७ वैशाख २०८१ शुक्रबार
अर्थ

अनियमितता र भ्रष्टाचार नगर्न मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन्।  

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएकी हुन्। 

कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ। मन्त्री भुसालले भनिन्, ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता र चेन अफ कमाण्डलाई मैले सधैँ प्राथमिकतामा राख्ने गरेको छु। अनियमितता, भ्रष्टाचार कहिँ कसैले पनि नगर्न म निर्देशन गर्दछु। यदी कोही यस्तो गतिविधिमा संलग्न भएको भेटिएमा कठोर कदम चालिनेछ।’

मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन्। उनले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिईन्। 

उनले भनिन्, ‘आगामी दिनमा वर्षायामको विद्युत खेर जानसक्ने अवस्थालाई मध्येनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्दछ। यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खायामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय सञ्चालक समितिले गरिसकेको छ।’

उनले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताईन्।

प्रकाशित: १ भाद्र २०७८ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App