coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत निर्माण कार्य सम्पन्न

पुरक ईआईए नहुँदा डाँडा कटान अगाडि बढेन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछि विमानस्थल निर्माण आयोजनाका पदाधिकारीसँग सामुहिक फोटो खिचाउँदै मुख्यमन्त्रीसहित प्रदेश मन्त्रीहरु। तस्बिर: सन्देश/नागरिक

वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटानको काम रोकिएको छ। आगामी जुलाई १० तारिखदेखि विमानस्थल सञ्चालनमा आउने भएपनि विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटान हुन नसकेको हो। 

स्थानियको स्वामित्वमा भएको डाँडा कटान कार्य भएपनि पुरक ईआईए नहुँदा सरकारी वन रहेको डाँडा कटान भने अगाडि बढ्न नसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले जनाएको छ।विमानस्थल निर्माण कार्यको प्रगति बुझ्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारका मन्त्रीहरुको टोलीलाई ब्रिफिङ गर्दै विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुननकर्मीले वातावरण प्रभाव मूल्याङ्कन हुन नसक्दा डाँडा कटान ठोस रुपमा अगाडि बढ्न नसकेको बताए। 

नीजि जग्गा कटान शुरु भएपनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन, अर्कोतर्फ सरकारी वनतर्फको कटान शुरु गर्न पुरक ईआईए गर्नुपर्ने आवश्यक देखिएको छ, जसका कारण डाँडा कटान हुन सकेको छैन’ उनले भने। उनले कोभिडका कारण लकडाउन हुँदा नापी कार्यालयबाट डाँडा कटान क्षेत्रको सिमाङ्कन गर्ने तथा डिभिजन वन कार्यालयबाट रुखको लगत राख्ने कार्यमा ढिलाई हुँदा पुरक ईआईएमा असर परेको र सोहि कारण डाँडा कटान कार्य अगाडि बढ्न नसकेको उनको भनाई छ।

विमानस्थल निर्माण आयोजना प्रमुख मुननकर्मीले विमानस्थल सञ्चालनमा आउने दिन नजिकिदै गएपनि वैकल्पिक ल्याण्डफिल साइड निर्माण नहुँदा समस्या आउने हो कि भन्ने त्रास बढेको बताए। हालको ल्याण्डफिल साइड विमानस्थल भन्दा २ किलोमिटर नजिक भएकाले त्यसलाई सार्नैपर्ने बाध्यात्मक परिस्थितिमा पोखरा महानगरपालिकाले वैकल्पिक स्थान पहिल्याउन सकेको छैन। विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिना अघि नै ल्याण्डफिल सार्नुपर्ने उनको भनाई छ। त्यसो भएमा हालको ल्याण्डफिल साइडमा रहेका चराहरुपनि सिफ्ट हुने उनीहरु हिंड्ने रुटपनि परिवर्तन गर्न समय लाग्ने भएकाले चाँडै वैकल्पिक ल्याण्डफिल साइड खोज्नुपर्ने भएपनि अहिलेसम्म महानगरपालिकाले नगरेको उनले बताए।

आयोजना प्रमुख मुननकर्मीले विमानस्थलको ८४ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए। विमानस्थलको काम मध्ये टर्मिनल एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएका छन् भने ती भवनको रंगरोगन तथा ईलेक्ट्रिक जडान कार्य भइरहेको आयोजना प्रमुख मनंकमीले जानकारी दिए। उनका अनुसार ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका कामहरु सम्पन्न भइसकेको बताए। उनले विमानस्थलको लाइटिङ, एक्सेस रोड, कार पार्किङ, तारवार लगाउने काम सम्पन्न भएको बताए। मुननकर्मीले विमानस्थलको पेरीफेरी रोडको ७० प्रतिशत र विमानस्थल वरीपरीको नाला निर्माण कार्य ९० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ। यसमा न्यारोवडीका १६० देखि १७५ सिट क्षमताका विमानहरु उडान तथा अवतरण हुने विमानस्थल सञ्चालन तयारी समिति संयोजक विक्रम गौतमले जानकारी दिए। उनका अनुसार पोखरामा मध्यम दुरीका न्यारोवडीका विमानहरु मात्र आउन पाउँछन्। यहाँको रनवेलाई आईकाओले क्याटागोरी डि दिएको छ, यहाँ आउने न्यारोवडी जहाजमा तेल धेरै अटाउँदैन, त्यसैले ६/७ घण्टा उड्ने जहाज यहाँ आउँदैन, यहाँ आउने भनेको मध्यम दुरीका हुन्।’ उनले नया विमानस्थल विशेष गरेर आन्तरिक उडानमै केन्द्रीत हुने बताए।

२२ अर्बको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ। यसअघी १० जुलाई २०२१ मै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण निर्माणमा ढिलाई भएपछि एक वर्ष म्याद थपिएको थियो।

विमानस्थल अनुगमनका लागि मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, सञ्चार, प्रविधी, कानून तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा र पर्यटनमन्त्री मणिभद्र शर्मा पुगेका थिए। अनुगमनका क्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले विमानस्थल निर्माणमा देखापरेका सबै समस्या समाधान गर्न प्रदेश सरकारले संघ सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताए।

प्रकाशित: १३ आश्विन २०७८ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App