१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

‘ल्याण्डफिल साईट’ आयोजनालाई ८ करोड

तीन ठाउँमा ल्याण्डफिल साईट बनाउन उपयुक्त

हाल भईरहेको पोखरा–१४ छिनेडाडाँको बाच्छुवुडुवास्थित ल्याडफिल साईट । तस्बिः उमेश पुन÷नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिदैं गर्दा पोखरा महानगरपालिकाले ल्याण्डफिल साईट निर्माणमा बल्ल तदारुकता देखाएको छ । यद्यपी ठोस उपलब्धी भने भईसकेको छैन ।  विमानस्थल सञ्चालन अगावै ल्याण्डफिल साईट निर्माण गर्नुपर्ने आवश्यकता छ । गतवर्ष नै ल्याण्डफिल साईट निर्माण गर्न अध्ययन शुरु गरिएको थियो । अध्ययनको लागि २५ लाख रुपैयाँ छुट्टाइएको थियो । अध्ययन समितिले पोखरा आसपासका तीनवटा ठाँउलाई उपयुक्त देखेको निष्कर्ष निकालेको छ ।  

‘ल्याण्डफिल साइट बनाउनका लागि तीनवटा ठाँउ उपयुक्त देखिएको छ,’ पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘तीनैवटै ठाउँको विस्तृत अध्ययन पनि भईसकेको छ । अब प्राविधिकले निर्णय गरेपछि टुंगो लाग्छ ।’ प्रवक्ता नेपालीका अनुसार पोखरा–३३ स्थित भरतपोखरीको दुईवटा ठाँउ तय गरिएको छ । तेस्रो भने पोखरा–१९ र माछापुच्छ«े गाँउपालिकाको सीमा पर्ने ठाँउ उपयुक्त भएको ठहर गरिएको छ ।  

घरेलु तथा अन्तर्राष्ट्रिय उडानको लागि चराचुरुंगीको अवरोध हुनु हुदैन् । ल्याण्डफिल साईट खास गरि विमानस्थलदेखि १० किमीको दुरीमा हुनुपर्छ । अहिले अध्ययन गरिएको तीनैवटास्थल भने ल्याण्डफिल साईटको लागि उपयुक्त देखिएको निष्कर्ष छ । ‘वाईल्ड लाईफ कन्ट्रोल हुनुपर्छ,’ नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले भने, ‘आकाशमा जहाजको मुभमेन्टमा चराचुरुंगीको असर पर्नुहुदैन् ।’ उनका अनुसार विमानस्थलदेखि ५ किलोमिटर भन्दा पर नै बधशाला हुनुपर्छ । ल्याण्डफिल साईटमा हुने वाईल्ड लाइफकै कारण अझ टाढा बनाउनुपर्छ ।  

उनका अनुसार जहाज उड्ने एरियादेखि ल्याण्डफिल साईट पर नै बनाउनुपर्छ । ‘जहाजको मुभमेन्टलाई ल्याण्डफिल साईटले प्रभाव पार्छ,’ उनले भने, ‘खासमा जहाज उड्ने एरियादेखि पर भएकै उपयुक्त हुन्छ । जहाज तल आउँदा ‘लाईफ र प्रपर्टिज’ ड्यामेज हुनुहुदैन्’ उनले थपे, ‘ल्याण्डफिल साईट नजिक हुँदा यसको जोखिम बढी हुन्छ । वाईल्ड लाईभ कन्ट्रोल हुदैन् ।’ पोखरा नागरिक उड्डयन कार्यालयले महानगरपालिकासँग ल्याण्डफिल साईट व्यवस्थापनको विषयमा गम्भीर छलफल गर्दै आएको छ । अहिले भईरहेको ल्याण्डफिल साईटदेखि बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पर्छ ।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी भईरहेको उल्लेख गर्दै महानगरले पनि ल्याण्डफिल साईड निर्माण गर्न ढिला भईसकेको ठम्याएको छ । ‘विमानस्थल सञ्चालनको लागि तीनतहका सरकारहरुले आफ्नो स्थानबाट आवश्यक सहयोग गर्नुपर्ने खाँचो छ । महानगरपालिकाको प्रमुख जिम्मेवारीको रुपमा रहेको फोहोर व्यवस्थापन र वैकल्पिक ल्यान्डफिको तयारी गर्न ढिलाइ भइसकेको छ । आगामी आर्थिक वर्षमा ल्यान्डफिल साइट व्यवस्थापनको लागि जमिन खरिद, आवश्यक थप जमिनको भोगाधिकार लिने लगायतका कार्य गर्न आवश्यक छ ।’ महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८÷०७९को बजेट बक्तव्य सार्वजनिक गर्दै भनिन, ‘जमिन यकिन भइसकेपछि वातावरण प्रभाव मूल्यांकनसहित विस्तृत परियोजना प्रतिवेदन तयारी समेत गर्नुपर्ने अवस्था रहेको छ ।’  

