१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भवः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनले भने, 'साना उद्योगको संख्या कति छ ? अवस्था के छ र समस्या के छ ? बजारको अवस्था के हो रु उत्पादनको अवस्था के छ ? सबै कुराको अध्ययन गरेर के के गर्न सकिन्छ छलफल गरौं।'

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उनले भने, 'देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ।'

साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकिने भन्दै उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्रयास रहेको बताए।

उनले भने, 'हामी ठूला उद्योग भन्दा साना उद्योगको विकास र संवर्द्धनका लागि लाग्छौं। हाम्रो अर्थतन्त्रको मूला आधार लघु, घरेलु तथा साना उद्योग नै हुन भन्ने कुरालाई हामीले त्यको गम्भिरता बुझेका छौं।'

मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दीगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै उनले आम नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दीगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाल जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र सम्बृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सृर्जना गर्ने रोजगारी मार्फतको औद्योगिकरण भएको बताए।

साना उद्योगहरुका कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रभावकारी हुन नसक्दा यस्ता उद्योगहरु प्रतिष्पर्धी हुन नसकेको भन्दै उनले भने, 'अहिलेको तथ्याङ्क अनुसार देशभरमा झण्डै पाँच लाख उद्योग दर्ता भएका र तीमध्ये दुई लाख ५० हजार नियमित नविकरण भई सञ्चालमा रहेको देखिन्छ। त्यसैले यस्ता साना उद्योगहरुलाई वैज्ञानिक ढंगले परिमार्जित गर्दै तिनिहरुको उत्पादकत्व वृद्धि गराउने र उत्पादनको गुणस्तर र परिमाण वृद्धि गरी प्रतिष्पर्धी बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विना विलम्व काम थाल्नु आजको प्रमुख आवश्यकता हो।'

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति तथा राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेल, महासचिव कमल बराल तथा साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष इनु पौडेललगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १२ श्रावण २०७८ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App