१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।  

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय सोमबार राति १२ बजेबाट सकिँदै थियो । डिसिसिएमसीको सोमबार बसेको बैठकले असार २१ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।  

निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।  

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाइ काम सुरु गर्ने व्यवस्था मिलाउन पर्ने छ । अत्यावश्यक सेवाका कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्न पाउने छन् ।  

यसैगरी बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्री लगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ ।  

निर्माण कार्यमा प्रयोग हुने, सीमा नाकाबाट सामग्री ओसारपसार गर्ने, भन्सार सम्बन्धी कार्य गर्न आउने भन्सार एजेन्टहरूले प्रयोग गर्ने सवारी साधन र अत्यावश्यक सामग्री एंवम वस्तु आयातमा प्रयोग हुने सवारी साधन सञ्चालन गर्न पाइने छ ।  

आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारबाही गरिने निर्णय भएको  छ ।

प्रकाशित: १४ असार २०७८ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App