२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

मुस्ताङी स्याउको स्वाद हरायो

मुस्ताङको स्याउ देशभर प्रख्यात छ। चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो। तर पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आउन थालेको छ।  

बेला नहुँदै टिप्दा स्वाद नहुने भएकोले असोज पहिलो साताअघि स्याउ नटिप्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन)ले किसानलाई अनुरोध गरेको छ। एकाइका प्रमुख सुधिर थापाका अनुसार असोज पहिलो साताअघि टिपेको दानामा स्वाद नहुने भएकोले हतारमा नटिप्न किसानलाई अनुरोध गरिएको छ।  

‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर बजारमा पठाउँदा स्याउमा वास्तविक स्वाद नपाइने गरेको उनले बताए। ‘मुस्ताङी स्याउको स्वाद हरायो भन्ने गुनासो छ। बेलै नभई टिपेर यसो भएको हो। पूर्ण रूपमा रस नपसी टिप्दा स्वाद हुँदैन,’ उनले भने, ‘मुस्ताङी स्याउको वास्तविक स्वाद हरायो भन्ने गुनासो आउन नदिन यो पहल गरेका हौं।’ स्याउको स्वाद हराएको उपभोक्ताको गुनासो आएपछि बेला नभई नटिप्न अनुरोध गरेको उनले बताए।  

मुस्ताङका सबै स्थानीय तहमार्फत किसानलाई जानकारी दिँदै असोज पहिलो सातापछि मात्र स्याउ टिप्न अनुरोध गरिएको उनले बताए। ‘भदौ आधादेखि नै स्याउ टिप्न थालिन्छ। ठेकेदारले छिटो गरी बजारमा पुर्‍याउन बेला नहुँदै टिप्ने गरेका छन्। यसले मुस्ताङी स्याउको पहिचान नै गुमेको छ,’ उनले भने। परियोजनाले पोहोर पनि किसानलाई बेला नभई स्याउ नटिप्न भनेको थियो। तर किसानले मानेनन्। तिजको बेला बढी बिक्री हुने भन्दै ठेकेदारले नपाक्दै स्याउ टिप्दा समस्या भएको उनले बताए।  उनका अनुसार स्याउको दानामा स्वाद पस्न घाम लाग्नुपर्छ भने चिसो पनि हुनुपर्छ। 

तर पछिल्लो समय बढी मात्रामा पानी पर्न थालेकोले दानामा पहिलेको जस्तो स्वाद पाउन छाडिएको छ। राम्रोसँग रस नपस्दै टिपेर बजारमा पुर्‍याउँदा स्वाद कम हुने गरेको उनले बताए। उनका अनुसार जलवायु परिवर्तनको असरले पनि मुस्ताङी स्याउको स्वाद हराउँदै गएको अनुभूति भएको छ। परियोजना कार्यान्वयन एकाइका सञ्चालक समिति सचिव विष्णु थकालीका अनुसार बगैंचा नै ठेक्का लिएका ठेकेदारले तिजको बेला बजारमा पुर्‍याउने गरी नपाकेको स्याउ टिप्ने गरेका छन्। त्यसले गर्दा स्याउमा स्वाद हुँदैन। तिजताका स्वाद नपस्ने र दसैं–तिहारसम्म ढिला भइसक्ने भएकोले पनि हतारमा टिप्ने गरिएको थकालीले बताए।

‘यो पटक हामीले भदौ अन्तिमभन्दा अगाडि स्याउ नटिप्नू भनेका छौं,’ थकालीले भने, ‘व्यापारीले बेलैमा बेच्न पाइँदैन र नोक्सान हुने डरले हतारमै टिप्ने गरेका छन्। ठेकेदारलाई पनि असोज नलागी नटिप्नू भनेका छौं।’ उनले भारत र चीनबाट यो बेला स्याउ नल्याए मुस्ताङी स्याउले बजार पाउने भए पनि त्यसतर्फ ध्यान नदिइएको बताए। भारतीय र चिनियाँ स्याउ नल्याउने हो भने मुस्ताङी स्याउले बजार पाउनेमा सरकारी उच्च अधिकारीलाई पनि सचेत गराएको उनले बताए। 

परियोजनाका अनुसार मुस्ताङमा १४ सय हेक्टरमा स्याउ खेती गरिएको छ। त्योमध्ये ५५० हेक्टरमा स्याउ फल्छ। प्रतिहेक्टर झन्डै साढे १४ मेट्रिक टन स्याउ फल्ने गरेको एकाइ प्रमुख थापाको भनाइ छ। अघिल्लो वर्ष मुस्ताङका ७ हजार १५० मेट्रिक टन स्याउ फलेको थियो। थापाका अनुभवमा मुस्ताङमा स्याउ फल्ने क्रम फरक हुन्छ। एक वर्ष अधिक फल्ने र अर्काे वर्ष कम फल्ने गरेको उनको अनुभव छ। यसपटक कम फल्ने पालो भएकोले मुस्ताङमा ६५ सय मेट्रिक टन फल्ने अनुमान छ।  मुस्ताङले पोहोर स्याउबाट मात्र १४ करोड रूपैयाँ कमाइ गरेको थियो। किसानले प्रतिकिलो ८० रूपैयाँका दरले स्याउको आम्दानी लिँदा पोहोर १४ करोड रूपैयाँ कमाइ भएको थियो। 

प्रकाशित: १३ भाद्र २०७८ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App