५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बुद्ध एयरले भोलिदेखि पोखरा–नेपालगञ्ज उडान गर्दै

पोखरा विमानस्थलमा बुद्ध एयरका जहाज । फाइल तस्बिरः सन्तोष पोखरेल÷नागरिक

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडानको तयारी थालेको छ । त्यस अनुसार आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु हुँदैछ । पोखरा र नेपालगञ्जबीच उडान गर्दा आन्तरिक यात्रुको आउजाउमा सहज हुने र भारतीय पर्यटकलाई पोखरा ल्याउन थप बल पुग्ने एयरलाइन्सको भनाई छ ।  

यसअघि बुद्धले गत बैशाख १८ गतेदेखि नै पोखरा–नेपालगञ्ज उडान गर्ने योजना बनाएको भएपनि कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको थियो । त्यसबाहेक बुद्धले पोखराबाट विराटनगर र सिमरासम्म पनि बैशाखदेखि नै उडान थाल्ने योजना बनाएको थियो । बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगञ्ज–पोखरा रुटमा उडान गर्दैछ ।  

बरालले पहिलो चरणमा सातामा तीनदिन मात्र उडान गर्ने तालिका बनाएपनि यात्रुको चाप बढ्दै गएमा सातैदिन वा दिनमै एकभन्दा बढी उडान पनि गर्ने योजना बनाएको बताए । ‘पोखरा–नेपालगञ्ज सम्भावनावयुक्त हवाई रुट हो । कोरोनाका कारण अहिले भारतीय बोर्डर नखुल्दा आउजाउ रोकिएको भएपनि अवस्था सहज हुँदा यात्रु अभाव हुँदैन,’ उनले भने, ‘भारतीय सहरसँग नजिक भएको र भारतीय पाहुना आउजाउ गर्ने हुँदा पनि हवाई उडानलाई यात्रु अभाव नहुने हाम्रो अनुमान  हो ।’  

बरालका अनुसार पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगञ्जका लागि उडनेछ । नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुनेछ । १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान गर्ने उनले बताए । ‘यात्रुको चाप बढेमा ठुलाआकारका जहाज वा दैनिक उडानसंख्या पनि थप्न सकिन्छ,’ उनले भने, ‘पोखरा–नेपालगञ्ज स्थलमार्गको यात्रा लामो अवधिको हुने भएकोले पनि यात्रुले हवाई यात्रा रोज्ने अनुमान छ ।’ नेपालगञ्जबाट केही घण्टाको दूरिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली चिसापानी भएकोले पनि पर्यटकीय गतिविधि बढाउन यो उडानले सघाउने उनले बताए ।  

पोखरालाई आधार बनाएर नयाँ रुटमा उडान गर्दा यात्रुलाई आउजाउमा सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताए । ‘काठमाडौंपछिको हव पोखरालाई बनाउने प्रयास भएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनै थालेकोले पनि पोखरालाई आधार बनाएर उडान गर्न थालेका हौ,’ उनले भने । यसअघि पोखराबाट नेपालगञ्जसम्म सिता एयरको चार्टर उडान मात्र भईरहेको थियो । ‘नेपालगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई काठमाडौं र पोखरा अउजाउमा निकै नै सहज हुनेछ,’ उनले भने ।  

पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारको भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा ७६ सय ३५ रुपैयाँ पर्नेछ । मध्यमस्तरको भाडादर ५५ सय ३५ र सबैभन्दा सस्तो ४९ सय ३५ रुपैयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि भइरहने उनले बताए । ‘यात्रुको चाप कत्तिको हुन्छ, त्यही अनुसार भाडादर पनि फरक पर्न सक्छ । हवाई यात्रामा सबैतिरको भाडादर यात्रुको चापमा भरपर्छ,’ उनले भने । बरालले नेपालगञ्ज पछि पोखराबाटै बिराटनगर र सिमरा पनि उडान गर्ने तयारी गरेको जानकारी दिए । तीनवटै रुटमा बैशाख १८ गतेदेखि उडान गर्ने योजना थियो ।  

बुद्धसँग अहिले ७० सिट क्षमताका एटिआर७२–५०० सिरिजका ११ वटा जहाज छन् । त्यस्तै ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी दुईवटा जहाज छन् । अहिले बुद्धले पोखराबाट काठमाडौं, भैरहवा र भरतपुर उडान गरिरहेको छ । पोखरा–काठमाडौं अहिले बुद्धले दैनिक आठवटा उडान गरिरहेको छ । त्यस्तै पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भईरहेको छ ।  

कोरोनाको दोश्रो महामारी कम भएसँगै हवाई उडान खुलेपछि बुद्धले पोखराबाट भैरहवामा उडान सुरु गर्दा सातामा तीनदिनमात्र उडान भईरहेको थियो । अहिले यात्रुको संख्या बढेपछि दैनिक दुईवटासम्म उडान गरिरहेको छ । भैरहवा, नेपालगञ्ज, बिराटनगर र सिमरा भारतीय सहरसँग नजिक रहेको र भारतीय पर्यटक नेपाल आउने भएकोले पनि यी रुटमा हवाई उडान आवश्यक रहेको बरालको भनाई छ । 

प्रकाशित: १६ श्रावण २०७८ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App