उपमेयर गुरुङले जग्गा प्राप्ति तथा आयोजनाको अन्य तयारी गर्न एकमुष्ट ८ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको जानकारी गराईन् । छुट्टाइएको रकमबाट विमानस्थल सञ्चालनको लागि आपतकालीन अवस्थामा अस्थायी ल्यान्डफिल व्यवस्था गर्ने कार्यमा समेत खर्च व्यवस्था गरिने छ । महानगरपालिकाले कोइका नेपाल तथा युएनडिपीको सहयोगमा पुनःप्रयोग हुन सक्ने फोहोरमैला व्यवस्थापनमा नयाँ प्रयोग गर्ने सम्बन्धी अध्ययन गर्दै आएको छ ।  हाल संचालित ल्यान्डफिल क्षेत्रका स्थानीय समुदायको माग सम्बोधन गर्न बहुवर्षीय सडक निर्माण योजना संचालन भएको महानगरले जनाएको छ । योजना समेत ल्यान्डफिल क्षेत्रको समग्र विकासमा २ करोड र नगरस्तरीय योजनामा थप ५० लाख विनियोजन गरेको जानकारी उपमेयर गुरुङले दिईन् ।  

फोहोर डम्पिङ गर्नु मात्रै समाधान नहुने भन्दै त्यसलाई कालान्तरसम्म बातावरण असर नपर्ने गरी बनाउनुपर्नेमा ध्यान दिनुपर्ने हुन्छ । घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाएर राख्नुपर्छ । कुहिने बस्तु घरमै कम्पोष्ट मल बनाउन सकिन्छ । नकुहिनेलाई एक ठाँउमा डम्पिङ गर्न सकिन्छ । पोखरा महानगरपालिकाका बातावरणीय इन्जिनियर भुवनेश्वर तिमिल्सिनाले ल्याण्डफिल साईट विशेष गरी मेकानिकल र बायोलोजिकल हुने भन्दै मेकानिकल खर्चिलो हुने बताएका थिए । मेकानिकलमा अक्सिजनसँग कन्ट्याक्ट गरेर फोहोर निस्कने लिक्विड(झोल)लाई ट्रिटमेन्ट गरेर खोलामा मिसाउनुपर्छ । बायोलोजिकलमा विरुवा रोप्नुपर्छ । पानीमा रहेको व्याक्टेरिया सोस्ने विरुवा लगाउनुपर्छ । विरुवा बढेको अवस्थामा काट्नुपर्छ ।  

उनका अनुसार डम्पिङ साईट आफैंमा ग्यास च्याम्बर हो । आगजनीको खतरा समेत हुन्छ । त्यसको लागि पाईप ठाँउ ठाँउमा राखेर व्यवस्थित गर्नुपर्ने सुझाव इन्जिनियर तिमिल्सिनाको थियो । डम्पिङसाईटबाटै उत्पादित ग्यासलाई स्थानीयलाई वितरण गर्नेतर्फ ध्यान दिनुपर्छ । 

प्रकाशित: १२ असार २०७८ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App