१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोभिड कहरः असार मसान्त नजिकिँदा पुँजीगत खर्च हुन हम्मे

कोभिडकै बेला मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको मौवासी खोलाले अवरुद्ध गरेको सडक मर्मत गर्दै। तस्विरः महेश्वर

कोभिड कहरका कारण गतवर्ष जस्तै चालु आर्थिक वर्ष पनि सालतमामी (असार मसान्त) नजिकिँदासम्म उत्साहजनक रुपमा बजेट खर्च हुन सकेको छैन। असार पहिलो साता बित्न लाग्दासम्म कोभिडका कारण काम रोकिन पुग्दा पुँजीगत (विकास निर्माण) रकम ६० प्रतिशत हाराहारी मात्र खर्च भएको पाइएको छ।  

सालतमामी नजिएकै बेला कोभिड फैलिएपछि गत वैशाख तेस्रो सातादेखि जिल्लामा लागू भएको निषेधाज्ञा अहिलेसम्म नखुल्दा बजेट खर्चमा अवरोध आएको विकासे अड्डाहरुले जनाएका छन्। उसै पनि आर्थिक वर्षको अन्तिममा आएर योजना छनौट, उपभोक्ता समिति गठन, सम्झौता र हतारमा काम गर्ने परम्परा रहिआएकोमा यही बेला कोभिड आईलागेपछि खर्च गर्न झन् समस्या थपिएको हो। भौतिक पूर्वाधारलगायत विकास निर्माणका काम गर्ने चैतदेखि असारसम्म (पिक सिजन)मै फैलिएको कोभिडले काममा अवरोध ल्याएपछि खर्च हुन नसक्ने अनुमान कार्यालयहरुको छ।  

कोभिड संक्रमण बढ्न नदिन वैशाख पहिलो सातादेखि प्रशासनले कडाई गर्दै २५ गतेदेखि जिल्लाभर लागू गरेको निषेधाज्ञा आउँदो ७ गतेसम्म कायम हुनेछ। अझै पनि गाउँगाउँमा संक्रमणको क्रम नरोकिएकाले परीक्षण जारी राखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। निषेधाज्ञाकै कारण चालुतर्फको दाँजोमा पुँजीगततर्फको बजेट खर्चमा थप समस्या छ।  

लगातार डेढ महिनायता जारी निषेधाज्ञाले काम गर्न नपाएपछि पुँजीगत र चालु दुवै शीर्षकको रकम खर्च गर्न समस्या भईरहेको कार्यालयहरुको भनाई छ। उता स्थानीय तहहरुको पनि समस्या उस्तै छ। भौतिक पूर्वाधारको काम गर्ने मुख्य सिजनमै कोभिडविरुद्ध केन्द्रित हुनु परेपछि वार्षिक लक्ष्य र बजेट सिलिङ अनुसार काम गर्न नपाउँदा चालुवर्ष खर्च अनुमानभन्दा कमै खर्च हुने जनप्रतिनिधिहरु बताउँछन्। स्थानीय तहहरुले कतिपय रकम शीर्षकान्तर र रकमान्तर गरेर कोभिडमा लगाउनु परेको पनि बताएका छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) उदयपुरले भने सम्बन्धित कार्यालयले काम गर्न सके पनि नसके पनि बिनियोजित बजेटमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा निकासा दिईसकेको जनाएको छ। कोलेनिकाका सूचना अधिकारी गणेश आचार्यले जिल्लाका सबै विषयगत कार्यालयहरु र स्थानीय तहहरुलाई बिनियोजित रकमको ८० प्रतिशतभन्दा बढी हिस्सा निकासा पठाईसकेको बताए। उनका अनुसार चालुवर्ष उदयपुरको कुल ४ अर्ब ५१ करोड ६९ लाख ७९ हजार २ सय ९७ रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म ३ अर्ब ६६ करोड २८ लाख ३० हजार ६ सय १३ रुपैयाँ निकासा भईसकेको छ। जुन हिस्सा ८१.०९ प्रतिशत हो।  

आचार्यका अनुसार चालुतर्फ २ अर्ब ३७ करोड ६३ लाख १५ हजार ४ सय २० मध्ये ७६.५५ प्रतिशत अर्थात १ अर्ब ८१ लाख ९० हजार १५ हजार ३ सय ६१ रुपैयाँ निकासा भईसकेको छ। पुँजीगततर्फ २ अर्ब १४ करोड ६ लाख ६३ हजार ८ सय ७७ रुपैयाँमध्ये १ अर्ब ८४ करोड ३८ लाख १५ हजार २ सय ५२ रुपैयाँ अर्थात ८६.१३ प्रतिशत हिस्सा निकासा भईसकेको छ। कोलेनिकाले विषयगत कार्यालयको माग अनुसार निकासा दिने गरेको आचार्यले बताएका छन्।  

कोभिड उपचारका नाममा धेरै कार्यालयहरुले एकातिर बजेट शीर्शकान्तर र रकमान्तर गरेर विकास निर्माणतर्फको रकम कटौती गर्ने गरेका छन् भने अर्कातफ संक्रमणको डरले समयमा काम गर्न नपाउँदा पुँजीगत रकम खर्च हुन सकेको छैन। गतवर्ष चैत ११ देखि लकडाउन लाग्दा समस्या भएको थियो भने यो वर्ष वैशाख तेस्रो सातादेखि उस्तै प्रकृतिको निषेधाज्ञा लागू हुँदा पुँजीगत रकम खर्च उत्साहजनक हुन नसकेको हो।  

आचार्यका अनुसार स्थानीयतहतर्फ जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ पालिकाका लागि बिनियोजित २ अर्ब ९८ करोड ५६ लाख ५९ हजार २ सय ८७ रुपैयाँमध्ये २ अर्ब ३७ करोड २३ लाख ३१ हजार ९ सय ९० रुपैयाँ अर्थात ७९.४५ प्रतिशत निकासा दिइसकिएको छ। जस अनुसार त्रियुगा नगरपालिकाको ७७ करोड ४३ लाख २ हजार ३ सय ५० मध्ये ७२ करोड ६९ लाख ६५ हजार ६ सय ४८ रुपैयाँ निकासा भईसकेको छ। जुन कुल रकमको ९३.८८ प्रतिशत हो। त्यस्तै कटारीको ५२ करोड ३६ लाख ६९ हजार ६ सय २० मध्ये ४८ करोड २९ लाख १६ हजार ६ सय ६ रुपैयाँ अर्थात ९२.२१ प्रतिशत निकासा लगिसकेको छ।

प्रकाशित: ५ असार २०७८ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App