७ वैशाख २०८१ शुक्रबार
अर्थ

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकिङ प्रणाली झन्झटिलो

कोभिड–१९ को महामारीमा सामाजिक सुरक्षा भत्ता लिनका लागि दिक्तेलमा सालपा विकास बैंक र सेञ्चुरी कमर्सियल बैंक अगाडि भेला भएका ज्येष्ठ नागरिक। तस्बिर: दमन राई/नागरिक

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २०७७ असोज २१ गते एकैसाथ तीन वटा बैंकसँग सम्झौता गर्दा लाभग्राही उत्साहित बनेका थिए।  

नगरका ११ वटै वडाका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांग र दलित बालबालिकालाई सचिवमार्फत वितरण हुँदैआएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बाँडिने खबर सञ्चार गरिए/गराइए। तर, सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।  

सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानअघि वडा सचिवले घर–घरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए। तर, सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको बैंकले हाल टोल–टोलमा पुगेर भत्ता वितरणको व्यवस्थापन गर्न नसकेको लाभग्राहीको गुनासो छ। सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी वडाको केही टोलमा पुग्छन् तर कतिपय ज्येष्ठ नागरिक र अपांग भत्ता वितरणस्थलसम्म पुग्न सक्दैनन्।  भत्ता थाप्न नपुग्ने लाभग्राही भुक्तानीबाट छुट्ने गरेका छन्। 

बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि पारदर्शीता कायम गर्न सहयोग पुगे पनि हिँडडुल गर्न नसक्ने अशक्तको सवालमा समस्या निम्तिएपछि जनप्रतिनिधि समेत आजित देखिएका छन्। हिँडडुल गर्न सक्ने कतिपय लाभग्राही सिधै हलेसीस्थित बैंकको शाखा कार्यालयमा पुगेर भत्ता बुझ्ने गरेको भए पनि अशक्त बृद्धबृद्धा र पूर्ण अपांगले भने सामाजिक सुरक्षा भत्ता नियमित पाउन नसकेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। 

‘७० वर्षमाथिका बुढाबुढी हिँड्न सक्दैनन। उहाँहरुलाई आँगन नै परदेस जस्तो छ। अशक्त सेवाग्राही बैंकको पहुँचमा पुग्ने अवस्था छैन। त्यस्ता समुहलाई समस्या भएको छ,’ वडाध्यक्ष राईले भने, ‘पहिला सचिवले घर–घरमा भत्ता पुर्‍याइदिन्थे। अहिले बैंकको ढिलासुस्तीले सामाजिक सुरक्षा होईन, असुरक्षा भो। दुःख दिने बाहेक केही गरेनौं भनिरहेका छन्।’ विभिन्न स्थानीय तहमा ‘फेक डकुमेन्ट’ खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा नगरपालिकाले बैंकमार्फत पारदर्शी रुपमा भत्ता वितरणका लागि सम्झौता गरेको थियो। 

केही समयअघि माछापुच्छ्रे बैंकले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको छोङपाङ, दाम्ली र बाइटारमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्‍यो तर सो स्थानसम्म आउन नसक्ने लाभग्राहीले हालसम्म सो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन नसकेको डिकुवाका वडासदस्य घनश्याम राईले बताए। बैंकका कर्मचारी पुगेको वितरण स्थलसम्म पुग्न नसक्ने अशक्त लाभग्राही हालसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट छुटिरहेका छन्। यस विषयमा बैंकका मेनेजरसँग पटक–पटक फोनमा बाझाबाझ चलेको वडा सदस्य राईले बताए।  

बैंकिङ प्रणालीबाट हुने सामाजिक सुरक्षा भत्ताको भुक्तानी झन्झटिलो देखिएको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । ‘पारदर्शीताको विषयमा प्रश्न उठाउने ठाउँ छैन। तर, समयमा भुक्तानी नपाउने समस्या छ। झन्झटिलो भइरहेको छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘पहिला घर घरमै भत्ता पुग्थ्यो । आफन्त पठाए पनि लिनसक्थे। अहिले त्यो अवस्था रहेन। देखिएका इररहरु क्रमशः सच्याएर बैंकिङ प्रणालीलाई सरल र सहज बनाउनु पर्ने जरुरी देखिएको छ।’ पारदर्शीताका हिसावले सामाजिक सुरक्षा भत्ताका लागि बैंकसम्म पुग्नुपर्ने व्यवस्थालाई सहज रुपमा लिनुपर्ने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईको धारणा छ।  

सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त तरिकाले वितरणका लागि ताकेता गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए।‘सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा बैंकलाई दिइएको छ। बैंकले सबै ठाउँमा पुर्‍याउन सकेको छैन,’ नगर प्रमुख राईले भने, ‘वडा र नगरपालिकालाई बाँड्ने अधिकार छैन। सामाजिक सुरक्षा भत्ता बैंकमा जम्मा गरिएन र आफै बाड्न थाले नगरपालिकाको निकासै रोक्का हुन्छ। बैंकलाई ताकेता गरिरहेका छौँ।’  

माछापुच्छ्रे बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ । यस्तै, सालपा बिकास बैंकबाट हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता छ। सेञ्चुरी बैंकबाट भने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ।

प्रकाशित: २५ श्रावण २०७८ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App