coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ६ वटै युनिटबाट उत्पादित ४५६ मेगावाट बिजुली भदौ १ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ। अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए। ‘६ मध्ये अहिलेसम्म चारवटा युनिटबाट व्यापारिक उत्पादन भइसकेको छ,’ उनले भने, ‘बाँकी दुई युनिटबाट आगामी १५ दिनभित्रै व्यापारिक उत्पादन हुनेछ।’ 

कम्पनीका अनुसार अहिलेसम्म चार युनिटबाट ३०४ मेगावाट बिजुली व्यापारिक उत्पादन भइरहेको छ। बुधबारबाट चौथो युनिटबाट व्यापारिक उत्पादन भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते बालुवाटारबाटै यो आयोजनाको पहिलो युनिटको बिजुली राष्ट्रिय प्रसारणमा जोडेर उद्घाटन गरेका थिए। प्रधानमन्त्री ओलीले बाँकी पाँच युनिटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदै उद्घाटन गरेका थिए।

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण क्षमतामा परीक्षण प्रसारण भइरहेको बताए। ‘लामो मेहनतसँगै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सफल भयौं,’ उनले भने, ‘यस कम्पनीबाट २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्न पूर्वयोग्यता छनोट सम्पन्न भई छनोट भएका बोलपत्रदाताबाट प्रस्ताव आह्वान गर्ने कार्य अगाडि बढाइएको छ।’ यो आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत, सर्वसाधारण १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत, कर्मचारी सञ्चयकोष, प्राधिकरण कर्मचारी लगायतको २४ प्रतिशत सेयर संरचना रहेको छ।

लागत दोब्बरभन्दा धेरै बढ्यो

यो आयोजनाको सुरुआती अनुमानित लागत ब्याजबाहेक ३५ अर्ब २९ करोड रूपैयाँ रहेको थियो। तर आयोजनाको निर्धारित समयभित्रै निर्माण नहुँदा लागत मात्रै ५२ अर्ब रूपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो। सुरुआती चरणमा आयोजनाको निर्माण अवधिको ब्याजमात्रै १४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। तोकिएको समयमा निर्माण नहुँदा ब्याज मात्रै१८ अर्ब थपिएर ३२ अर्ब रूपैयाँ पुगेको छ। आयोजनाको कुल ब्याजसहित लागत ८४ अर्ब रूपैयाँ पुग्ने भएको छ।

यो आयोजना २०६७ सालमा निर्माण सुरु गरिएको थियो। प्रारम्भिक चरणमा यो आयोजनाको निर्माण ६ वर्षभित्रै सक्ने लक्ष्य राखिएको थियो। २०७२ सालको भूकम्प, भारतीय नाकाबन्दीको कारण आयोजनाको काम २० महिना रोकियो। २०७२ सालको भूकम्प र नाकाबन्दीले आयोजनाको भूमिगत मुख्य सुरुङको डिजाइन परिर्वतन गर्नुपर्दा पनि निर्माणको काम तोकिएको समयमा पूरा हुन सकेन। 

प्रकाशित: ४ भाद्र २०७८ ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App