२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरेली पर्यटन व्यवसायी भन्छन्ः अब व्यवसाय खोलौं

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) को शुक्रबार पोखरामा भएको साधारणसभा । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको शुक्रबार २७ औं वार्षिक साधारणसभामा बोल्दै पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘कोरोना प्रभावका कारण सुस्त अवस्थामा झरेको पर्यटन क्षेत्रलाई अब चलायमान बनाउनुपर्छ । अब पर्यटन क्षेत्रका सबैखाले गतिविधि सञ्चालन गर्नुपर्छ । पोखरा आसपासका पर्यटकीय गन्तव्य पनि खुला हुनुपर्छ ।’ 

पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटल अहिले खुलिसकेका छन् । ठुला आकारका होटल अघिल्लो महिनादेखि नै संचालनमा आएका थिए । मध्यमस्तरका होटलले पनि सेवा दिन थालेका छन । साना आकारमा अझै केही होटल खुल्न सकेका छैनन । असोजको पहिलो सातादेखि पर्यटन सम्बन्धित सबैखालका गतिविधिहरु पनि सञ्चालन गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाई छ । यसका लागि पर्यटनमा आवद्ध सबै व्यवसायीले सहकार्य गर्नुपर्ने उनले बताए ।  

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने उनले बताए । ‘अब कोभिडसँग जुधेरै अघि बढ्नुपर्छ । अब व्यवसाय खोल्नुको विकल्प छैन । व्यवसायी व्यवसाय खोल्न तयार छौ,’ उनले भने, ‘सरकारले त्यही अनुसार सहयोग गर्ने हो भने चाँडबाँडको बेलामा पोखरामा पाहुना आउनेछन । त्यसले व्यवसायलाई थोरै भएपनि राहत दिनेछ ।’ व्यवसायीले आफ्ना समस्यालाई यथावत राखेरै भएपनि व्यवसाय खोल्ने उनले बताए ।  

उनका अनुसार व्यवसायी व्यवसाय खोल्न तयार पनि भएका छन । तर, पर्यटकले रुचाएका गन्तव्य खुल्न नसक्दा पाहुना आएपनि बसाई अवधि बढाउन सकिएको छैन । पोखरा आसपासका धार्मिक र पर्यटकीय गन्तव्य अझै खुलेका छैनन । मुस्ताङको मुक्तिनाथ सहित पोखराकै विन्ध्यवासिनी, तालबाराही मन्दिर, शान्तिस्तुप लगायतका गन्तव्य खुलेका छैनन । ‘अब पोखरा खुला छ भन्ने सन्देश दिनुपर्छ । अहिले पोखराको कनेक्टिभिटी केही बढेको बेला पर्यटक आउजाउमा सहयोग हुने हो भने पर्यटनले राहतको महसुस गर्नेछ,’उनले भने । उनका अनुसार व्यवसायीले अब आन्तरिक पर्यटकका लागि साझा प्याकेज बनाउने तयारी पनि भएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय सिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब केही सुधार हुनेमा आशावादी रहेको बताए । ‘कोरोना संक्रमण केही कम भएकोले पनि अब पाहुना आउनेमा आशावादी हुन सकिन्छ । अहिले आउने भनेका आन्तरिक पाहुना नै हुन,’ उनले भने, ‘विदेशीको अपेक्षा अहिले गर्नुपर्ने छैन । तर, आन्तरिकबाट पर्यटन क्षेत्रले लाभ पाउन सक्ने अवस्था छ ।’  

रेवानका महासचिव विकास भट्टराईले रेवान पोखराले २२ औं पोखरा सडक महोत्सव, कर शिक्षा कार्यक्रम, कोभिड–१९ को असरमा परेकाहरुलाई गरिएको राहत वितरण, खोप कार्यक्रम लगायतका काम गरेको जानकारी दिएका थिए ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पनि पर्यटन क्षेत्रलाई केही सहज बनाउने बेला भएको बताए । चाँडबाँडको बेला पारेर केही आन्तरिक पाहुना यो बेला आउने बेला भएकोले र कोरोना संक्रमण पनि घटेकोले अब पाहुनाका लागि माहोल बनाउनुपर्ने बताए । ‘हामी सेवा दिन तयार छौ । तर, सरकारले पनि त्यही अनुसार पर्यटनमैत्री वातावरण बनाइदिनुपर्छ,’ उनले भने ।  

प्रकाशित: २५ भाद्र २०७८ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App