३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

उपभोक्तालाई सामुदायिक वनको सोलार र ग्याँस

सामुदायिक वन समूहले दिएको सोलार प्यानलसहित उपभोक्ताहरु । तस्बिरः महेश्वर

यहाँको एक सामुदायिक वन उपभोक्ता समूह (सावउस)ले उपभोक्तालाई सोलार बत्ती र ग्याँस चुल्हा वितरण गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका १४ साउनेस्थित नयाँ प्रगतिसिल सावउसले आफ्नो सेवा क्षेत्र उपभोक्तालाई सोलर बत्ती र ग्याँससहित चुल्हा वितरण गरेको हो।  

दाउरा बाल्दा वन पैदावारको खर्च हुने तथा धुँवाले स्वास्थ्यमा असर गर्ने हुनाले ग्याँस चुल्हा वितरण गरिएको समूहले जनाएको छ। दाउरा काट्न रुख विरुवा नष्ट गर्नुपर्ने हुँदा वन विनाश रोक्न ग्याँस वितरणले सहयोग पुग्ने अपेक्षा समूहले गरेको सावउसका अध्यक्ष मेघजित राईले बताए। उनका अनुसार उपभोक्तालाई अँध्यारोमुक्त राक्न सोलार बत्तीले सहयोग पुग्ने अपेक्षा समूहले गरेको छ।  

गाउँमा केही वर्षअघि नै विद्युत विस्तार भईसकेको भए पनि पटक पटक बत्ती जाने गर्दा मारमा परेका उपभोक्तालाई उज्यालो दिन सोलार बत्ती वितरण गरिएको उनले बताए। घरघरमा विद्युत जडान गरिएको भए पनि कतिखेर जानेआउने भन्ने कुनै ठेगान नभएकाले उपभोक्ता अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन्। त्यसैले उपभोक्तालाई सधैं उज्यालोमा राख्न सोलार प्यानल वितरण गरिएको अध्यक्ष राईले बताए।  

अध्यक्ष राईका अनुसार समूहले ग्याँस चुल्हा र सोलार बत्ती वितरण गर्न समूहले वार्षिक कार्ययोजना नै बनाएर पारित गरेको छ। जस अनुसार आर्थिक वर्ष ०७८/७९ को वार्षिक कार्यक्रममा ‘गरिबी निवारण’ शिर्षकमा विनियोजित रकमबाट यो कार्यक्रम गरिएको उनले बताए। यसबाट समूहका ६० घरधुरीमध्ये १० घरपरिवार उपभोक्ता सोलार र ग्याँस चुल्हाबाट लाभान्वित भएका छन्।

सावउसका सचिव रीना राईले समूहमा आबद्ध ६० घरधुरीमध्ये निम्न वर्ग र बिपन्न, जेष्ठ नगारिक, एकल महिला, असक्त, अपाङ्गता भएकाहरुलाई प्राथमिक्ता दिइएको बताइन्। उनका अनुसार १० घरधुरीलाई एक–एक थान ५० वाट क्षमताको सोलार प्यानल, सोलरमा प्रयोग हुने बेट्री र दुईवटा चिम (बत्ती) र सोलार बत्ती जडान गर्दा चाहिने अन्य सामग्री पनि दिइएको छ। त्यस्तै लक्षित वर्गका १८ घरधुरीलाई एक–एक थान ग्याँस सिलिण्डर, चुल्हा र त्यसमा प्रयोग हुने पाईपलगायत अन्य सामग्री दिइएको सचिब राईले बताइन्।

बुधबार समूहकै कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष राई, स्थानीय जनप्रतिनिधि, सविचलगायत अगुवाहरुले उपभोक्तालाई सामग्री वितरण गरे। सामग्री वितरण कार्यक्रमकै अवसरमा समूहभित्रै जेष्ठ नागरिक, अपाङ्गता र अशक्त २२ जना उपभोक्तालाई जनही ५ हजारका दरले आर्थिक सहयोगसमेत वितरण गरिएको छ। समूहले खानेपानी समस्या भोग्दै आएका उपभोक्तालाई सहज बनाउन आवश्यक पाईप पनि वितरण गरेको जनाएको छ। 

विगतदेखि नै उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समूहले कृषिमा आधारित कृषक उपभोक्तालाई बेलाबेला कृषि तालिम तथा स्वरोजगारमुकी कार्यक्रम गर्न सिलाई कर्टाइ र बुनाई तालिमहरु पनि गर्दै आएको अध्यक्ष राईले बताएका छन्।

प्रकाशित: ७ आश्विन २०७८ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App