोत तथा उर्जा विकास कार्यालयको प्राविधिक, कृषि प्राविधिक र सम्बन्धित स्थानीय तहको कृषि शाखाको प्रतिनिधि बाढी प्रभावित क्षेत्रमा खटाइएको छ। टोली गाउँगाउँमा खटिएको छ’, उनले भने, ‘कृषि क्षेत्रमा बाढीले पुगेको क्षतिबारेमा एकीन विवरण प्राप्त हुनेछ। त्यसैको आधारमा राहतको प्याकेज निर्माण हुनेछन्।’

तिला ४ मा सामुदायिक स्याउ बगैँचा र तातोपानी ८ मा ओखर नर्सरी समेत बगाएको छ। वर्र्षाले खासै क्षति भएन। तर वर्षासँगै गिडिखोला र भेरीखोलामा आएको बाढीले कृषि क्षेत्र नै तहसनहस बनायो। बाढीग्रस्त क्षेत्र वर्षा बढी हुने क्षेत्र हो। जथभावी डोजर लगायतका डकुमेण्ट प्रयोग गरेर आन्तरिक सडक  खन्नु, खोलामा नदीजन्य वस्तुको मनपरी उत्खनन हुनु र वनजंगलको विनास हुँदै जानुले बाढी निम्तिएको कृषि प्रमुख देवकोटा बताउँछन्।  

जुम्लामा धानको खेती हुने जमिन २ हजार ९ सय हेक्टर हो तर अब २ हजार ८ सय ८७  हेक्टर मात्र बाँकी रह्यो। सबै मार्सीधानको खेती हुने जमिन बगायो। बाढीले २० प्रतिशत उन्नत जातको धान नष्ट भएकोमा ८० प्रतिशत मार्सीधानमा क्षति पुगेको कृषि विकास कार्यालयको तथ्यांक छ।

‘यो वर्ष धानमा खासै रोगको संक्रमण थिएन’, उनले भने, ‘मल बढी प्रयोग भएकोले नाइट्रोजनको मात्रा बढी देखिएको थियो। मार्सीधानले नाइट्रोजन बढी सहदैन। मार्सीधानमा मल प्रयोगबारे किसानलाई जानकारी गराउदै आएको छ।’  

कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले किसानलाई राहतका लागि पहल भइरहेको बताए। प्रदेश मन्त्रालयमा फोन गरेर यहाँको बाढीले पुर्याएको क्षतिपुर्तिका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ। उनले भने, ‘अहिले आएको कार्यक्रमलाई संशोधन गरेर बाढी प्रभावित अनुकुलको कार्यक्रम ल्याउनको लागि माग गरिएको छ।’

उनले अब बाढी आउने संभावित क्षेत्रमा वृक्षारोपणका क्रियाकलाप गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन्। जिल्लाभरी ३२ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगेको छ।

प्रकाशित: १३ कार्तिक २०७८ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App