८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

छुट सुविधाको ७८ क्वीन्टल चामल मात्र बाँकी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन थालेको छ। जिल्लाको सात वटा गाउँपालिकालाई ७ सय क्वीन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्वीन्टल चामलको कोटा तोकेको थियो।

दसैँका बेला यहाँका नागरिकले अत्याधिक रुपमा चामल लिएपछि तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गरेर एक हजार क्वीन्टल चामल कोटा छुट्याएको थियो। कम्पनीका प्रमुख तिलक सुनार छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको बताउँछन्। उनले भने, ‘छुट सुविधाको चामल वितरण गर्न थालेपछि उपभोक्ताको भिड लाग्न थाल्यो। चामल सकिन थालिसकेको छ।’

बिहीबारसम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भएको खण्डमा तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ।

'हाल छुट सुविधाको चामल ७८ क्वीन्टल मात्रै बाँकी छ। चामल लिनेहरूको भिड रोकिएको छैन। थप एक हजार क्वीन्टल चामल पठाउन माग गरिएको छ', प्रमुख सुनारले भने, ‘माग गरेको चामल आइपुगेको खण्डमा चामल अभाव हुने छैन। तर त्यो चामल आएन भने चामल अभाव हुनेछ।’

'हामीले यहाँको आवश्यकता बमोजिम १ हजार क्वीन्टल मागेका छौँ,' उनले भने, ‘केन्द्रले ५ सय क्वीन्टल चामल पठाउने जनाएको छ। छुट सुविधाको चामल जुम्लामा गत असोज एक गतेदेखि वितरण सुरु भएको थियो। हालसम्म १ हजार ५ सय ३७ जनाले सो चामल लिएका छन्।

यही कात्तिक १ देखि ३ गतेसम्म परेको अबिरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन्। अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ।

कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्याधिक प्रयोग गरिराखेका छन्। अन्य स्थानीय तहले निकै कम मात्रामा चामल लिएका छन्। जुम्ला स्थित कम्पनीको कार्यालयबाट ४ लाख ६३ हजार रुपैयाँ बराबरको छुट सुविधाको चामल बिक्री भएको हो।

तिला गाउँपालिका ४ का नैनबहादुर हमालले यो वर्ष बाढीले धानबाली नष्ट गरेको र जमिन कटान गरेर बगाएकोले अनुदानको चामल अत्याधिक बिक्री हुने बताउँछन्। उनले भने, ‘यो वर्ष गाउँमा भोकमरी हुने सम्भावना बढेको छ। यो बेला अनुदानको चामलको भर हुने देखिन्छ। जसका लागि सरकारले जुम्लाको लागि अनुदानको चामलको कोटा बढाउन जरुरी छ।’

छुट सुविधा बाहेकको साढे ७ सय क्वीन्टल मौज्दात रहेको र थप ६ हजार क्वीन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ। बजारमा आउने चामल निकै महंगो पर्ने भएकोले खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको कार्यालयले चामलको कोटा बढाउन माग गर्नुपर्ने जुम्लावासी बताउँछन्।

जुम्लाको जुम्लाकोट र धापा डिपोमा पनि अनुदानको चामल राख्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुले जोड दिएका छन्।

प्रकाशित: ११ कार्तिक २०७८ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App