३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

मेयर सेजुवालले प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालमाथि प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लागेको छ।

नगर सभाका ५३ जना सदस्यले पास गरेका योजना उनले प्रक्रिया विपरित मनोमानी रुपमा करोडौ रकमका नक्कली आयोजना इन्ट्री गराउने गरेको आरोप लागेको हो।

उपमेयर अप्सरादेवी न्यौपानेले पत्रकार सम्मेलन गर्दै नक्कली योजनाको रकम भुक्तानीका लागि कर्मचारीलाई दवाव दिँदै भुक्तानी गर्न लगाउने गरेको बताइन्। यो प्रक्रिया मेयरले पहिलो वर्षदेखि नै गरेकी हुन्। 'अहिले सम्म रोकिएको छैन', उपमेयर न्यौपानेले भनिन्,‘अब मेयरको मनपरी चल्दैन। हामी पनि चुप लागेर बस्दैनौँ।’

उपमेयर न्यौपानले मेयरका गलत हर्कत रोक्न सबै जनप्रतिनिधिले संघर्ष गरेको बताइन्। तर विभिन्न जाल, झेल र प्रपञ्चहरु गरेर संघर्षलाई कमजोर पार्ने गरेको सुनाइन्।  

 मेयरले इन्ट्री गरेका कार्यपालिका हुँदै नगरसभामा पेस नभएका अवैध योजना उपमेयर संयोजकत्वको अनुगमन समितिबाट अनुगमन नहुँदै भुक्तानी भएका छन्।  

यो अलोकतान्त्रिक कदम र व्यक्तिगत स्वार्थका कारणले नगरपालिका अनिर्णयको बन्दी भएको छ। 'गत ३ वर्षदेखि सार्वजनिक सुनुवाई गर्नु पर्ने सवाल उठायौँ', उपमेयर न्यौपानेले भनिन्,‘कहिल्यै सुनुवाई भएन।’ मेयरले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार हडपेको आरोप लगाइन्।  

मेयर उपमेयरको विवादले नगरपालिकालाई आर्थिक दायित्व बढ्न गएको छ। यसले नगरपालिकालाई नयाँ योजना कसरी अगाडी बढाउने भन्नेमा संकट सिर्जना भएको छ। जनताको करबाट उठेको राजश्व सदुपयोग गर्नुपर्ने, बजेटको स्रोतहरु पहिचान गर्नुपर्ने र गतवर्षको हिसावकिताब दुरुस्त पारेर राजश्व परामर्श समितिको बैठकमा लैजानु पर्ने माग उपमेयर न्यौपानेको छ।

पटक पटक मेयरले दवाव दिने भएकोले प्रमुख प्रशासकीय अधिकृतले कामबाट विदा लिनु पर्ने अवस्था आउने गरेको उनले बताइन्।  

मेयरले नगरसभा गरेर बजेट पारीत भएको हल्ला फिजाएर नगरको विकासमा अवरोध सिर्जना गर्न खोजेको आरोप छ।  

उपमेयर न्यौपानेले भनिन्,‘कहाँ, कहिले र कति जना जनप्रतिनिधिको सहभागितामा नगरसभा सकियो, त्यसको माइनुट कहाँ छ, त्यो सबै लुकाइएको छ। यो भन्दा लाजमर्दो उदाहरण के हुनसक्छ।’ कर्मचारी केही बताउन चाहदैनन्। खाली सामाजिक सञ्जालमा रोइलो गरेको पाइन्छ।  

जनतालाई गुमराहमा पार्नु राजनीतिक अपराध हो। उपमेयर न्यौपानले नगरसभाका बहुमत सदस्यले विशेष नगरसभाको माग गरेको जानकारी दिइन्। 'स्वर्णिम इतिहास बोकेको नगरपालिकालाई बदनाम हुन दिँदैनौँ। जनता प्रतिको कर्तव्य पूरा गर्न जस्तोसुकै कदम चाल्छौँ', उपमेयर न्यौपानेले थपिन्,‘नगरपालिका कसैको विर्ता होइन। यो विकास निर्माण गर्ने थलो हो।‘ 

उपमेयर न्यौपानेका अनुसार नगरकार्यपालिकाका ११ जना सदस्यले हस्ताक्षर गरेर मेयरका कमजोरी सच्याउँदै विशेष नगरसभाको माग राखेका हुन्।

प्रकाशित: १५ श्रावण २०७८ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App