१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सनसाइन रिसोर्टः स्थानीय पाहुना कुर्दैछ

पोखरा–२१ फेँदीपाटनमा बनेको सनसाइन रिसोर्ट । तस्बिरः नागरिक

पोखराको चालु विमानस्थलबाट करिब आठकिलोमिटर टाढा छ सनसाइन रिसोर्ट । नजिकै बाक्लो, बस्ती, जंगल अनि उत्तरतिर फर्किदा टलक्क टल्किने हिमालको दृष्य, जसले रिसोर्ट पुगेका पाहुनाको मनै लोभ्याउँछ । त्यसबाहेक तलतिर फर्किदा देखिने फुस्रेखोलाको नागबेली आकारले पनि उत्तिकै आकर्षण थपेको छ ।

कोलाहलपूर्ण बन्दै गएको पोखरालाई छलेर केही परको शान्त वातावरणमा मनोरम दृष्य नियाल्दै बस्ने पर्यटकका लागि लक्षित गरि पोखरा महानगरपालिका–२१ को फेँदीपाटनमा यो रिसोर्ट बनेको छ । कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र आक्रान्त पर्नै थाल्दा यो रिसोर्ट भर्खर संचालनमा आएको थियो । त्यसपछि कोरोनाको दुईवटा लहरको अप्ठेरो यो रिसोर्टले पार गरिसकेको छ ।  

कोरोनाको दोश्रो लहर केही कमजोर भएको मौका पारेर पर्यटन क्षेत्र चलायमान बन्ने प्रयास गरिरहँदा ग्रामिण भेगको झल्को दिने भूगोलमा बनेको यो रिसोर्ट अहिले पाहुना पर्खिरहेको छ । पोखरा सहरबाट केही परको दूरीमा थुप्रै र सुविधासम्पन्न रिसोर्ट बनेका छन । तिनैमा मिसिन सनसाइन आएको हो । पोखराका धेरै र ठुला आकारका होटलले आन्तरिक र विदेशी पाहुना कुरिरहँदा सनसाइन रिसोर्टका संचालकको ध्यान भने स्थानीय पाहुनामा छ । पोखरा उपत्यकाभित्रैका पाहुनालाई रिसोर्टसम्म पु¥याउने योजना यसले बुनिरहेको छ ।  

रिसोर्टलाई अहिले एजिज हस्पिटालिटी गु्रपले व्यवस्थापनको जिम्मा लिएको छ । एजिजका निर्देशक किरण तुलाधरका अनुसार यो रिसोर्ट पर्यटन क्षेत्रका अनुभवि व्यक्ति आर डी किरणले खोलेका हुन् । झन्डै १२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा २० वटा कोठा छन् । स्वीमिङ पुल, घुमघामका लागि गाडर्ने, सभासम्मेलनका लागि हल सहितको रिसोर्टमा झन्डै २५ करोड रुपैयाँ लगानी भएको छ । ‘पोखराको कोलाहलबाट मुक्त हुन चाहेका स्थानीय पाहुनालाई लक्षित गरि हामीले अहिले विशेष प्याकेज सहित व्यवस्थापन गरिरहेका छौं,’ तुलाधरले भने, ‘सधैं कोलाहलमा बसेका स्थानीयलाई एकरातका लागि मात्र भएपनि शान्त वातावरणमा रमाउँदै मनोरम दृष्य अवलोकन गराएर यहाँ बसाउने लक्ष्य लिएका छौ ।’

तुलाधरका अनुसार रिसोर्टमा फराकिला कोठा छन् । सबै कोठामा बालकोनीको सुविधा छ । सबै कोठाबाट हिमाली दृष्य अवलोकन गर्न सकिन्छ । ‘ग्रामिण बस्तीको नजिक भएकोले गाउँका फरक अनूभव पनि यहाँ लिन सकिन्छ । त्यो बाहेक नजिकैको जंगलबाट चराचुरुंगीको आवाजले बसाईलाई साच्चै प्रकृतिमय बनाउँछ,’ उनले भने, ‘समुदाय घुमेर अनुभव पनि बटुल्न पाइन्छ । रिसोर्ट नजिकैको बस्तीमा रम्न पाउँदा पाहुना खुसी पनि हुने गरेका छन ।’

तुलाधरका अनुसार एजिज हस्पिटालिटीले सनसाइनसँगै लेकसाइडकै २६ कोठाको पोखरा च्वाईस इन, लम्जुङको ४६ को गेटवे हिमालय र ३६ कोठाको भोटेकोशी रिसोर्टको पनि व्यवस्थापन जिम्मा लिएको छ । ‘अहिलेसम्म चारवटा रिसोर्टको व्यवस्थापन जिम्मा हामीले लिएका छौ । हामिले यी रिसोर्टको बजारीकरणसँगै व्यवसाय प्रवद्र्धन गरिदिन्छौ,’ तुलाधरले भने, ‘तत्कालका लगि केही वर्षका लागि हामीले व्यवस्थापन जिम्मा लिएका हौ ।’

