६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालगन्ज–पोखरा सिधा उडानले पर्यटन क्षेत्रमा उत्साह

नेपालगन्जका चेतनारायण आचार्यले पोखराबाट नेपालगन्ज सिधा हवाई यात्रा गर्न पाइएला भनेर कल्पना नै गरेका थिएनन्। तर, उनलाई आइतबार पोखराबाट नेपालगन्जसम्म पहिलो पटक हवाई यात्रा गर्ने अवसर जुर्यो। केही दिनअघि स्थलमार्ग हँुदै भैरहवाबाट पोखरा पुगेका उनी घर फर्किँदा जहाज चढ्न पाउँदा उत्साहित भए। नेपालगन्ज–पोखरा सिधा हवाई उडानले यात्रा गर्न धेरै सहज भएको र यसलाई अब नियमित गराउनुपर्ने उनको आग्रह छ।  

लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रुपमा छलफल, बहस हुदै आएपनि यसअघि कुनैपनि हवाई कम्पनीले आफ्नो व्यावसायिक उडान थालेका थिएनन्। उक्त मुद्दालाई अगाडी सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो।  

सिता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर गर्याे र बीचमै बन्द भयो। दुई वर्षअघि पनि बुद्ध र यति एअरले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए। पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एअरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको हो।

कम्पनीको १८ सिटे जहाजबाट तत्कालका लागि साताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिएको बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाह बताउँछन्। नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ।तत्कालका लागि सातामा ३ वटा उडान गरेपनि कोरोना महामारी कम हुदै गएपछि उडान र ठुलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए।  

यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन्। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै हुने विश्वास गर्छन्। उक्त रुटमा यसअघि निजी स्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफुहरुले थालेको अभियानलाई साथ दिदै बुद्ध एअरले व्यावसायिक उडान सुरु गरेको बताए।  

रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्ज लगायत पश्चिम क्षेत्रका पर्यटकीय स्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन्। नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधै नेपालगन्ज आउन चाहन्थे, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन। सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधी, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी लगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो।  

सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक मार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीय स्थलको प्रर्वद्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन्।  

मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एअरले पहिलो पटक व्यवसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल ब्यवसायी, पर्यटन व्यवसायी लगायत हर्षित भएका छन्। विभिन्न सरोकारवाला निकायले आइतबार पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगन्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले बिदाई गरे।  

पोखराबाट ४६१ को उडानमा ९ जना पुरुष, ८ महिला, २ जना बालक र नाबालक आएका थिए, भने नेपालगन्जबाट ४६२ को उडानमा ६ जना पुरुष, ९ महिला र २ जना बालक सवार थिए। चालक दलका सदस्य पाईलट मनिस पुन र को–पाईलट विजय मर्हजन तथा परिचारिका आर. पजियारले ३४ मिनेटमै नेपालगन्जमा सफल अवतरण गराएका थिए। पहिलो पटक पोखरा–नेपालगन्ज रुटको यात्रा आरामदायी रहेको र सहज रुपमा गन्तव्यमा पुग्न सफल भएको पाईलट पुनले सुनाए।

उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पानीले जनाएको छ। नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा ४ हजार ९ सय ९५, पाँच हजार ५ सय ६५ र ७ हजार ६ सय ६५ तोकिएको छ। यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउने–जाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको व्यवस्थासहित ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित १३ हजार ९ सय प्याकेज ल्याइएको कम्पनीले जनाएको छ। 

प्रकाशित: १७ श्रावण २०७८ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App