४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धनगढीमा विकासः संरचना बनाइन्छ, प्रयोगमा ल्याइँदैन

धनगढी उपमहानगरपालिका–१४ मा प्रयोगविहीन अवस्थामा रहेको प्रसूति गृह । तस्बिरः नागरिक

धनगढी उपमहानगरपालिका भित्र निर्माण भएका करोडौँका संरचनाहरू प्रयोगविहीन बनेका छन्। धनगढी उपमहानगरपालिका भित्र महत्वाकांक्षी योजना ल्याएर निर्माण गरिएका भौतिक संरचनाहरु वर्षौदेखि अलपत्र परेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा एक वर्षअघि निर्माण सम्पन्न भएको प्रसूति गृह (बर्थिङ सेन्टर) प्रयोगमा नआउँदा वरपर झाडी उम्रिन थालेको छ। प्रसूति गृह निर्माण भए पनि प्रयोगमा नआउँदा यहाँका गर्भवती महिला प्रसूति सेवा लिनका लागि धनगढी पुग्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रामबजारी चौधरीले बताए। उनले भने,‘स्वास्थ्य सेवा सहजरुपमा पाउन् भनेर गाउँमै बर्थिङ सेन्टर बनाइयो, तर प्रयोगमा ल्याउनका लागि नगरपालिकाले कुनै पहल गरिदिएन।’ 

गाउँमै रहेको बर्थिङ सेन्टरको भव्य भवन हेरेरै प्रसूति सेवा लिनका लागि बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। नगरपालिकाले विकास गर्‍यौँ भनेर देखावटीका लागि भवन मात्रै बनाइदिए पनि प्रयोगमा नआउँदा जनप्रतिनिधिले जनतासामू मुख देखाउनै गाह्रो भएको वडाध्यक्ष चौधरीले बताए।  

यस्तै सोही गाउँमा बनेको वृद्धाश्रम एक वर्षसम्म पनि प्रयोगमा नआउँदा वरपर झाडी उम्रिन थालेको वडाध्यक्ष चौधरीले बताए। उनले भने,‘गाउँमा ठूलो संरचना बनाइयो, तर अहिलेसम्म प्रयोगमा आएको छैन।’

उपमहानगरपालिकाकै वडा नम्बर १८ स्थित पशु हाटबजार केन्द्र निर्माण गरिए पनि प्रयोगविहीन छ। धनगढी उपमहानगरपालिकाको एक करोड बढी रकम र कृषि ज्ञान केन्द्र धनगढीको १५ लाखको सहयोगमा निर्माण भएको पशु हाटबजार केन्द्रको धनगढीका मेयर नृपबहादुर वडले तामझामका साथ उद्घाटन गरे पनि प्रयोगमा आउन नसकेको वडाध्यक्ष मुरारी अधिकारीले बताए।  

महत्वाकांक्षी योजना अन्तर्गत वडा नम्बर १५ मा वृहत कनरी पार्क निर्माण गरिएको थियो। सघन सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको पार्कको वरपर पर्खाल लगाउन ठूलो रकम खर्चिइयो। तर, भित्रको सिँगार पटारमा भने उस्तै छ। सघन सहरी विकास कार्यक्रमले पार्कलाई धनगढी उपमहानगरपालिकालाई बाँकी सिँगार पटार गर्नेगरी हस्तान्तरण गरिसकेको छ। हस्तान्तरण भएको वर्षौ भइसक्दा पनि उपमहानगरपालिकाले पार्क भित्र गर्नुपर्ने सिँगारपटारका साथै आकर्षक बनाउन नसक्दा पार्क ओझेलिँदै गएको छ। सघन सहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भएको कनरी पार्कको सिँगार पटारका लागि योजना बनेको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्ट बताउँछन्। ‘पोखरी निर्माण गरेका छौँ, अघिल्लो पटक त्यहाँको झाडी सफा गरेका थियौँ,’ उनले भने,‘अब फेरि राम्रो बनाउन आउँदो आर्थिक वर्षमा बजेट छुट्याएका छौँ।’ 

प्रकाशित: १७ असार २०७८ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App