१२ मंसिर २०७८ आइतबार
अर्थ

किसानको फसल 'घुइँयाको भाउ'

कृषिमा कोरोना प्रभाव

केरा बिक्न छोडेपछि भैँसीलाई खुवाउँदै गौरीगंगा–४ राजीपुरकी किसान टीका भण्डारी । तस्बिरः पुष्पराज/नागरिक

वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) भन्दा पनि सस्तो मूल्यमा किसानले तरकारीको मूल्य तोक्दा समेत बिक्न छोडेको छ।  

गत वर्षको कोरोनाको कहरमा घाटा व्यहोरेका किसानले यस वर्ष मुनाफा कमाउने उद्देश्यका साथ पुनः माघ–फागुनमा वसन्ते तरकारी खेती थालेका थिए। वसन्ते तरकारी खेती गरेका उनीहरुको फसल चैत अन्तिमदेखि दिन थालेपछि हौसिएका किसान पुनः जिल्ला प्रशासनले जिल्लभर निषेधाज्ञा जारी गरेपछि निरास भएका हुन्।  

नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा निषेधाज्ञा भएपछि आफूहरुको फसलले मूल्य नपाएको बताउँदै मौरीफाँटाका किसान हरिप्रसाद ओझाले भने,‘कोरोनाले पुनः निषेधाज्ञा हुने वित्तिकै हाम्रो फसल ‘घुइँयाको घाउ’मा पनि बेचिन छोड्यो।’ तरकारीको बीऊ बिजन खरिद गरेको, बाली लगाएको सिँचाइ गरेको, गोडमेल गरेको, मलखाद हालेको सबै जोडेर आउने मूल्य पनि तरकारी बेच्दा नपाइने गरेको उनले दुखेसो सुनाए। ‘तरकारी लगाउँदादेखि फलाउँदासम्म परेको लागत पनि नउठ्ने भयो,’ उनले भने,‘तरकारीको खपतै घट्यो, थोकमा किन्ने पसलेले पनि एकदमै सस्तोमा र थोरै परिणाममा किन्दा हाम्रो उत्पादन कुहिनुका साथै बारीमै बिग्रने अवस्थामा पुगेको छ।’ 

निषेधाज्ञा अघि बारीबाटै खुर्सानी ८०, करेला ८०, काँक्रा ३०, लौका ३०, भिण्डी ८०, बोडी ८० रुपैयाँका दरले बिक्री भएको बताउँदै उनले भने,‘अहिले त्यही तरकारीको मूल्य आधा भन्दा बढी मूल्य घट्दा पनि किनिदिने कोही छैन।’ तरकारीको मिहिनेत जोड्दा आउने लागत मूल्य भन्दा पनि कम मूल्यमा बेच्दा समेत कसैले नकिनिदिएको उनी बताउँछन्।  

वर्षाैदेखि तरकारी खेती गर्दै आएकी गौरीगंगा नगरपालिका–४ राजीपुरकी टीका भण्डारीले पनि यसपालि तरकारीको मूल्य पाएकी छैनन्। उनले मूल्य नपाउँदा १० कठ्ठा जमिनमा लगाएको तरकारी बाली बारीमै कुहिन थालेको बताइन्। ‘सस्तोमा बेच्न खोज्दा पनि बेचिन छाडेको छ,’ उनले भनिन्,‘तरकारीले मूल्य नपाएपछि बारीमै कुहिन थालेको छ।’ उनले तरकारी खेतीसँगै १५ कठ्ठा जमिनमा केरी खेती पनि गरेकी छिन्।

केराले राम्रो फसल दिएको छ। अहिलेको समयमा केराले राम्रै मूल्य पाउने गरेको छ। तर, उनले बारीबाटै २५ रुपैयाँ दर्जनका हिसाबले केरा बेच्न खोज्दा पनि बेचिएन। ‘२५ रुपैयाँ दर्जनका हिसाबले केरा बेच्न खोजे बेचिएन,’ उनले भनिन्,‘केरा नबेचिँदा भैँसीलाई खुवाउने गरेको छु।’ उनको बारीमा करिब ५ सय घरी उत्पादन भएका छन्। उत्पादनले बजार नपाएको भन्दै उनी निरास छिन्।  

