३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

अझै खुलेनन् पोखरा क्षेत्रका पर्यटकीय गन्तव्य

पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य शान्ति स्तुप र पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन÷नागरिक

पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको चहलपहल केही देखिएको व्यवसायीले बताएका छन् ।  

पर्यटकीय क्षेत्रमा आन्तरिक पाहुनाको चहलपहल बढेको देखिएपनि उनीहरु गन्तव्यमा घुम्न भने जान पाएका छैनन् । किनकी आसपासका सबै पर्यटकीय गन्तव्यमा लागेको ताला अझै खुलेका छैनन् । महत्वपूर्ण पर्यटकीय गन्तव्य नखुल्दा पर्यटक आउन नसकेको व्यवसायीको गुनासो छ । पोखराका महत्वपूर्ण धार्मिक गन्तव्य विन्ध्वासिनी, तालबाराही लगायतका मठ मन्दिर खुलेका छैनन । त्यस्तै हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पनि खुलेको छैन ।  

पोखरा भित्रैको शान्ति स्तुप पनि खुला नभएको व्यवसायीले बताएका छन । महेन्द्र गुफा भने केहीदिन अघि खुलेको छ । पर्यटकीय गन्तव्य नखुल्दा पाहुना आउन नपाएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)पोखराका उपाध्यक्ष हरिराम अधिकारीले बताए । अधिकारीले भने, ‘अहिले कोरोनको संक्रमण केही घटेको छ । यो बेला मुक्तिनाथ र अरु धार्मिक गन्तव्य खुलाउने हो भने धेरथोर भारतीय पाहुना आउने थिए । तर, गन्तव्य नै खुल्न पाएनन ।’ पशुपति, मनकामना लगायतका चर्चित धार्मिक गन्तव्य खुलिसकेपनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए ।

‘धार्मिक गन्तव्य खुलाउने हो भने पनि केही भारतीय पर्यटक आउने थिए । भारतीय पर्यटक आउने हो भने पर्यटन व्यवसायीलाई थोरै भएपनि राहत मिल्छ,’ उनले भने, ‘अहिले संक्रमण कम भएको मौका पारेर खुलाउने हो भने पर्यटनमा थोरै भएपनि राहत मिल्छ ।’ चाँडबाँड पनि सुरु भएकोले यो बेला आन्तरिक पाहुना घुमघामका लागि निस्कने हुँदा पनि पर्यटकीय क्षेत्र खुलाउन जरुरी रहेको उनले बताए ।  

धार्मिक क्षेत्र खुलाउने बारे पहल भईरहेको धार्मिक गन्तव्यका पदाधिकारी बताउँछन । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ भन्छन्, ‘हामीले विन्ध्यवासिनी मन्दिर खुलाउँछौ भनेर स्थानीय प्रशासनमा अनुरोध गरिरहेका छन । तर, प्रशासनले केहीदिन पर्खिन अनुरोध गरेको छ । तर, अब छिटै खुल्छ । दिन मात्र यकिन नभएको हो ।’ 

स्वास्थ्य मापदण्ड पालनामा कडाई गरेर मन्दिर खुलाउने उनले बताए । पशुपतिनाथको मन्दिर खोल्न दिएपछि विन्ध्यवासिनी खोल्न रोक्न नहुने उनले बताए । ‘४० लाख जनसंख्या भएको ठाउँको धार्मिक गन्तव्य खुल्ने, तर, सानो सहरको महत्वपूर्ण गन्तव्य रोक्ने कुरै हुँदैन,’ श्रेष्ठले भने, ‘एउटा घरभित्रको व्यवसायिक मल खोल्न हुने, तर, धार्मिक क्षेत्र बन्द राखिरहनु राम्रो होइन ।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि कोरोना प्रभावका कारण सुस्त अवस्थामा झरेको पर्यटन क्षेत्रलाई अब चलायमान बनाउनुपर्ने बताए । उनले अब पर्यटन क्षेत्रका सबैखाले गतिविधि सञ्चालन गर्नुपर्ने र पोखरा आसपासका पर्यटकीय गन्तव्य खुला गर्नुपर्ने बताए ।  

उनका अनुसार पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल अहिले खुलिसकेका छन् । ठुला आकारका होटल अघिल्लो महिनादेखि नै संचालनमा आएका थिए । मध्यमस्तरका होटलले पनि सेवा दिन थालेका छन । साना आकारमा अझै केही होटल खुल्न सकेका छैनन । असोजको पहिलो सातादेखि पर्यटन सम्बन्धित सबैखालका गतिविधिहरु पनि सञ्चालन गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई छ । यसका लागि पर्यटनमा आवद्ध सबै व्यवसायीले सहकार्य गर्नुपर्ने उनले बताए ।  

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने उनले बताए । ‘अब कोभिडसँग जुधेरै अघि बढ्नुपर्छ । अब व्यवसाय खोल्नुको विकल्प छैन । व्यवसायी व्यवसाय खोल्न तयार छौ,’ उनले भने, ‘सरकारले त्यही अनुसार सहयोग गर्ने हो भने चाँडबाँडको बेलामा पोखरामा पाहुना आउनेछन । त्यसले व्यवसायलाई थोरै भएपनि राहत दिनेछ ।’ व्यवसायीले आफ्ना समस्यालाई यथावत राखेरै भएपनि व्यवसाय खोल्ने उनले बताए । व्यवसाय मात्र खोलेर नभई गन्तव्य पनि खुलाउनुपर्ने उनले बताए ।

उनका अनुसार व्यवसायी व्यवसाय खोल्न तयार पनि भएका छन । तर, पर्यटकले रुचाएका गन्तव्य खुल्न सकेका छैनन । पोखरा आसपासका धार्मिक र पर्यटकीय गन्तव्य अझै खुलेका छैनन । ‘अब पोखरा खुला छ भन्ने सन्देश दिनुपर्छ । अहिले पोखराको कनेक्टिभिटी केही बढेको बेला पर्यटक आउजाउमा सहयोग हुने हो भने पर्यटनले राहतको महसुस गर्नेछ,’उनले भने । उनका अनुसार व्यवसायीले अब आन्तरिक पर्यटकका लागि साझा प्याकेज बनाउने तयारी पनि भएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब केही सुधार हुनेमा आशावादी रहेको बताए । ‘कोरोना संक्रमण केही कम भएकोले पनि अब पाहुना आउनेमा आशावादी हुन सकिन्छ । अहिले आउने भनेका आन्तरिक पाहुना नै हुन,’ उनले भने, ‘विदेशीको अपेक्षा अहिले गर्नुपर्ने छैन । तर, आन्तरिकबाट पर्यटन क्षेत्रले लाभ पाउन सक्ने अवस्था छ ।’  

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम पनि असोज १ देखि पर्यटकीय गन्तव्य खुल्न सक्ने सम्भावना रहेको बताउँछन । उनका अनुसार स्थानीय प्रशासनले यसअघि जारी गरेको आदेश भदौ ३१ गतेसम्म रहेकोले त्यसपछि मात्र गन्तव्य खुल्न सक्ने उनले बताए । ‘अहिले नै कुन दिनबाट खुल्छन भनेर त भन्न सकिन्न । तर अब सबैतिरका गन्तव्य खुलेकोले पोखरा आसपासका पनि छिटै खुल्नेछन,’ उनले भने ।  

प्रकाशित: २७ भाद्र २०७८ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App