पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे। उनीहरूले स्थानीय प्रशासनअगाडि करिब दुई घन्टा प्रदर्शन गरे। उनीहरूले कास्की प्रशासन, गण्डकी प्रदेशका मुख्यमन्त्री र राष्ट्र बैंकको पोखरा कार्यालयमा ज्ञापनपत्र बुझाए।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई कोरोनाविरुद्धको खोप नपाएसम्म नेपालमा पर्यटनको आस गर्न नसकिने बताए। ‘किनभने विदेशी पर्यटक खोप नलगाएको ठाउँमा आउने छैनन् भने आन्तरिक पाहुना पनि घुमघाममा निस्कन हच्किनेछन्,’ उनले भने। ‘विदेशीको त आसै छैन, आन्तरिक पाहुना पनि घुम्न निस्कँदैनन्,’ भट्टराईले भने, ‘अहिलेसम्म व्यवसायी वा कामदार कसैले खोप पाएका छैनन्।’ पछिल्लो समय कोरोनाविरुद्धको खोप नै संक्रमणबाट जोगाउने मुख्य हतियार बनेको छ। पर्यटन क्षेत्रले खोप नपाएसम्म व्यवसाय नखोल्ने पनि उनले बताए।
अब आउने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कुल लगानीको केही हिस्सा पर्यटन क्षेत्रमा अनिवार्य हुनुपर्ने व्यवसायीको माग छ। त्यस्तै, सहुलियत ब्याजमा पर्यटन व्यवसायीले ऋण पाउनुपर्नेमा व्यवसायीले जोड दिए। ‘अब एकल अंकमा ब्याजदर हुनुपर्छ। त्यो अंक बढीमा ५ प्रतिशत हुनुपर्ने हाम्रो माग हो,’ भट्टराईले भने। त्यसबाहेक व्यवसायीले अहिले ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै ऋणको पुनर्तालिकीकरण गरिदिनुपर्ने उनले बताए ।
‘पर्यटन क्षेत्र बचाउने हो भने भने सस्तो ब्याजदर र ऋणको पुनर्तालिकीकरण हुनुपर्छ,’ उनले भने, ‘नत्र हामी टिक्न सक्दैनौं।’ पर्यटन डुब्दा समग्र अर्थतन्त्रमा असर पर्ने उनले बताए । उनले व्यवसायीको अप्ठेरोबारे जानकारी गराउने गरी सरकारलाई नैतिक दबाब दिएको पनि बताए।
‘सरकारले भनेरै व्यवसाय बन्द गर्यौँ, खोल भन्दा खोल्यौं । अब योभन्दा बढी केही गर्न सकिन्न। किस्ता कहाँबाट पैसा खोजेर तिर्ने ?’ उनले भने, ‘सरकारको नियम कानुन मानेकोले हाम्रो पीडा सरकारले बुझ्नुपर्छ।’ पर्यटन क्षेत्रको माग पूरा नभएमा थप आन्दोलन गर्न बाध्य हुने उनले बताए। ‘अबको विकल्प भनेको व्यवसायको साँचो लगेर सरकारलाई बुझाउने हो,’ उनले भने, ‘घाटा बेहोरेर सधैं व्यवसाय टिकाउन सकिन्न। सरकारले कर तिर्न ताकेता गर्ने, राहत दिन आनाकानी गर्न भएन।’
अग्रज पर्यटन व्यवासायी गणेशबहादुर भट्टराई पनि पर्यटन व्यवसाय निकै नै अप्ठेरो अवस्थामा ओर्लिएको बताउँछन। उनका अनुसार कोरोनाविरुद्धको खोप नपाउँदा आन्तरिक पर्यटक पनि पोखरा घुम्न आउन डराउनेछन्। ‘काठमाडौंको ठूलो जमातले खोप लगाइसकेको छ। काठमाडौंका धेरै व्यवसायीले खोप लगाएका छन्। तर पोखराका व्यवसायीले अहिलेसम्म पाएनन्,’ उनले भने, ‘खोपबिना अब पर्यटन सोच्न पनि सकिन्न।’
उनले पनि पर्यटनमा अब सरकारले वास्ता नगर्ने हो भने लामो समय टिकाउन नसकिने बताए । ‘अब दुई वर्ष त केही गरी किस्ता र ब्याज तिर्न सकिन्न। सरकारले यो बारेमा सोच्न ढिलो गरेमा पर्यटन क्षेत्र थप धराशयी हुनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्र जोगाउने वा नजोगाउने भन्ने अब सरकारले सोच्नुपर्छ।’ पर्यटन क्षेत्रलाई खोप र ऋणको किस्ता र ब्याजदरमा केही राहत दिने हो भने व्यवसायी जोगिने उनले बताए।
पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा अहिलेको अवस्थाले पर्यटन व्यवसायी र मजदुर दुखी भएको बताउँछन्। ‘पर्यटन क्षेत्रमै पनि सेवाप्रदायक र सेवाग्राहीबीच कोरोनविरुद्धको खोपको खोजी हुनेछ। त्यसैले पर्यटनलाई कमजोर मान्नु हुँदैन,’ सापकोटाले भने, ‘खोपकै कारण युरोपियन मुलुकमा केही राहत मिलेको छ । हामीले पनि खोप पायौं भने केही राहतको सास फेर्न सकिन्छ। नत्र अवस्था अझै दयनीय हुँदै जानेछ।’
उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी निजी क्षेत्रको आवाज सरकारले नसुन्दा सबैतिर अप्ठेरो परेको बताउँछन्। उनले पर्यटन क्षेत्रले अझै आवाज बुलन्द पार्नुपर्ने पनि बताए। ‘यस्तै अवस्था रहेमा पर्यटन क्षेत्रले आगामी दिनमा अझै अप्ठेरो भोग्नुपर्नेछ,’ मुल्मीले भने, ‘पर्यटन क्षेत्रका माग धेरै भए पनि पूरा हुन सकेनन्। अपेक्षा अनुसार सरकारले पर्यटन क्षेत्रमा सघाएको देखिन्न।’
प्रकाशित: २२ असार २०७८ ०१:३८ मंगलबार