२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेट नीतिः सबैलाई खोप, होम आइसोलेसनमै मेडिकल सेवा

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री किरण गुरुङ । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट कोरोनाको महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुने उल्लेख गरेका ।

बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले भने, ‘आगामी बजेट कोभिड–१९ का कारण सिर्जित चुनौतिको सामना गर्दै जनजीवनलाई सामान्यीकृत गर्न केन्द्रीत गरिनेछ । जसका लागि संघ सरकारसँग समन्वय र सहकार्य गरेर सबै प्रदेशबासीलाई कोरोनाको खोप उपलब्ध गराउनेदेखि कोरोना संक्रमितलाई होम आइसोलेसनमै मेडिकल सेवाको ब्यवस्था गरिनेछ ।’  

उनले कोभिड अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने पनि उल्लेख गरे । ‘त्यसका लागि आवश्यक अक्सिजन प्लान्ट थपिनेछन,’ उनले भने । उनले कोभिड अस्पताल तथा स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुको विकास र बिस्तार एवं पर्याप्त दक्ष जनशक्ति व्यवस्थापनमा विशेष प्राथमिकता दिनुका साथै आयुर्वेद चिकित्सालयको बिस्तार गरिने पनि उल्लेख गरे ।

प्रदेश सरकारले कोरोना रोकथाम र उपचारका लागि अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत राष्ट्रसेवा कर्मचारीका लागि प्रोत्साहनका व्यवस्था गर्न बजेटले सम्बोधन गर्ने जनाएको छ । त्यस्तै कोभिडका कारण प्रभावित व्यवसायलाई जीवन्तता दिन व्यवसाय जीवन रक्षा कोषलाई पनि निरन्तरता दिइने मन्त्री गुरुङले बताए । कोरोनाका कारण सहारा गुमाएका परिवारलाई रोजगारी र छोराछोरीको शिक्षादीक्षाको व्यवस्था गर्ने कार्यक्रम समेत बजेटले सम्बोधन गर्ने उनले उल्लेख गरे ।

गुरुङले बजेट कोरोना महामारीबाट नागरिकको जीवन रक्षा, पर्याप्त औषधी उपचार, सामाजिक, आर्थिक क्षेत्रलाई गतिशिल बनाउन पुर्नजीवन कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नमा केन्द्रीत हुने बताए । उनले भने, ‘कोभिड–१९ को तेश्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य यस्तै विपद ब्यबस्थापन गर्न विशेष प्राथमिकतामा राख्न बजेट केन्द्रीत गरिनेछ ।’ उनले कोभिडका कारण देश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगार बनाउन उद्यमशीलता विकासका लागि बिउ पूँजी प्रदान गर्नेदेखि सहुलियत ऋण कर्जा उपलब्ध गराउने लगायतका कार्यक्रम बजेटमा आउने उल्लेख गरे ।

यसैगरी प्रदेश सरकारले कोरोना माहामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाई पुरानै अवस्थामा फर्काउन बजेट केन्द्रीत गर्नेपनि जनाएको छ । बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री गुरुङले भने, ‘आगामी बजेट सार्वजनिक खर्चलाई ब्यबस्थित गर्दै आर्थिक तथा भौतिकतर्फ सामाजिक पूर्वाधार विकासका क्षेत्रमा श्रोत र साधनलाई केन्द्रीत गरिनेछ ।’

आगामी आर्थिक वर्षलाई गण्डकी प्रदेश सरकारले गरेको समग्र कामहरुको प्रगति समीक्षा वर्षको रुपमा अगाडि बढाइने अर्थमन्त्री गुरुङले बताए । उनले बजेटमा पूर्वाधार विकासका योजना छनौट गर्दा उत्पादनमुखी र गरिवी निवारणका कार्यक्रमलाई जोड दिने बताए । उनले प्रदेशको राजस्व प्रणालीलाई पारदर्शी र प्रविधिमा आधारित बनाई, आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारको रुपमा विकास गर्न विशेष जोड दिइने उल्लेख गरे ।

अर्थमन्त्री गुरुङले आगामी बजेट प्रदेशका आर्थिक सम्भावना तथा अवसरका क्षेत्र पहिचान र विकास गरी प्रदेशको आर्थिक समृद्धिमा टेवा पु¥याउने, अनावश्यक फजुल खर्च रोक्न आर्थिक पारदर्शीता प्रति उत्तरदायी बनाउने, प्रदेश गौरव रणनीतिक महत्वका बहुवर्षिय आयोजनालाई समयमै सम्पन्न गर्नेगरी बजेटको ब्यबस्था गरिने बताए । उनले स्थानिय तहको केन्द्र जोड्नेगरी, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई निरन्तरता दिदै बजेट ब्यबस्था गरिने उल्लेख गरे ।

प्रदेशको आगामी बजेटमा प्रदेश सरकारले यसअघी सञ्चालन गरेका सबै प्रदेशबासीमा स्वच्छ खानेपानी पु¥याउन ‘एकघर एकधारा’, उज्यालो प्रदेश अभियान, काठेपुल बिस्थापन, सिंचाई आयोजना लगायतका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने बताएको छ ।

प्रदेश सरकारले हिंसा पीडित महिला, बालबालिका तथा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको संरक्षण तथा पुर्नस्थापनामा जोड दिने, मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइने । कृषिको उत्पादन र उत्पाकत्व बढाउन जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सरकारले खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुदको समग्र विकासमा प्राथमिकता दिनुका साथै अन्र्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्नेपनि जनाएको छ ।

प्रदेश सरकारले लोककल्याणकारी राज्यको अवधारणा, गण्डकी प्रदेशका आवधिक योजनाको लक्ष्य तथा उद्देश्य, दीगो विकासका लक्ष्य, चुनावी घोषणा पत्र, नेपालको संविधानको निर्देशक सिद्धान्त, पन्ध्रौ योजना, गण्डकी प्रदेश सरकारको पञ्च वर्षिय योजना तथा दीगो विकासका लक्ष्यहरुले निर्दिष्ट गरेको समृद्धि हासिल गर्न पहल गर्ने आधारमा बजेट ल्याउने अर्थमन्त्री गुरुङले स्पष्ट पारे ।

प्रकाशित: १७ जेष्ठ २०७८ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App