३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मूर्ति बनाउन भ्याई नभ्याई

कोरोनाले मूर्तिको अर्डर कम आएको गुनासो

जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्। मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मूर्तिकारहरु अहिले सजावट तथा रंगरोगनमा लागेका छन्। 

जिल्लाका १० वटै पालिकाहरूमा रहेका मूर्तिकारहरु विजयादशमीका दिन प्रदर्शन गरिने मूर्तिहरु बेच्नका लागि अहिले मूर्ति बनाउनमा ब्यस्त छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँ टोलका युवा मूर्तिकार अनिल गुप्ताले एक महिनादेखि मूर्ति बनाउन थालेकाे बताए। उनी अहिले दुर्गा भगवती, दानव तथा विभिन्न देवी देउताकाे बनाएको माटाेको मूर्तिमा रंग लगाउन लागि परेका छन्। 

दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मूर्तिहरु बनाउन अर्डर आएकोले दिनरात मूर्ति बनाउन लागि परेको उनी बताउँछन्। ‘दुई दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले एक छिन पनि फुर्सद छैन’, उनले भने। उनले १५ हजारदेखि ४० हजार रूपैयाँ बढीसम्मका मूर्तिहरुको अर्डर आएको बताए। २ वर्षसम्म मूर्ति बेचेर राम्रो आम्दानी गरेका अनिलले कोरोनाका कारण मूर्तिको बिक्री र रेट समेत घटेको गुनसो गरे। 

‘कोरोनाले गर्दा मूर्तिको बिक्री र रेटप्रति मूर्ति ५ देखि १० हजारले घटेको छ’, उनले भने, ‘कोरोनाले गर्दा हामीहरुको पेशा नै संटकमा परेको छ। २ वर्षअघिसम्म ४० वटा बढी मूर्ति बेचेका उनले यस वर्ष भने २० भन्दा कमको अर्डर आएको बताए। यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर २ सेमराहवाका रबिन्द्रकुमार पासवान मूर्ति बनाउन निकै व्यस्त छन्। घाममा सुकाएर तयार भएका मूर्तिहरुमा रंग भर्नमा लागि परेका उनले अर्डर पाएको १० वटा मूर्ति समयमै उपलब्ध गराउन परेकोले कामको निकै चटारो परेको बताए। 

गत वर्षभन्दा १० सेट कम मूर्तिको अर्डर आएको भन्दै उनले केही मूर्ति घटस्थापना र केही सप्तमीअघि डेलिभरी दिनुपर्ने बताए। ‘कामको चापले दिनरात मूर्ति बनाउनै खटेको छु,' उनले भने। उनले पनि कोरोनाले गर्दा मूर्तिको अर्डर र रेट घटेका कारण मर्कामा परेको गुनासो गरे। एक सेट मूर्तिको १५ देखि २५ हजार रूपैयाँ मूल्यका रहेकाे उनले बताए। 

गत वैशाख महिनादेखि मूर्ति बनाउन सुरु गरेको उनले हरेक वर्ष मूर्ति बनाएर पचास हजारदेखि एक लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन्। ‘आम्दानी र धर्म पनि कमाईने हुँदा अली बढी मेहेनत गरेकाे छु।’ पेन्टिङ र मूर्तिको सजावटपछि तयार हुने उनले बताए। कपिलवस्तु नगरपालिका–२ भिक्षु चोकमा आफ्नो पूरै परिवारसहित मूर्ति बनाउन कस्सिएका छन् सुनिल तिवारी। १५ देखि २५ हजार मूल्यमा बिक्री गर्ने योजनामा रहेका उनले १० वटा मूर्ति तयार गरेको र पेन्टिङ र सजावटको काममा लागेको बताए।  

दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका अर्डर अनुसारका मूर्ति निर्माण गर्छन्। यहाँका मूर्तिकारहरु मूर्ति बनाउन चाहिने औजार र सजावटका सामग्रीहरु भारतबाट ल्याउने गरेका छन्। जिल्लामा कतै घटस्थापना र कतै सप्तमीका दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ। कतिपय स्थानमा घटस्थापनाका दिनदेखि र कतिपय स्थानमा सप्तमीका दिन अबेर रातिदेखि विशेष पूजा अर्चना गरि मूर्ति स्थापना गरिन्छ। मूर्तिलाई द्वादशी तिथीका दिन स्थानीय नदी, नाला र खोलामा सेलाउने गरिन्छ।

प्रकाशित: १६ आश्विन २०७८ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App