१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिजुले–ऐसेलुखर्क सडक अवरुद्ध हुँदा आवागमन सकस

पहिरोका कारण खोटाङको बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। असार १८ गते परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो। हलेसी तुवाचुङ नगरपालिकाको सिमानाबाट रावाबेँसी गाउँपालिका प्रवेश गर्ने लेखर्क जंगलमा असार १९ गते बिहान ठूलो पहिरो खस्दा सवारी साधन आवागमन ठप्प भएको छ। 

रावाबेँसी गाउँपालिका हुँदै ऐसेलुखर्क पुग्ने सडक अवरुद्ध हुँदा ओहोर दोहोर गर्ने विरामी सबैभन्दा बढी मारमा परेका छन्। ढुवानीका सामान बाटोमा अलपत्र परेको छ। सडकमा पहिरो खसेको तीन दिन वित्दा समेत पहिरो पन्छाउनमा ध्यान जान नसकेको यात्रुको गुनासो छ। सडकमा खसेको पहिरो पन्छाउन ढिलाइ हुँदा लेखर्क जंगलमा अलपत्र पर्नुपरेको सवारी चालक जगत बस्नेतले बताए। ‘हामी माल लिएर ऐसेलुखर्कबाट हिँडेको लेखर्क जंगलमा अलपत्र परेका छौँ, वरपर घर छैन। भएको घरमा कोरोनाको त्रासमा खाना खान दिँदैन। चाउचाउ पानीको भरमा बसिरहेका छौँ, साथमा भएको चाउचाउ पनि सक्किसकेको छ,’ बस्नेतले भने, ‘गाउँपालिका, प्रहरी र प्रशासन सबैलाई भन्यौं तर सडकको पहिरो पन्छाउन ध्यान दिइएको छैन।’  

पहिरोका कारण रावाबेँसी गाउँपालिका प्रवेश गर्ने विजुले–ऐसेलुखर्क सहित विजुले–चिउरीबास र जौबारी कुभिन्डे सडक पनि अवरुद्ध भएको छ। रावाबेँसी गाउँपालिकाबाट ऐसेलुखर्क गाउँपालिका पुग्ने सडक खण्डको माक्पाको भदौरे रातमाटा र वलपालामा पनि पहिरो खसेको छ। विजुलेबाट रावाबेँसी गाउँपालिका हुँदै ऐसेलुखर्क पुग्ने सडक अवरुद्ध हुँदा जेनेरेटर लगायतका निर्माण सामग्री विजुलेमा अड्किएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

हाल रावाबेँसी गाउँपालिका प्रवेश गर्ने वा बाहिरिने जीप तथा मोटरसाइकलका लागि पानी ट्यांकी–कुभिन्डे सडक सञ्चालनमा ल्याइएको बताइएको छ। विजुले–ऐसेलुखर्क सडकको लेखर्क जंगलमा खसेको पहिरो पन्छाउनका लागि मेसिन पठाइसकिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए। केही घण्टापछि लेखर्क जंगलको पहिरो पन्छाइसकिने अध्यक्ष निरौलाले जानकारी दिए।  

यस्तै, मध्यपहाडी लोकमार्गको दिक्तेल–जयरामघाट सडक खण्ड अन्तरगत बाहुनीडाँडा कदुवाको राँगाकाटेमा शनिबार खसेको पहिरो पनि अझै हटाइसकिएको छैन।  

प्रकाशित: २१ असार २०७८ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App