१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम आगामी आवबाट

बहुचर्चित दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माणस्थल। तस्बिरः दमन राईरनागरिक

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम सुरु गर्ने जनाएको छ। 

अर्थमन्त्री बिष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आयव्याय सम्वन्धी बजेट वक्तव्यमा आगामी वर्षदेखि खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजना निर्माणको काम सुरु गर्ने उल्लेख छ। नेपाल सरकारले नयाँ बजेट भाषणमार्फत दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जगाएको छ।  

लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ। भ्याटसहित करिब २.२ विलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको बहुचर्चित दुधकोसी आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोश्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट बार्षिक तीन अर्व ४४ करोड ३० युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ।  

हाल आयोजनाबाट डुवानमा पर्ने क्षेत्रभित्रका जग्गाको श्रेष्ता उतार्ने काम भइरहेको छ। यस्तै, २०७७ साल मंसिरदेखि आयोजनाको प्रशारणलाईनको प्रारम्भिक वातावरणीय परीक्षण (आइई)को काम सुरु गरिएको छ। आयोजनाको ४०० केभी डबल सर्किट प्रशारणलाईनको आइईको काम सुरु गरिएको हो।  

सन् १९८५ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाकारुपमा पहिचान गरेको तथा २०१३ सालमा जाईकाले नै दोश्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट बार्षिक तीन अर्व ४४ करोड ३० युनिट उर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ। लागत र उर्जा उत्पादनका आधारमा दुधकोसी तुलनात्मकरुपमा अन्य आयोजनाभन्दा सस्तो र आकर्षक आयोजना हुने दावी गरिएको छ।  

जलविद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ वर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ वर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ।

पूर्णप्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिबेदनमा उल्लेख छ।

प्रकाशित: १६ जेष्ठ २०७८ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App