५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौं सुक्खा बन्दरगाह तयार

चोभारमा निर्माणाधीन काठमाडौं सुक्खा बन्दरगाह तोकिएको समयभन्दा १४ महिनापछि तयार भएको छ। यो सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु गरिएको थियो। सुरुआती ठेक्का सम्झौता अनुसार यो आयोजना २०७७ वैशाखभित्रै निर्माण सम्पन्न हुुनुपर्ने थियो। तर स्थानीयको अवरोध र कोभिड–१९ ले आयोजनाको काम १४ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो।  

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले काठमाडौं सुक्खा बन्दरगाह एक अर्ब ८० करोड लागतमा तयार भएको बताए। ‘ठेकेदार कम्पनीले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरेर बुधबार समितिलाई हस्तान्तरण गरेका छन्,’ उनले भने, ‘ठेकेदार कम्पनीले एक वर्षसम्म परियोजनाको मर्मतसम्भार गर्ने जिम्मेवारी रहन्छ।’ समितिले बन्दरगाहको पूर्वाधार तयार भएसँगै एक महिनाभित्रै उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ।

कार्यकारी निर्देशक गजुरेलले तीन महिनाभित्र सुक्खा बन्दरगाह सञ्चालनको मोडालिटी तयार गरेर चलाउने योजना रहेको बताए। ‘आवश्यक मोडालिटी तयार गरेर तीन महिनाभित्रै सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यो परियोजना सञ्चालनको लागि ३४ जना कर्मचारी आवश्यक पर्नेछन्।’ समितिका अनुसार सातौं तहको कर्मचारीको नेतृत्वमा बन्दरगाह सञ्चालनमा ल्याइनेछ। त्यसमा अधिकृत दुईजना, पाँचौं तहका १५ जना, चौथो तहका १२ जना, हलुका सवारीचालक एकजना र कार्यालय सहयोगी तीनजना कर्मचारी हुनेछन्।

समितिले सुक्खा बन्दरगाह निर्माणको लागि एक अर्ब ४४ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। समितिका कार्यकारी निर्देशक गजुरेलले परियोजनाको निर्माणमा भेरिएसन भएकाले लागत तोकिएको भन्दा १२ प्रतिशत वृद्धि भएको बताए। ‘आयोजनामा पूर्वाधार पनि थपिएकाले लागत केही बढेको हो,’ उनले भने, ‘पूर्वाधार निर्माणमा एक अर्ब ६० करोड र अन्यमा २० करोड रूपैयाँ खर्च भएको छ।’ समितिका अनुसार गोदाम र चेकजाँच भवन ३–३ वटा, एउटा भन्सार कार्यालयको भवन, एउटा क्वारेटिन भवन र एउटा प्रशासनिक कार्यालय भवन छ। त्यसैगरी, तीनवटा गेट र तीनवटा धर्मकाँटा, ५–५ सय ट्रक र कन्टेनरको लागि पार्किङ लगायत पूर्वाधार छन्। चोभारको सुक्खा बन्दरगाह दुई सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ।  

सुक्खा बन्दरगाहमा सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै आन्तरिक र बाह्य टर्मिनल छन्। आन्तरिक टर्मिनलमा देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसमान लोड–अनलोड र भण्डारण गर्ने व्यवस्था हुनेछ। बाह्य टर्मिनलमा भारत तथा तेस्रो मुलुकबाट भैरहवा, वीरगन्ज र रसुवागढी नाकाबाट भित्रेको सामान ल्याइनेछ। ‘चीन तथा भारतबाट आउने सामान नाकामा लकिङ गरेपछि काठमाडौंको सुक्खा बन्दरगाहमा आएर भन्सारको सबै काम यहाँबाटै गर्न सकिन्छ,’ उनले भने, ‘चोभार बन्दरगाह सञ्चालनमा आएसँगै नाकामा लोड–अनलोड गर्ने समस्या अन्त्य हुनेछ।’  

यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा घट्ने समितिले जनाएको छ। यो सुक्खा बन्दरगाहमा कोलकाता, विशाखापट्टनम र चीनको केरुङ तथा सिगात्सेबाट आयात हुने सामान सोझै ल्याएर भण्डारण गर्न सकिनेछ। सुक्खा बन्दरगाहमा फास्ट ट्र्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ। समितिका अनुसार बन्दरगाहको मुख्य पूर्वाधार तयार भए पनि बन्दरगाह क्षेत्रमा पर्ने ५० मिटर सडक ढलान, पर्खाल लगाउने लगायत केही सामान्य काम बाँकी छ। 

प्रकाशित: १७ श्रावण २०७८ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App