ओझा र भण्डारी मात्रै हैनन्, अहिले बसन्ते तरकारी खेती गरेका सबै किसान मारमा परेका छन्। उनीहरुको फसलले मूल्य पाएकै छैन। सस्तोमा फसल बेच्न खोज्दा पनि नबेचिएको गुनासो यहाँका किसानले गर्न थालेका छन्। धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीले पनि यसपालि बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे अनुसारको मूल्य नपाउँदा सपना चकनाचुर पारिदिएको छ। वर्षौदेखि तरकारी खेती गर्दै आएका उनी अघिल्ला वर्षहरुमा बारीबाटै ५० रुपैयाँ प्रति केजीमा टमाटर बेचेको सम्झँदै भने,‘गत वर्ष यसै समयमा र यसपालि पनि यसै समयमा कोरोनाका कारण भएको निषेधाज्ञाले बारीमै १५ रुपैयाँ केजीमा पनि टमाटर बेचिन छोड्यो।’ तरकारीमा मूल्य भने जति घटाउँदा पनि कसैले नकिनिदिएको दुखेसो पोख्दै उनले भने,‘घुइँयाकै भाउमा लैजाऊ भन्दा पनि कोही थोक पसलेले तरकारी नै उठाइ दिँदैनन्।’  

गौरीगंगाका फूलराम चौधरीले काँक्रा र खुर्सानी खेती गरेका छन्। काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि भने निरास बनाएको भन्दै चिन्ता गर्न थालेका छन्। ‘अघिल्लो वर्ष राम्रै आम्दानी दिएको थियो,’ उनले भने,‘तर, यसपालि भने बजार नै पाइएको छैन, के गर्ने होला।’ काँक्रा बारीमै पहेँलो हुन थालेको बताउँदै उनले भने,‘पहेँलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु।’ सस्तो मूल्यमा बेच्न खोज्दा पनि कसैले पनि खरिद गरिदिन नमानेको बताउँदै उनले भने,‘लकडाउनका कारण व्यवसायी बारीसम्म पुग्न नसक्दा सबैभन्दा बढी मारमा हामी किसान परेका छौँ।’ गाउँमा अधिकांश किसानले व्यवसायिक तरकारी खेती गरेको बताउँदै उनले भने,‘हामीले व्यवसायिक तरकारी खेती गर्‍यौँ, तर यसपालि भने व्यवसायिक तरकारी खेतीले डुबायो।’

व्यवसायिक रुपमा तरकारी खेती गरेका किसानले समयमा तरकारी बेच्न नपाउँदा बारीमै कुहिने अवस्थामा पुगेको बताउँदै अगुवा किसान रमेश भाटले भने,‘लकडाउनका कारण सबै किसानको अवस्था उस्तै छ।’ सरकारले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानलाई मध्यनजर गर्दै उनीहरुलाई तरकारी बेचबिखनका लागि सहज वातावरण बनाइदिन आग्रह गरिरहेको बताए। ‘हामीले व्यवसायिक किसानको समस्यालाई मध्यनजर गर्दै प्रशासन तथा सम्बन्धित स्थानीय तहका कृषि केन्द्र र जनप्रतिनिधिलाई सहज वातावरण बनाइदिन आग्रह गरेका छौँ,’ उनले भने,‘तरकारीका थोक बिक्रेतालाई किसानको बारीसम्म पुग्ने वातावरण मिलाउन र थोक बिक्रेतालाई खुद्रा बिक्रेतासम्म पनि पहुँच बनाउन सकिए, किसानले बारीमै तरकारी कुहेको देख्न पाउँदैन थे।’

गत वर्षको कोरोना कहरका बेला बसन्ते तरकारी बालीलाई प्रशासन कार्यालय, प्रहरी कार्यालय र कृषि निर्देशनालयको सहकार्यमा सहजीकरण गरेको पाठ सिक्दै यसपालि पनि केही व्यवस्था राज्यले गर्नुपर्ने सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशी बताउँछन्। उनले भने,‘किसानले उत्पादन गरेको तरकारीले अहिले मूल्य पाउनै छोडेको छ।’ किसानले ५० प्रतिशत भन्दा पनि कममा तरकारीको मूल्य तोक्दा समेत किनिदिने व्यवसायी नै नभेटिएको बताउँदै भने,‘अहिले थोक व्यापारीले आफ्नो मूल्यमा किसानको फसल किन्न खोजेका छन्, थोक व्यापारीको मूल्यमा नदिए किसानले बारीमै तरकारी कुहाउनु पर्ने बाध्यता छ।’ 

थोक व्यापारीलाई किसानको बारीसम्म र आम उपभोक्तासम्म सहज पहुँचको व्यवस्था सरकारले गरिदिएको भए किसानले सस्तोमा तरकारी बेच्नु पर्ने बाध्यता हट्ने उनी बताउँछन्। ‘स्थानीय तथा प्रदेश सरकारले महामारीका बेला किसानको उत्पादनलाई व्यवस्थित गरेर उपभोक्तासम्मको पहुँच बनाइदिने तथा केही नयाँ नीति ल्याएर उत्पादन खरिद र बिक्रीवितरण गराउने व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्।

प्रकाशित: २ जेष्ठ २०७८ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App