coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुर्गमको नगरपालिकामा आठ उद्योग स्थापना

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मा स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न थालेको छ। डिमुर र डिमोर गरी दुई ब्रान्डबाट वाइन बजारमा आउन थालेको उक्त कम्पनीले जनाएको छ।

उद्योगमा ब्राजिलबाट ल्याइएको रासायनिक पदार्थबाट डिमुरको वाइन तयार पारिएको छ। अहिलेसम्म करिब ९ करोड रूपैयाँ लगानी भएको उद्योगमा नगरपालिका र प्रदेश सरकारले २ करोड ४६ लाख रूपैयाँ लगानी गरेका छन्। ४३ जना सेयर सदस्यले लगानी गरेको कम्पनीले जनाएको छ। दुई वर्षअघि उद्योग स्थापना गरी स्थानीय सामुदायिक वनमा खेर गइरहेको डिमुरको वाइन बनाउने तयारी थालिएको थियो।  

कम्पनीले वाइनका साथै विभिन्न जुस (पेय पदार्थ) पनि उत्पादन गर्ने तयारी गरेको छ। स्थानीय सरकार गठन भएपछि रुकुममा उद्योग स्थापना भएर सामान बजारमा ल्याएको यो पहिलो उत्पादन हो। गत वर्ष कम्पनीले साढे २६ लाख रूपैयाँको डिमुर खरिद गरेको थियो।  

आठबीसकोट नगरपालिकाको साथै बाँफीकोट गाउँपालिका, छिमेकी जिल्ला जाजरकोट र डोल्पाका जंगलमा फलेका डिमुर खरिद गरी ल्याइएको कम्पनीका अध्यक्ष दलबहादुर शाहले बताए। उनका अनुसार ७ सय ५० एमएलका बोतलमा वाइन बजार पठाइँदैछ। तत्काल ५ सय ७५ रूपैयाँ प्रतिबोतलका दरले वाइन बिक्री हुने उनले जानकारी दिए।  

आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ। नगरपालिकाको अनुदान र स्थानीय युवाको सेयर लगानीमा ‘ठूलोभेरी मल्टीपर्पोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो। साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए।  

कम्पनीले प्रतिगोटा मूल्य ५० रूपैयाँ कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्बल साबुन’ राखिएको छ। उद्योगबाट उत्पादित साबुन जिल्लाका विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने गरेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताए। उद्योगबाट नुहाउने र कपडा धुने साबुन उत्पादन भइरहेको छ। आठबीसकोट नगरपालिका रुकुमको सबैभन्दा विकट स्थानीय तह हो। नगरपालिकाका २ वटा वडामा अझै पनि सडक सञ्जालल पुगेको छैन। 

स्थानीय सरकार गठन भएपछि युवाहरूलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नका लागि विभिन्न खालका आठवटा उद्योग स्थापना गरिएको छ। यहाँका उत्पादन हुने कच्चा पदार्थको प्रयोग गरेर उद्योगमार्फत विभिन्न सामग्री बजारमा निर्यात गरी आर्थिक विकास गर्नका लागि साना उद्योग स्थापनामा जोड दिइएको नगरपालिकाका मेयर गोर्खबहादुर केसीले बताए।

नगरपालिकाले संघीय, प्रदेश सरकारकासँगको समन्वयमा निजी क्षेत्र र सहकारीमार्फत उद्योग सञ्चालन गरिएको उनले बताए। वाइन र साबुन उद्योगका साथै नगरपालिकामा अहिलेसम्म ड्राइफुट उद्योग, दूधजन्य उद्योग काष्ठ (प्लाई) उद्योग, मसाला उद्योग र गार्मेन्ट (कपडा) उद्योग स्थापना भएर सञ्चालन भइरहेको मेयर केसीले बताए। अब मासुजन्य उद्योग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ।  

निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउन यहाँ उत्पादन भएका साना उद्योगले ठूलो सहयोग पुर्‍याउने उनको विश्वास छ। ‘यहाँका भिरालो जमिनमा उत्पादन हुने खाद्यान्नले मात्रै किसानको जीवनस्तर परिवर्तन हुने सम्भावना छैन,’ मेयर केसीले भने, ‘हामीले अब पहाडको भू–भागमा पशुपालन (मासु र दूधजन्य) र फलफूल खेतीमा विकास गर्ने योजना बनाएका छौं। त्यसैले अन्नबाली उत्पादन हुने जग्गामा समेत फलफूल खेतीको सुरुआत गरिएको छ।’  

फलफूलमा यहाँ किवी राम्रो उत्पादन हुने भएकाले किसानलाई नगरपालिकाले बिरुवा उपलब्ध गराएको छ। किवीबाटै वाइन उत्पादन गर्ने उद्देश्यले किसानलाई व्यावसायिक रूपमा यसतर्फ आकर्षित गरिएको नगरपालिकाका प्रवक्ता गंगराम चनाराले बताए। थोरै लगानीमा राम्रो आम्दानी हुने र उत्पादन भएको किवी बिक्री हुने पक्का भएपछि किसानहरू उत्साहित भएका छन्।  

यहाँ स्थापना भएका सबै उद्योग कृषिमा आधारित भएकाले दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्न कृषि क्षेत्रको विकास नै महत्वपूर्ण कुरा रहेको मेयर केसीको भनाइ छ। कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्न उनले बताए। किसान वा उद्योग सञ्चालनका लागि ठूलो सहयोग आवश्यक परे विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा लघुकर्जाको लागि समेत सम्झौता भएको उनले बताए। 

प्रकाशित: ३ जेष्ठ २०७८ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App