४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भरतपुर महानगरपालिकाले ल्यायो चार अर्ब ८१ करोडको बजेट

भरतपुर महानगरपालिकाको बिहीबार भएको नवौँ नगरसभामा मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह ठकुरी लगायत ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबारको नवौँ नगरसभामा उपमेयर पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३÷३ करोड आय हुने अनुमान गरिएको छ ।  

बजेटमा अधुरा योजनाहरुको निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षका लागि शहरी पूर्वाधार, भूउपयोग तथा बस्ती विकास र अधुरा योजनाहरुको निरन्तरता दिइएको छ । शिक्षा, स्वास्थ्य, पशु तथा कृषि विकास, वातावरण, युवा तथा खेलकुद, पर्यटन लगायतका क्षेत्रलाई समेटिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न २ करोड तथा यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट ९८ करोड बजेट विनियोजन गरिएको छ ।  

प्रत्येक वडालाई १ करोड ७० लाखको दरले जम्मा ४९ करोड ३० लाख एकमुष्ट छुट्टाइएको छ । शहरी पूर्वाधार, भूउपयोग तथा बस्ती विकासका लागि ३१ करोड, सघं तथा प्रदेश सरकारको साझेदारीमा महानगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण गर्नको लागि रु १० करोड विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा १२ करोड ५० लाख, स्वास्थ्य सेवाका लागि ९ करोड छुट्टाइएको छ भने कोभिडको नियन्त्रण तथा प्रभावकारी उपचारको लागि १ करोड ९० लाखको महानगरपालिका कोभिड कोष स्थापना गरिने बताइएको छ ।  

सुत्केरीलाई निःशुल्क यातायात एम्बुलेन्स खर्चको व्यवस्था समेत गरिएको छ । कृषि क्षेत्रमा ८ करोड, पशुसेवाका कार्यक्रमका लागि ८ करोड ७० लाख, वातावरण तथा सरसफाइ र हरियाली प्रवद्र्धनका लागि ७ करोड, युवा तथा खेलकुदमा ३ करोड, विपद् व्यवस्थापनमा ५० लाखका साथै विपद तथा प्रकोप व्यवस्थापन कोषमा एकमुष्ठ रु १ करोड ५० लाख विनियोजन गरिएको छ ।  

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर रेनु दाहालले अधुरा योजनालाई प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याइने र योजना सार्ने प्रवृत्तिलाई क्रमशः निरुत्साहित गर्दै लैजाने बताइन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास र वातावरण तथा सरसफाइ एवम् हरियाली प्रवर्धनमा जोड दिइएको छ ।  

पूर्वाधार विकासमा सडक तथा भवन निर्माण, भू–उपयोग तथा बस्ती विकास, निजी क्षेत्रसँग सहकार्य, यातयात, खानेपानी लगायतका क्षेत्रलाई समेटेको छ । त्यस्तै सामाजिक विकासमा शिक्षा, युवा तथा खेलकुद, महिला शसक्तिकरण, स्वास्थ्य सेवा, आर्थिक विकासमा कृषि, पशु, सहकारी, पर्यटन, प्रधानमन्त्री रोजगार कार्यक्रम र वातावरण तथा सरसफाइ एवम् हरियाली प्रवर्धनमा वातावरण संरक्षण, विपद् व्यवस्थापन, प्रविधि लगायतको विषय समेटेको छ ।  

महानगरीय चक्रपथ, हुलाकी सडक, भरतपुर–मेघौली सडकलाई एक आपसमा छुने पूर्व–पश्चिम एवं उत्तर–दक्षिण भएर जाने महत्वपूर्ण रणनीतिक लिंक सडकहरूको अध्ययन गरी यसै आर्थिक वर्षबाट निर्माण कार्य सुरु गरिने मेयर दाहालले बताइन् । निर्माण भइरहेका चक्रपथ, सिटी हल, पुल्चोक–गोन्द्राङ सडक लगायतका आयोजनाहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आवश्यक सहयोग र समन्वय गर्ने बताइएको छ ।  

महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक बत्ती र स्मार्ट–पार्किङको व्यवस्था गरिने छ । महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाईन र इन्टरनेटका तारलाई चरणबद्ध रूपमा भूमिगत गर्दै लैजाने कार्यका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेमा जेड दिएको छ । सडक अधिकार क्षेत्र १६ मिटरभन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली, फुटपाथ ढल तथा साइकल लेन बनाउने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित: १० असार २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App