२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाढी र डुवानले रुपन्देहीका उद्योगमा करोडौंको क्षति

रुपन्देहीमा लगातारको झरीले उद्योगहरु डुवानमा पर्दा करोडौंको क्षति भएको छ। डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।  

बुटवल–भैरहवा, भैरहवा–परासी र भैरहवा–लुम्बिनी करिडोरका अधिकांश उद्योग डुवानमा परेका हुन्। यी करिडोरका करिब दुई दर्जन उद्योगमा बाढी पसेको छ। उद्योगका भुइँतला हिले लेदोले भरिएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको लगातारको झरीले उद्योगहरु डुवानमा परेका हुन्।

प्लाष्टिक, खाद्यान्न, आइरन, स्टिल लगायतका उद्योगमा बढी क्षति भएको छ। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले डुवानबाट तीन वटै औधोगिक करिडोरका उद्योगमा करोडौंको क्षति भएको बताए। उद्योगहरु डुवानमा पर्दा मेसीनरी सामान बिग्रनुका साथै, कच्चा पदार्थसमेत नष्ट भएकाले तत्कालै उद्योगहरु संचालन हुने अवस्था नरहेको न्यौपानेले बताए।

बाढीले बुटवल–भैरहवा करिडोरमा रहेको पञ्चकन्या समूहका उद्योगहरुमा मात्रै करिब १२ करोड बढीको क्षति भएको पञ्चकन्या समूहका उपमहाप्रवन्धक देवेन्द्र साहुले बताए। पञ्चकन्याको उद्योग परिसरमा रहेका कच्चापदार्थ र तयारी सामानहरु हिले पानीमा डुबेर कामै नलाग्ने भएका छन्। करोडौं मूल्यका मेसीनरी सामान र विद्युतीय उपकरणमा पानी पस्दा बिग्रिएका छन्। प्लाष्टिक उद्योगको कच्चापदार्थ बाढीले बगाइदिएको छ।  

बुटवल–भैरहवा करिडोरकै आवास ग्रुपका ६  वटा उद्योगमा पनि बाढी पसेको छ। आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले विद्युतीय र मेसीनरी सामान पानीमा डुब्नुका साथै करोडौंको कच्चापदार्थ कामै नलाग्ने भएको बताए। प्रवन्ध निर्देशक थैवले पाँच करोड बढीको क्षति भएको दावी गरे। करिडोरको अर्को उद्योग एभरेष्ट रोलिङ इण्डष्ट्रिजमा प्लान्ट, मेसीनरी सामान र तयारी सामान गरी डेढ करोड बढीको क्षति भएको उद्योगका संचालक अरुण गोयन्काले बताए।  

भैरहवा–परासी करिडोरमा रहेको सिद्धी बिनायक एग्रो इण्डष्ट्रिजका सञ्चालक राम थापाले बाढीले तयारी अवस्थाको चामल र कच्चा पदार्थको रुपमा राखीएको ठूलो परिमाणको धान नोक्सान भएको बताए। बाढीले मेसीनरी सामानमा क्षति पुग्नुका साथै उद्योगको पर्खाल भत्किएका बताए। भैरहवा–परासी खण्डका करिब आधा दर्जन उद्योगहरु डुवानमा परेका छन्।

बाढी र डुवानले रुपन्देहीमा थुप्रै उद्योग, व्यवसायमा क्षति पुर्याएको र संघले क्षतिको विवरण संकलन गरीरहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघले पनि संघ अन्तर्गतका उद्योगहरुको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ। क्षतिको अवस्था हेरेर सानालाई राहत र ठूला उद्योगको हकमा बिमा रकमका लागि समन्वय गरिने संघका अध्यक्ष न्यौपानेले बताए।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य महेन्द्र श्रेष्ठले बाढी र डुवानका कारण औधोगिक र व्यवसायिक क्षेत्रले ठुलो नोक्सानी व्यहोर्नु परेको भन्दै सरकारले उचित राहतको प्याकेज ल्याउनु पर्ने बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरुण गोयन्काले बुटवल भैरहवा ६ लेन सडक निर्माणमा भएको त्रुटीले बुटवल–भैरहवा करिडोर बाढी र डुवानको चपेटामा परेको बताए।

प्रकाशित: १६ भाद्र २०७८ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App