२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजेटमा मेलम्ची खानेपानी : साढे तीन अर्व विनियोजन

सरकारले बहुचर्चित मेलम्ची खानेपानी आयोजना अन्तर्गतको उपआयोजना लार्के, यांग्री आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् शनिबार सार्वजनिक गरेको बजेटमा राजधानी उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपले हल गर्ने अपेक्षा गरिएको लार्के, यांग्री उपआयोजनालाई उच्च प्राथमिकता दिइएको छ। लार्के, यांग्री खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी आपूर्ति गर्ने अर्थमन्त्री पौडेलले बताए।  

‘आगामी आर्थिक वर्षदेखि सुरुङ लगायत पूर्वाधार विकासको काम सुरु गरिने छ,’ बजेटमा उल्लेख गरिएको छ,  ‘आगामी तीन वर्षभित्र लार्के, यांग्री सम्पन्न गरिने छ ।’ यो आयोजनाका लागि ३ अर्व ५१ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।  

उपत्यकाको खानेपानी समस्या दीर्घकालीन हल गर्न लार्के र यांग्री मेलम्ची आयोजनाको पाइप लाइन उपआयोजना हो। सिन्धुपाल्चोकको हेलम्बु मुहान भएको मेलम्ची आयोजना २२ वर्ष लगाएर गत फागुनमा सम्पन्न भएको थियो। मेलम्चीबाट अहिले उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको छ।  

हेलम्बु अम्बाथान–सुन्दरीजल साढे २६ किलोमिटर सुरुङमार्फत मेलम्ची पानी उपत्यकामा वितरण भइरहेको हो। त्यही सुरुङमा मेलम्ची खोला नजिकका लार्के र यांग्रीबाट थप १७÷१७ करोड लिटर पानी उपत्यका पु¥याइने छ। मेलम्चीसहित दैनिक ५१ करोड लिटर पानी पुगेपछि उपत्यकाको खानेपानी समस्या दीर्घकालीन हल हुने विश्वास गरिँदै आएको छ।  

आयोजनाले पहिलो चरणको मेलम्चीलाई उपआयोजना–१ र दोस्रो चरणको लार्के, यांग्रीलाई उपआयोजना–२ नाम दिएको छ। पाँचपोखरी थाङपाल गाउँपालिका (साविक बरुवा र भोताङ गाविस)  हुँदै बग्ने लार्के, यांग्रीको पानी मेलम्चीको मुहानस्थल हेलम्बुको अम्बाथानमा मिसाएपछि त्यही सुरुङबाट राजधानी पुग्छ। यी दुई नदी अम्बाथानबाट दक्षिण–पूर्वमा छन्।  

यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ। दैनिक १७ करोड लिटर मेलम्ची पानी उपत्यकाको तत्कालको आवश्यकता पूर्ति गर्नका लागि मात्रै हो। यसले मात्रै दीर्घकालीन रुपमा उपत्यकावासीको माग धान्न नसक्ने निष्कर्ष साथ पाइप लाइनमा राखिएको लार्के, यांग्रीको प्रारम्भिक काम पनि झण्डै दशकदेखि सँगै अघि बढिरहेको छ।  

हाल लार्के, यांग्रीसम्म पुग्न पहुँचमार्ग बिस्तार, उपआयोजनाले ओगट्ने जग्गा अधिग्रहण र मुआब्जा बितरणको काम भइरहेको छ। पहूँचमार्ग, अधिग्रहण र मुअब्जा वितरणको काम अन्तिम चरणमा पुगेको मेलम्ची आयोजनाले जनाएको छ। सात वर्षमा सक्ने लक्ष्य राखेर सन् २००० मा थालिएको मेलम्ची आयोजना सम्पन्न हुन झण्डै २२ वर्ष लागेको थियो। दक्षिण एशियाकै पहिलो सुरुङमार्गमा आधारित यो खानेपानी आयोजनाबाट ठूलो अनुभव र पाठ सिकेकाले लार्के, यांग्रीमा मेलम्ची नियति नदोहोरिने आयोजनाका अधिकारीहरुको दाबी छ।

प्रकाशित: १५ जेष्ठ २०७८ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App