५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

रातभरीको झरिले भिजेर ६ सय बढी कालिज मरे

निरन्तरको झरिले यहाँको एक कालिज फार्मका ६ सय बढी कालिज मरेका छन् । आईतबार साँझदेखि परेको निरन्तरको वर्षाले भिजेर पोखरा महानगरपालिका–११ मा सुवास गुरुङले सञ्चालन गरेको सासु कालिज फार्मका ६ सय ११ वटा कालिज मरेका हुन् । बेलुका सग्लै रहेका कालिज विहान हेर्दा मरेको अवस्थामा भेटिएको फार्म सञ्चालक सुवास गुरुङले बताए । कालिज मर्दा करिब १७ लाख रुपैयाँको क्षति पुगेको उनको भनाई छ ।

६ महिना अघि मात्र सञ्चालनमा ल्याएको फार्ममा हाल ९३० वटा कालिज थिए । त्यसमध्ये ६ सय ११ वटा कालिज मरेको अवस्थामा भेटिएको गुरुङले जानकारी दिए । उनका अनुसार करिब ३ सय वटा जिउँदै भेटिएका छन् । बाँकी १९ वटापनि मरेको आशंका गरिएको छ तर नभेटिएको उनले बताए । ‘झाडी भएकाले ती लुकेकै अवस्थामा मरेका हुनसक्छन्, हामी खोज्दैछौं,’ उनले भने ।

मरेका कालिज करिब चारमहिनाका थिए । ‘तौलिएका थिएनौं तर ९७ दिनको कालिज भएकाले तौल राम्रै थियो भन्ने लाग्छ, तर यति नै थियो भनेर भन्न सक्दिन,’ उनले भने । करिब ७ महिनामा खानलायक कालिज हुने उनको भनाई छ ।

 कालिजलाई सानो हुँदा तापक्रम सन्तुलनमा राख्नुपर्छ । लगभग ३० देखि ३३ डिग्रीको बीचमा तापक्रम राखिने उनले बताए । तर २६ डिग्री भन्दा कम तापक्रम भयो भने कालिज मर्ने सम्भावना रहन्छ । तर ३ महिना कटेपछि कालिजलाई सामान्य अवस्थामा छाडिन्छ । सोहि अनुसार गुरुङले कालिजलाई छाडा छाडेका थिए । साँझ पानी पर्न थालेपछि सुवासले कालिजलाई पानीबाट ओताउने बारे नसोंचेका भने होइनन् । तर समय अनुसार अनुकुलन भएर बाँच्न सिक्नुपर्छ भन्ने लागेर उनले कालिजलाई ओताएनन् । जसको परिणाम रातभरी परेको पानीमा रुझेका कालिज विहान मृत भेटिए ।  

‘जस्तोसुकै तापक्रममा पनि आफूलाई मेन्टेन गर्न सिकसा भनेर मैले कालिजलाई नओताई त्यत्तिकै छाडिदिएँ, मैले सोंचेको थिएँ पानीले भिज्दैमा कालिज मर्दैन, तर नसोंचेको भयो,’ उनले भने । उनले तापक्रम मेन्टेन गर्नुपर्छ भन्ने थाहा पाएरपनि अरु भन्दा फरक हुन खोज्दा क्षति पुगेको बताए । ‘म कालिज पाल्न आवश्यक प्राविधिक ज्ञान भएकै व्यक्ति हो, तर पानीमा भिजेर पनि बाँच्न सक्छ कि सक्दैन भनेर थाहा थिएन,’ उनले भने ।

सञ्चालक गुरुङले कालिज पानीले भिजेर मरेपनि रोग लागेर मरेको भनेर गलत बुझाई हुन्छ कि भन्ने आशंकाले पिरोलेको बताए । ‘मेरो कमजोरीले पानीमा भिजेर कालिज मरे, तर आम मान्छेको बुझाई रोगले मरेको हो कि भन्ने हुनसक्छ, त्यस्तो नहोस्, कालिज रोग लागेर मरेको होईन्,’ उनले भने ।  

कालिज मर्दा करिब १६ लाख रुपैयाँ घाटा लागेको उनले बताए । अहिले बेच्दा पनि प्रतिगोटा २५ सय पथ्र्यो, अहिलेसम्मको दाना, पानी, वत्ती, मेहनत र लगानी जोड्दा पनि त्यत्ति खर्च भेट्ने उनले बताए । सञ्चालक गुरुङले क्षति भएपनि कालिज पाल्न भने नछाड्ने बताए । ‘बचेका कालिज हुर्काउँछु, बाँकी थप्दै जान्छु,’ उनले भने ।

प्रकाशित: ७ भाद्र २०७८ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App