६ चैत्र २०८० मंगलबार
अर्थ

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ। यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु।’  

उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो। उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो। कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन्।

अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले अझै (शुक्रबारसम्म) कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’  

झापाका अर्जुन गिरीको अवस्था त्यस्तै छ। रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्था पुगिसकेको बताए। जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अहिले सेना र प्रहरीको अस्पतालमा वैदेशिक रोजगारीमा जानेलाई खोप दिने भन्ने हल्ला सुनेको छु। आइतबार ती अस्पताल जानु पर्ला।’

कोरोना महामारीपछि होस् वा अघि, जसरी वैदेशिक रोजगारीमा जानेलाई राज्यको तर्फबाट बेवास्ता भइरहेको छ, त्यही क्रम कोरोनाविरुद्धको खोप लगाउने बेलामा पनि भइरहेको छ। उनीहरूलाई खोप केन्द्रमा बस्ने स्वास्थ्यकर्मीले ‘चाहे खोप दिने नचाहे नदिने’ व्यवहार भइरहेको छ। वैदेशिक रोजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोपको उपलब्धता गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो। सो आग्रहपछि स्वास्थ्यका अधिकारीले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए।  

सो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए। तर यतिखेर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमै समस्या पर्ने व्यवसायीको चिन्ता छ। रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतले कोरोनाविरुद्धको खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै निर्णय गरिसकेका छन्। कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्त अघि सारेका छन्।  

 वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ समयमै कोरोनाविरुद्धको खोप नलगाउँदा श्रमिकहरूलाई समस्या परिरहेको उल्लेख गर्दै सरकारले वैदेशिक रोजगारीमा जानेलाई उच्च प्राथमिकतामा खोप दिनुपर्ने बताउँछन्। व्यवसायीहरू सरकारले विदेश जाने श्रमिकलाई खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगारीको क्षेत्र नै धराशायी हुने जोखिम बढेको औंल्याउँछन्।  

युएईले वैशाख २३ देखि नै नेपालबाट जानेहरूलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेको छ। यसरी रोक लगाउँदा पाँच हजारभन्दा बढी नयाँ र बिदामा घर आएका कामदारलाई समस्या परेको व्यवसायीको भनाइ छ। त्यस्तै कोरोनाले महामारीको रूप लिएपछि अर्को गन्तव्य मुलुक कुबेतले पनि नेपालबाट कामदार लगेको छैन। कुबेतले अनुमोदन गरेको खोप लगाएकालाई आफ्नो मुलुकमा अर्को सातादेखि प्रवेश दिने नीति लिएको छ। तर नेपालमा खोप सहज नभइरहेकाले नेपाली श्रमिकलाई यस्ता नीति तथा निर्णयले समस्यामा पारेको व्यवसायीको भनाइ छ।  

कुबेतले कोरोनाविरुद्धको अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलगायत खोप लगाएकालाई प्रवेश अनुमति दिने घोषणा गरेको छ। साउदीका रोजगारदाताले पनि खोप नलगाएका कामदार नपठाउन म्यानपावर तथा त्यस्ता यात्रु नबोक्न हवाई कम्पनीहरूलाई निर्देशन दिने गरेको व्यवसायी बताउँछन्।  

साउदी प्रवेश गर्नेले खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्छ। साउदीको आन्तरिक मन्त्रालयले साउन १७ गतेदेखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा प्रवेश गर्न पाउने नियम लगाएको छ। खोप नलगाई काम गरेको भेटिएमा जरिवाना लगाउनुका साथै कामबाट हटाउने र अटेरी गरे डिपोर्टसम्म गर्ने नीति लिएको घोषणा गरिएको छ।  

श्रमविज्ञ सोम लुइँटेल वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले तुरुन्त कोरोनाविरुद्धको खोप व्यवस्था गरी प्रमाणीकरण गर्न आवश्यक रहेको बताउँछन्। ‘खोप लगाएर प्रमाणीकरण गर्दा गन्तव्य मुलुकको स्ट्यान्डर्ड भुल्नु हुँदैन,’ उनले भने, ‘त्यस्तै अत्यावश्यक परेकालाई खोपमा प्राथमिकता दिई वैदेशिक रोजगारीमा जान खोजेका अन्यका लागि पनि खोपको मौज्दातमा ध्यान दिनुपर्ने देखिएको छ।’ विभिन्न मुलुकमा रहेका नेपालीलाई विभेदरहित तरिकाले खोपको सुनिश्चितता गर्नुपर्ने दायित्वसमेत सरकारको रहेको उनको भनाइ छ।  

