७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

समयसीमा सकिन लाग्दा १० प्रतिशत काम

पासाङल्हामु मार्ग अन्तर्गत रसुवा खण्डमा सडक मर्मत सुधारको काम गरिँदै। तस्बिरः हिमनाथ/नागरिक

रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले–स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्न २०७८ वैशाख ५ गते आश्रर्य/एलआइके जेभीसँग ठेक्का सम्झौता गरेको थियो।  

सम्झौता अनुसार २०७८ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्छ। सोलेखोलादेखि त्रिशूली खोलासम्म साढे ६ किलोमिटर क्षेत्रमा रिसिलिङ हुनेछ। यसका लागि ४ करोड रूपैयाँ खर्च हुने छ। सम्झौता भएको एक महिना बितिसक्दा समेत १० प्रतिशत मात्र काम भएपछि कार्यालयले निर्माण व्यवसायीलाई पत्र काटेको छ।  

सम्झौता अनुसार एक महिनामा ३३ प्रतिशत काम भइसक्नुपर्ने भएपनि काम निकै सुस्त भएको डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘सम्झौता भएको एक महिना बितिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म ३३ प्रतिशत काम भइसक्नुपर्ने हो।’

निर्माण कार्य सुरु नगरी बाराम्बार मौखिक जानकारी गराउँदा समेत सम्पर्कमा नआएको र पेरियोडिक मेन्टिनेन्स समयमा नै नगरेको अवस्थामा सडक दैनिक रूपमा बिग्रदै गएको कार्यालयले जनाएको छ। तोकिएको समयसीमा भित्र काम सम्पन्न नभएमा पुनः म्याद थप नहुने तथा त्यस फर्मको कारणबाट बिग्रे–भत्केको सडक मर्मत गर्न लाग्ने रकम समेत फर्मबाटै असुलउपर गरी सम्झौताको निमयअनुसार ठेक्का अन्त्य गरी कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने डिभिजन प्रमुख भण्डारीले बताए।  

सम्झौता अनुसार निर्माण सम्पन्न नभएमा बजेट फ्रिज हुने र काम समेत नहुँदा यातायात सञ्चालनमा पुनः सास्ती खेप्नुपर्नेछ। सोलेदेखि त्रिशूली खोलासम्मको सडक जीर्ण भएका कारण सवारी सञ्चालन गर्न असहज छ। सोलेदेखि धुन्चे बजारसम्म ठुलठूला खाल्डाखुल्डी छ भने त्रिशूली खोला क्षेत्रमा पहिरोका कारण सडकमा ठूलो क्षति गरेको छ।  

५० प्रतिशतभन्दा बढी सडक बिग्रिएको खण्डमा रिसिलिङ गर्ने गरिन्छ। पासाङल्हामु मार्ग अन्तर्गत रसुवा क्षेत्रको सडक खण्ड जीर्ण हुँदै गएपछि तीन खण्डमा वर्गीकरण गरेर सडक सुधारको काम भइरहेको छ। यसका लागि चालु आर्थिक वर्ष २०७७/७८ का लागि २० करोड बजेट आएको कार्यालयले जानकारी दिएको छ। सडक मर्मत सुधारका लागि रकम अपुग हुने भएपछि डिभिजन प्रमुख भण्डारीले थप १० करोड बजेट माग गरेर ल्याएका छन्। जसमा ५ करोड रूपैयाँ रसुवा खण्डको मर्मत सुधारमा खर्च हुनेछ।  

कार्यालयले दिएको जानकारी अनुसार रसुवाको बेत्रावतीदेखि राम्चे, राम्चेदेखि धुन्चे र धुन्चेदेखि स्याफ्रुसम्मको सडक मर्मत तथा सुधारको काम भइरहेको छ। बेत्रावतीदेखि राम्चेसम्म रिकरेन्ट मेन्टिनेन्स अन्तर्गत सडकको साना खाल्डाखुल्डी भएको ठाउँमा टाल्ने, भत्किएको क्षेत्रमा ग्याबिन वाल लगाउने र भत्किएको नाला बनाउने काम चलिरहेको छ। यही खण्डमा गत वर्ष बाँकी रहेको क्षेत्रमा ढलानको काम पनि भएको छ।

यस क्षेत्रमा १५ सय मिटर ढलान हुने छ। जसमा हजार मिटर सकिएको छ। राम्चे–धुन्चे सडक खण्डको सुधार र केही क्षेत्रमा ढलान गर्ने तथा धुन्चे–स्याफ्रु खण्ड अन्तर्गत बाह्र घुम्तीमा ढलान गरिएको छ। विशेष सुधार कार्यक्रम अन्तर्गत ठूलो भार्खुमा १२ सय घनमिटर ग्याबिन लगाइएको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App