४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली महिला उद्यमी सम्मेलन हुने

वीरगन्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आउँदो कात्तिक ५ गते आयोजना हुन लागेको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो। आयोजकले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर आयोजना हुने भएको उक्त ‘नेपाली महिला उद्यमी सम्मेलन’का बारेमा जानकारी गराएका छन्।  

नेपाली महिलाहरूको उद्यमशीलतामा सहभागिता बढाउने उद्देश्यले राजधानी बाहिर पहिलोपटक यस्तो सम्मेलन वीरगन्जमा गर्न लागिएको आयोजकले बताए। एक दिवसीय सम्मेलनमा करिब सयदेखि १ सय ५० जनासम्म महीला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक रहेकी लेडिज सर्कलकी मनिषा सुनुवारले बताइन्।  

‘उद्यमी महिलाका सफलताका अनुभव, उनीहरुले भोग्नु परेका समस्याहरूलाई र अझ राम्रो गर्नका लागि के उपायहरू हुन सक्छ भन्ने विषयमा उक्त अवसरमा बिमर्श गनु सम्मेलनको उद्देश्य हो,’ संयोजक सुनुवारले भनिन्, ‘राम्रो काम गरेर पनि प्रचारप्रसार नपाएर बजारमा कठिनाईका सामना गरिरहेका महिलाहरुको समस्या पहिचान गर्ने, नयाँ उद्यम थलानी (स्टार्टप) गर्ने महिलाहरुरुका चुनौतिहरु साझा गर्ने र महिला उद्यमशीलता प्रवद्र्धन गर्ने थालोको रुपमा यो आयोजन हुनेछ।’ चुनौतीहरूको समाधान र सम्भावनाको खोजी गर्नुका साथै सरोकारवाला पक्ष तथा निकायहरूसँग समन्वय अभिबृद्धि यसबाट हुने उनले विश्वास जनाइन्।  

नेपाली युवा उद्यमी मञ्च वीरगन्जका अध्यक्ष अनुप अग्रवालले विविध क्षेत्रमा उद्यमशीलतामा लागेका महिला उद्यमीहरूको मिहिनेत र उनीहरुको संघर्ष अनि सफलताका कथा साझा गर्ने मञ्चको रुपमा यो सम्मेलन उपयोगी हुने जनाए। लेडिज सर्कल नेपाल निवर्तमान राष्ट्रिय अध्यक्ष रश्मी दासले सम्मेलनबाट महिलाको उद्यमशीलता प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

एकदिने सम्मेलनबाट आफ्नो व्यवसायमा स्थापित भइसकेका उद्यमी महिला र स्टार्टअप सुरु गरिरहेकाहरुबीच ज्ञान, सीप र अनुभव साटासाट गर्ने अवसर प्रदान हुने र भविष्यमा सहकार्यको लागि वातावरण निर्माण हुने उनको भनाइ थियो। कार्यक्रमबाट उद्यमी महलाहरुलाई प्रोत्साहन प्राप्त हुने आयोजकको अपेक्षा छ। ग्रामीण महिलाको उद्यमीहरुलाई प्राथमिकतामा राखेर आयोजना स्थलभित्रै १० देखि १५ वटासम्म प्रदर्शनी कक्ष राखिने नेपाली युवा उद्यमी मञ्चका विकास ठाकुरले बताए।

प्रकाशित: २० आश्विन २०७८ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App