सनसाइनको प्रवद्र्धनका लागि सस्तो प्याकेज पनि ल्याइएको तुलाधरले बताए । उनका अनुसार एकजोडीले सातहजार रुपैयाँ तिरेपछि एकरातको बास, ब्रेकफास्ट, डिनर सहित बसपार्क वा पोखरा विमानस्थलसम्म आउजाउ गर्न पाउँछन । यो सुुविधा लिन अरुबेला १० हजार रुपैयाँ तिर्नुपर्ने उनले सुनाए । त्यसबाहेक रिसोर्टको सुइट रुममा बस्दा अरुबेला एकरातको २५ हजार रुपैयाँ पर्नेमा अहिले १५ हजार रुपैयाँमा बस्न पाइन्छ । त्यस्तै डुप्लेक्स रुमको अरुबेला १७ हजार रुपैयाँ पर्नेमा अहिले १० हजार रुपैयाँमा सुविधा दिइएको छ । डुप्लेक्स कोठा अरु भन्दा फरक छ । जहाँ तल्लो तलामा बैठक कक्ष र माथिल्लो तलामा बेड सहितको सुविधा यहाँ छ ।  

‘कोरोनाको यो अप्ठेरोका बेला रिसोर्ट चलाउनु चूनौतिपूर्ण छ । तर, पनि पोखरा उपत्यका भित्रका पाहुनालाई हामाीले लक्षित गरेर सस्तोमा सेवा दिएका हौ । किनकी स्थानीय पाहुनालाई एकरातका लागि भएपनि सनसाइनसम्म ल्याउने ल्याउने योजना हो,’ उनले भने । उनका अनुसार अहिले पनि बिदाको दिनमा स्थानीय पाहुना नै रात कटाउनका लागि रिसोर्टमा पुग्ने गरेका छन ।  

‘पोखरा घुम्न आएका अरु आन्तरिक र बाह्य पाहुनाका लागि पर्याप्त होटल छन् । हामीले पनि अरु आन्तरिक र विदेशी पाहुनालाई राख्छौ,’ उनले भने, ‘तर, अहिलेका लक्षित पाहुना स्थानीय हुन ।’ कोरोनाको पहिलो लहर कमजोर हुँदा यो रिसोर्टले झन्डै ७० प्रतिशतसम्म व्यवसाय उकासिसकेको थियो । तर, दोश्रो लहरपछि सुनसान नै हुन पुगेको तुलाधरले बताए ।

तुलाधरको अनुभवमा पोखरा उपत्यकाभित्रैका पाहुनाको साप्ताहिक बिदा मनाउन डाँडाकाँडाका रिसोर्टमा जाने चलन बढेको छ । घरमा बस्दा दिक्क भएको र पोखरा बाहिर जाँदा कोरोनाको त्रास भएकोले नजिकैका र ग्रामिण भेगको झल्को दिने रिसोर्टमा स्थानीय पाहुना बास बस्न जाने गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च कर्मचारी, चिकित्सक, व्यवसायी लगायतका पाहुना अहिले आसपासका रिसोर्टमा बस्न जाने गरेका छन । उनै पाहुनालाई लक्षित गरेर सनसाइनले प्याकेज सहितको सुविधा दिएको उनले बताए ।

‘हिमाल खुलेको दिन यहाँबाट देखिने दृष्यको त बयान गरिसाध्य छैन । अरुबेला पनि शान्त र मनोरम वातावरणमा सुस्ताउनका लागि निकै नै उपयुक्त छ,’ उनले भने, ‘खानपिन र बसोबासका सुविधा सबैतिरका होटलमा पाइन्छ, तर, प्राकृृतिक सुन्दरताको अनुभव सबैतिर गर्न पाइदैन ।’ तुलाधरका अनुसार अहिले पनि स्थानीय चिकित्सक र व्यवसायी सहितका पाहुना रिसोर्टमा बस्न जाने गरेका छन । कोरोना त्रासले विदेशी पाहुना नभित्रिएपनि स्थानीय र बेलाबेला अरु आन्तरिक पाहुना आउने गरेको उनले सुनाए । ‘पर्यटनमा यो बेला सहज छैन, तर, अप्ठेरोबीच पनि हामीले रिसोर्ट संचालनको आँट गरेका छौ,’ उनले भने । 

प्रकाशित: १२ आश्विन २०७८ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App