२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन

स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले शिलान्यासको १० वर्षपछि बिजुली उत्पादन थालेको छ। आयोजनाले ६ मध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको हो। भूकम्प, नाकाबन्दी, ठेकेदार कम्पनीको ढिलासुस्ती, कोभिड–१९ महामारी जस्ता कारण यो आयोजना निकै ढिलो गरी सम्पन्न भएको हो।  

आयोजनाका अरू पाँच युनिटले क्रमशः उत्पादन थाल्नेछन्। पूर्ण क्षमतामा उत्पादन गरेपछि नेपालको जलविद्युत् आयोजनाको कुल जडित क्षमताको झण्डै एक तिहाइ हिस्सा यसको हुनेछ। यसले पूर्ण क्षमतामा उत्पादन सुरु गरेपछि बर्खामा भारतीय बिजुली आयात गर्नुपर्ने बाध्यता टर्नेछ। हिउँदमा पनि बिजुलीको उच्च माग हुने बेला दैनिक चार घन्टा पूर्ण क्षमतामा उत्पादन गरेर ऊर्जा संकट कम गर्न सकिनेछ।  

ऊर्जाको उच्च माग हुने समयमा यसबाट दैनिक चारदेखि ६ घन्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सकिनेछ। यसले वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन गर्नेछ। यसबाट बर्खामा चार महिना पूर्ण क्षमतामा र हिउँदको फागुनमा ९२ मेगावाट मात्रै बिजुली उत्पादन हुनेछ। यसको कुल क्षमता ४५६ मेगावाट छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट माथिल्लो तामाकोसी आयोजनाको उद्घाटन गरेका छन्। सो अवसरमा उनले निर्धारित समयमै आयोजना सम्पन्न नहुँदा मुलुकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति बेहोर्नुपरेको बताए। ‘कतिपय कारणले यो आयोजना निर्माणको काममा निकै विलम्ब भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुमा निर्माण अवधिको ब्याज १४ अर्ब अनुमान गरिएको थियो। निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा ३२ अर्ब पुग्यो। लागत पनि सुरुको ३५ अर्ब २९ करोडबाट १७ अर्ब बढेर ५२ अर्ब रूपैयाँ पुग्यो।’  

प्रधानमन्त्री ओलीले आयोजनाको काम केही समय ढिलो हुँदा सुरुआती लागत अनुमान जति नै थप व्ययभार पर्नु निकै गम्भीर विषय भएको बताए। ‘निर्धारित समयभित्रै आयोजना सम्पन्न भएको भए विद्युत् उत्पादनको क्षेत्रमा, औद्योगिक विकास र विद्युतीकरणमा ठूलो फड्को मार्न सकिन्थ्यो,’ उनले भने, ‘समयमै सम्पन्न नहुँदा देखिने र नदेखिने धेरै घाटा परेको छ। असाधारण क्षति भएको छ। आगामी दिनमा यसबाट पाठ सिक्दै नयाँ आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न गराउनुपर्छ।’ प्रधानमन्त्री ओलीले यो आयोजनाले दाउरा र ग्यास चुलोलाई विस्थापित गर्ने दाबी गरे।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो आयोजना पूर्ण क्षमतामा सञ्चालन भएपछि कुल गार्हस्थ उत्पादनको एक प्रतिशत हिस्सा ओगट्ने बताए। ‘यो आयोजनाले एकातर्फ छरिएर रहेको पुँजी संगठित गरेर लगानी गरेर ठूला परियोजना बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ, अर्काेतर्फ स्वदेशी लगानीमा निर्माणाधीन आयोजनाको लागि महत्वपूर्ण पाठशाला बनेको छ,’ अर्थमन्त्री पौडेलले भने।  

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना स्वदेशी लगानीमा निर्माण सम्पन्न भएसँगै जलविद्युत् र आर्थिक क्षेत्रको विकासका लागि ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए। ‘यो आयोजनाको सफलतासँगै यस्तै खालको ठूलो आयोजना स्वदेशी लगानी र व्यवस्थापनमा गर्न सकिने दक्षता प्राप्त भएको छ,’ उनले भने। कार्यकारी निर्देशक शाक्यले यसले स्वदेशी प्राविधिक तथा इन्जिनियरिङको क्षमता समेत विस्तार गरेको बताए।  

यो आयोजनाको विस्तृत अध्ययन नर्वेको नरकन्सल्टले गरेको थियो। सरकारले यो आयोजना सुरु गर्दा ब्याजबाहेक ३५ अर्ब २९ करोड रूपैयाँ लागत अनुमान गरेको थियो। तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा लागत ब्याजसहित ८४ अर्बभन्दा माथि पुगेको छ। 

प्रकाशित: २२ असार २०७८ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App