कैयौं गन्तव्य मुलुकले आफ्ना नागरिकलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप दिए पनि ती मुलुकमै काम गर्ने नेपालीलगायत आप्रवासी श्रमिकलाई खोपमा बेवास्ता भइरहेको पाइएको छ। संघका पूर्वअध्यक्ष गुरुङ वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने उनीहरू मारमा पर्ने र रेमिट्यान्स पनि कमी हुने बताउँछन्। उनले सके सरकारले र नसके निजी क्षेत्रलाई प्रोत्साहन गरेर भए पनि खोप ल्याउने व्यवस्था हुनुपर्ने बताए।  

मलेसिया, कोरिया, युएई र कुबेत ठप्प

महामारी सुरु भएपछि बन्द भएको मलेसियाको रोजगारी अझै बन्द छ। त्यस्तै केही समयदेखि युएई र कुबेतको रोजगारी पनि सुचारु हुन सकेको छैन। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा मलेसिया रोजगारीको अन्योल कायमै छ। अघिल्लो वर्ष मार्चदेखि लकडाउन सुरु भए पनि त्यहाँ अझै कोरोनाको प्रकोप कायम छ। कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो।  

मलेसियाको रोजगारी बन्द भएको करिब साढे एक वर्ष भइसकेको छ। यतिखेर विदेशी कामदार भिœयाउन मलेसिया सरकारले खासै अग्रसरता नलिएको श्रम काउन्सेलर ढकालको भनाइ छ। वैदेशिक रोजगार विभागले मलेसियालगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन। विभागका अनुसार हालसम्म सबै गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिएका करिब ५५ लाखमध्ये रोजगारीका लागि मलेसिया जान करिब १० लाखले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिएकामध्ये यतिखेर करिब एक लाख ६० हजार मलेसियामा रहेको ढकालले बताए। ‘वैधबाहेक कागजपत्र पूरा नगरेका कैयौं नेपाली पनि मलेसियामा रहेको अनुमान छ,’ उनले भने। म्यानपावर व्यवसायी भने मलेसियामा वैध र अवैध गरी करिब तीन लाख नेपाली रहेको अनुमान गर्छन्।  

कोरियाका तीन सर्त  

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु गर्न त्यहाँको सरकारले तीन सर्त अघि सारेको छ। श्रम मन्त्रालयका अनुसार कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदार लैजान काठमाडौंस्थित कोरियन राजदूतावासले जाने कामदारले कोरोना बिमा र क्वारेन्टिन खर्च आफैं बेहोर्नुपर्ने तथा काठमाडौं–कोरिया सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको हो।  

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि जान नपाएकाले मन्त्रालयले कोरियाको रोजगारी सुचारु गर्न पहल गरेपछि यस्तो प्रस्ताव आएको हो। मन्त्रालयका अधिकारीहरू यदि कोरिया जाने श्रमिकले समयमै कोरोनाविरुद्धको खोप पाउन सकेको भए ढिलाइ नहुने र कामदारको खर्च पनि जोगिने बताउँछन्।  

कोरोना महामारी सुरु भएपछि नियमित र बिदामा आएका समेत पुनः फर्कन पाएका छैनन्। भाषा परीक्षा उत्तीर्ण गरी बसेका कामदार जान नपाएपछि विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै प्रदर्शन गरिरहेका छन्। कोरियाको रोजगारी सुचारु हुन नसक्दा १० हजारभन्दा बढी श्रमिक अलपत्र परिरहेका छन्। वैदेशिक रोजगार विभागले कोरियन दूतावासले राखेका सर्तअनुसार कार्यविधि संशोधन गर्ने तयारी भइरहेको जनाएको छ।  

भाषा परीक्षा अन्योलमा

कोरोनाकै कारण कोरियन भाषा परीक्षा अनिश्चित भएको छ। महामारीअघि हरेक वर्ष भाषा परीक्षा सञ्चालन हुने गथ्र्यो। भाषा परीक्षामा उत्तीर्ण गरेका मात्र रोजगारीका लागि कोरिया जान पाउँछन्।  विभागअन्तर्गतको इपिएस कोरिया शाखाले कोरोनाका कारण भाषा परीक्षा अनिश्चित भएको जनाएको छ। सन् १९९० को दशकमा नेपालीहरू भिजिट भिसामा जान थालेको कोरियामा सन् १९९४ देखि २००४ सम्म प्रशिक्षार्थी कामदारका रूपमा गएका थिए। नेपाल र कोरियाबीच समझदारी भएपछि रोजगार अनुमति प्रणालीमार्फत सन् २००७ देखि कोरियाले नेपालीलाई लैजान थालेको हो। हाल कोरियामा करिब ३१ हजार नेपाली छन्। त्यहाँ रहेका नेपालीले बर्सेनि करिब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स पठाउने गरेका छन्।  

