६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालवाहक रेलमार्फत् पहिलो खेप सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार पनि हटेको छ।

भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार वीरगन्ज सुख्खा बन्दरगाह आइपुगेको हो। सोमबार हल्दिया बन्दरगाहबाट हिँडको रेल बुधबार १० बजे आइपुगेको सुख्खा बन्दरगाह सञ्चालक गर्ने कम्पनी प्रिस्टिीन भ्याली ड्राइपोर्ट प्रालिले जनाएको छ।  

२१ मई २००४ मा नेपाल भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत् हुने ढुवानीसम्बन्धी शर्तहरु र मापदण्ड निर्धारण गरेको हो। जसअनुसार भारतीय कन्टेनर निगम (कोन्कर)लाई रेलमार्फत ढुवानीमा एकाधिकार रहेको थियो। भारतको पश्चिम बंगालस्थित कोलकाता तथा  हल्दिया बन्दरगाह र आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करले गर्दै आएको थियो। गत जुलाई २०२१ मा रेल सेवा पुनरावलोकन सम्झौतामा संशोधन भएपछि निजी रेल कम्पनीको लागि ढुवानीको लागि आधार तय भएको थियो। सम्झौता संसोधन भएपछिको व्यवस्तामा भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेल्वे कम्पनीले पनि नेपालमा रेलमार्फत् ढुवानी गर्न सक्ने भएको छ। सो बमोजिम पहिलो खेप सुक्खा बन्दरगाह आइपुगेको हो।  

कन्कोरलाई एकाधिकार हुँदा रेल भाडामा उक्त कम्पनीको मनोमानी देखिएको आयातकर्ता व्यवसायिहरुको गुनासो रह्दै आएको थियो। उनीहरूले रेल्वे सेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए। अब भारतमा रहेका विभिन्न १५ निजी रेल सेवा प्रदायक कम्पनीहरुमार्पmत् ढुवानी सेवा लिने बाटो खुलेको छ। अहिलेसम्म नेपालतर्फको ढुवानीमा रुचि देखाएका कोन्करबाहेक तीन कम्पनीहरुमध्ये हिन्द टर्मिनलको मालवाहक रेल पहिलोपटक आइपुगेको हो।  

निजी रेल सेवा प्रदायक कम्पनीहरुलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि यसबाट बढ्ने प्रतिस्पर्धाले नेपाललाई लाभ हुने भनी सेवाग्राही व्यवसायिहरुको आँकलन छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठ रेल सेवामा प्रतिस्पर्धाले फाइदा हुनेमा आशावादी रहेको बताउँछन्। ‘बजारमा प्रतिस्पर्धी बढी हुदा उक्त वस्तु वा सेवा स्वभाविकरुपमै सस्तो हुन्छ, यसमा पनि त्यही कुरा लागू हुन्छ,’ लाठले भने, ‘तर यतिले पुग्दैन, समय लागत घटाउन मुख्य चुनौति छ र यसको लागि नेपाल सरकारको चासो हुनुपर्छ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाली आयातकर्तासँग अब सेवाप्रदायक रोज्न पाउने भएको बताउँदै यसलाई सुखद भने। सुख्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिीन भ्याली ड्राइपोर्ट प्रालिका अप्रेसन प्रमुख अतुल कुमार शर्माले अरु रेलसेवा प्रदायक कम्पनी पनि नेपालको लागि सेवा दिन इच्छुक देखिएको बताए। उनले पनि निजी कम्पनीको आगमनले प्रतिस्पर्धात्मक लाभ नेपाली आयातलाई हुने दावी गरे। केही समयभित्र प्रिस्टिीन भ्याली ड्राइपोर्ट प्रालिले आफ्नै रेल पनि संचालनमा ल्याउने उनले जनाए।

प्रकाशित: ३० भाद्र २०७८ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App