२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सूर्यविनायक नगरपालिका : विकास खर्च घट्दै, पुँजीगत खर्च बढ्दै

भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वीकृत बजेटको ६३ प्रतिशत बजेट मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षको गएको ११ महिनामा नगरपालिकाले त्यतिमात्र खर्च गर्न सकेको नगरपालिकाले जनाएको छ।

सो प्रतिशत गत आर्थिक वर्षको भन्दा कम हो। गत वर्ष सोही अवधिमा ७७ प्रतिशत बजेट खर्च गरेको थियो। यो चालू आर्थिक वर्षमा भने १५ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०७७/७८ मा कूल विनियोजन भएको १ अर्ब ४८ करोडमध्ये चालू खर्चतर्फ ५२ करोड २९ लाख ९१ हजार विनियोजन भएकोमा ११ महिनाको अवधिमा चालूतर्फ मात्र ३७ करोड १७ लाख ५५ हजार अर्थात् स्वीकृत बजेटको खर्च मात्र ६३ प्रतिशत खर्च भएको नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले बताइन्।

गत वर्ष सोही अवधिमा नगरपालिकाले कूल बजेटको ७७ प्रतिशत बजेट खर्च गरेको थियो। २०७७ साल जेठ मसान्तसम्म चालू, सामाजिक सुरक्षा, विषयगत शाखा र सशर्त कार्यक्रमतर्फ ३७ करोड ८६ लाख ६४ हजार ६ सय २१ रुपैयाँ खर्च अर्थात् स्वीकृत बजेटको ७७ प्रतिशत खर्च भएको थियो।

त्यस्तै सोही समयमा गत वर्ष पुँजीगततर्फ ३९ करोड ५१ लाख ४५ हजार २ सय ५२ खर्च अर्थात् ५७.१ प्रतिशत खर्च गरेको थियो। यो चालू आर्थिक वर्षमा भने पूँजीगत खर्च गर्ने क्षमता बढाएको नगरपालिकाले जनाएको छ। पूँजीगततर्फ ८४ करोड २५ लाख ५० हजार विनियोजन भएकोमा २०७८ जेठ मसान्तसम्म ५९ करोड ७७ लाख ७६ हजार अर्थात् स्वीकृत पूँजीगत खर्चको ७०.९ प्रतिशत रहेको छ।

‘बढ्दो लकडाउनले पनि केही फरक परेको छ, टेण्डरकै कारण काम भइरहेको छ, उनीहरुको काम नसकिकन चेक काट्ने कुरा भएन, त्यही भएर खर्च गर्ने क्षमतामा कमी आएको देखिएको हो,’ नगरप्रमुख बासुदेव थापाले भने, ‘फाइनल काम हुँदैछ, हामीकहाँ ९५ प्रतिशत काम भएको छ।’

असार मसान्तसम्ममा सो खर्च ४९ करोड ५ लाख ५७ हजार अर्थात् चालू खर्चको ८२. ७ प्रतिशत हुने अनुमान नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ।  

नगरपालिकाका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनबाट ११ कमिी पक्की र ७ किमी कच्ची सडक निर्माण, ७ वटा पुल निर्माण, १३ वटा खानेपानी आयोजना निर्माण, ७३५ वटा सडक बत्ती जडान, ६ वटा सिंचाई कुलो निर्माण, ५ वटा पर्यटकीय स्थल, र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १४५९ वटा घर नक्सा पास, ७ वटा कानून निर्माण, न्यायिक समितिबाट २५ वटा विवादको निरुपण, १४ वटा सामुदायिक भवन र १० वटा विद्यालय भवन निर्माण, १४ वटा मठमन्दिर निर्माण तथा जिर्णोद्वार, ४ वटा स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १२ असार २०७८ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App