युएई अझै अनिश्चित

धेरै नेपाली रोजगारीका लागि जाने गरेको युएईले जुलाई महिनाभर रोकेको रोजगारी कहिले सुरु हुन्छ भन्नेबारे अझै अनिश्चित छ। युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सेलर निर्मला थापाले जुलाईभर कसैलाई पनि प्रवेश नदिएको युएई सरकारको निर्णय अब कोरोनाविरुद्ध खोप लगाएको हकमा सुचारु होला भन्ने अपेक्षा गरेको बताइन्। युएई सरकारको यस्तो निर्णयले बिदामा घर आएका श्रमिकलाई समेत मार परिरहेको छ। थापाले कोरोनाविरुद्धको खोप लगाएकालाई प्रवेशमा अनुमति दिन दूतावासले पहल गरिरहेको बताइन्।  

मागपत्र घट्दो

कोरोना महामारी तीव्र रूपमा फैलिएपछि कामदारको मागपत्र पनि निकै कम आएको छ। व्यवसायीका अनुसार अहिले सबभन्दा बढी माग कतारबाट आएको छ। कतारका रोजगारदाताले ४० हजार कामदारको माग गरेको व्यवसायी बताउँछन्। त्यस्तै साउदीबाट २० हजार, साइप्रसबाट १५ हजार, युएई र रोमानियाबाट पाँच÷पाँच हजार कामदारको माग आएको व्यवसायीले बताएका छन्। अन्य गन्तव्य मुलुकबाट भने फाटफुट रूपमा माग आउने गरेको बताइन्छ। कोरोना महामारी सुरु भएयता वैदेशिक रोजगारीमा गएका संख्याको आधारमा सबभन्दा ठूलो मलेसियाले नयाँ नेपाली श्रमिक लिएको छैन।

थोरै संख्यामा आएका मागपत्र पनि कोरोनाविरुद्धको खोप नलगाएका कारण झनै समस्यामा परेको व्यवसायीको भनाइ छ। सरकारले खोप व्यवस्था नगरे वैदेशिक रोजगारी नै धराशायी हुने उनीहरू बताउँछन्। खोप अनिवार्य नगरेका मुलुकमा जाने श्रमिक कम्तीमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने र त्यो खर्च आफैं तिर्नुपर्दा पनि समस्या भइरहेको भन्दै समस्या बुझ्न सरकारसँग माग गरिएको छ।  

‘यतिखेर साउदी जाने कामदार अनिवार्य क्वारेन्टिन बस्नुपर्दा कम्तीमा ९० हजार रूपैयाँ खर्च हुन्छ,’ गुरुङले भने, ‘कमसेकम कोरोनाविरुद्धको खोप पाएको भए गरिब युवाको त्यो रकम त बचत हुन्थ्यो।’ कतारले पनि खोप नलगाएकालाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ। १४ दिन क्वारेन्टिनमा बस्नुपर्दा एक श्रमिकले करिब एक लाख रूपैयाँको खर्च भार बेहोर्नुपर्ने व्यवसायी बताउँछन्।  

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकहरूको रोजाइमा खोपको जोहो गर्नसक्ने मुलुकमा नागरिक पर्ने व्यवसायीको भनाइ छ। छिमेकी मुलुक भारतले खोप लगाउने क्रम तीव्र पारेकाले रोजगारीका लागि अन्तर्वार्ता दिँदा नै उनीहरू दुवै खोप लगाएर पुग्ने गर्छन्। खाडी र मलेसिया रोजगारीमा धेरैजसो दक्षिण एसियाली मुलुकबाट रोजगारीका लागि पुग्ने गर्छन्। दक्षिण एसियाका जुन मुलुकमा खोपको सहजता छिटो हुन्छ, तिनै मुलुकका बढी कामदारले विदेशमा रोजगारी पाउने सम्भावना देखिएको व्यवसायी बताउँछन्।

प्रकाशित: १७ श्रावण २०७८ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App