२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खोलामा ठेकेदारको मनोमानी कारबाही गर्ने निकाय मौन

चुरे क्षेत्रको खोलामा उत्खनन गर्न प्रयोग गरिएका एक्साभेटहरू। तस्बिर : नागरिक

स्थानीय तहले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि कारबाही गर्ने अधिकार पाएको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मौन बसेको गुसानो सर्वसाधारणले गर्दै आएका छन्। कारबाही गर्ने निकाय जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र इलाका प्रहरी कार्यालय सिमरा, निजगढ, कोल्हबीका प्रहरी प्रमुख आर्थिक प्रलोभनमा पर्दा खोलाहरूमा ठेकेदारबाट आफूखुसी उत्खनन गरिएको आरोप स्थानीयले लगाउँदै आएका छन्।

जिल्लाको चुरे क्षेत्रमा रहेको खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा एउटा एक्साभेटर प्रयोग गर्न उल्लेख गरिए पनि ठेकेदारले धेरै एक्साभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खन्न गर्ने स्थानमा १० फिट गहिरो बनाइ नदिजन्य पदार्थ उत्खनन गरिरहेका छन्। चुरे क्षेत्रका खोला ठेक्का लगाएका स्थानीय तहका प्रमुखहरूले आर्थिक लाभ लिन ठेकेदारलाई बढी एक्साभेटर प्रयोग गर्न दिर्नु र त्यहीँ बहाना बनाएर कारबाही गर्नुको साटो समन्वय समिती, प्रहरी प्रशासन समेत आर्थिक लाभ लिएर संरक्षण गरिरहेको आरोप खोला क्षेत्रमा पर्ने स्थानीय तहका वडाध्यक्षहरूले लगाउँदै आएका छन्।  

अहिले जिपतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको पसाल, दुधौरा, बालगंगा खोलामा ठेकेदारले आफूखुसी उत्खनन् गरेर नदिजन्य पदार्थ निकाल्ने गर्दै आएको छन भने, निजगढ र कोल्हबी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलाबाट पनि ठेकेदारले दिउँसो मात्रै एक्साभेटर प्रयोग गर्नुपर्नेमा राति समेत एक्साभेटर प्रयोग गरेर खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन्। जितपुरसिमरा उपमहानगरपालिकाबाट चालु आर्थिक वर्षका लागि पसाहा, बालगंगा र दुधौरा खोलबाट ९३ लाख ५९ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि विनोद निर्माण सेवाले १२ करोड ७६ लाखमा ठेक्का पाएका छ।  

विनोद निर्माण सेवाका सञ्चालक शेषनाथप्रसाद साहले खोलाबाट आफूखुसी नदीजन्य पदार्थ उत्खनन गर्दै आएपनि सरोकारवालाहरूले चासो नदिएको उपमहानगरपालिका वडाध्यक्षद्धय भोजबहादुर खात्री र केदार बजगाईको आरोप छ। विनोद निर्माण सेवाका सञ्चालक साहले आफू खोलामा नजाने र साझेदारीमा रहेका शिवनाथ पटेल र ओमशंकर साहले खोलामा जाने गरेकोले उनीहरूले खोलामा के गरेका छन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए। यता जिल्ला समन्वय समितिका प्रमुख नवल किशोर सिंहले आफू कोरोनाको कारणले बाहिर जान छाडेको र खोलाको अनुगमन गर्न नसकिएको बताए। ‘ठेकेदारहरूले खोलामा धेरै एक्साभेटर प्रयोग गरेर रातिको समयमा पनि उत्खनन गरेको भए त पत्रकारहरूले लेख्नुपर्यो,’ उनले भने।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालगंगा खोलामा ठेकेदारले जथाभावी उत्खनन् गरेको जानकारी आएपछि इलाका प्रशासन कार्यालय सिमराका प्रमुखलाई खोलाको उत्खनन रोक्न मौखिक आदेश दिएको र अन्य खोलामा ठेकेदारले बदमासी गरेको बारेमा आफूलाई कसैले अहिलेसम्म मौखिक वा लेखित कुनै पनि जानकारी नगराएको बताए। इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकालले आफूले खोलाको अनुगमन गर्दा बालगंगा खोलामा विनोद निर्माण सेवाका सञ्चालक शेषनाथप्रसाद साहले जथाभावी उत्खनन गरेको देखेको र त्यसबारेमा जितपुरसिमराका प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएको बताए।

प्रकाशित: २३ जेष्ठ २०७८ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App