३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउँदै श्रमिक

रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक पुगेका श्रमिकले करिब ७५ लाख रूपैयाँ चन्दा संकलन गरेर पाँच सय ५० थान अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी गरेका छन्।

दोस्रो लहरको कोरोना महामारीपछि देशभरि अक्सिजन र सिलिन्डरको चरम अभाव भइरहेको बेला ओमानस्थित नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनएको) समन्वयमा श्रमिकहरूले गाँस काटेर रकम जम्मा गरेका हुन्।  

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले संकटको घडीमा मध्यपूर्वका नेपालीको सहयोगले तत्कालका लागि पाँच सय ५० थान अक्सिजन सिलिन्डर खरिद गरिएको बताइन्। ती सिलिन्डर लिन सरकारले १५ मे अर्थात शनिबार बिहान १० बजे नेपाल वायुसेवा निगमको जहाज ओमान पुग्ने उनले जानकारी दिइन्।  

अभियानको नेतृत्व गरेका संघ अन्तर्गतको आइसिसी सचिव आरके शर्माले अक्सिजन सिलिन्डर खरिद गर्नका लागि रोजगारीका क्रममा मध्यपूर्वमा रहेका नेपालीले ६३ हजार सात सय अमेरिकी डलर संकलन भएको बताए। ‘कसैले पाँच त कसैले १० डलर सहयोग गरेपछि अक्सिजन सिलिन्डर खरिद गर्ने रकम संकलन भएको हो,’ उनले भने, ‘अझै पनि अभियान जारी राखेका छौं।’  

कोरोना महामारीका कारण यतिखेर नेपाल मात्र नभई खाडी र अन्य मुलुक पनि प्रभावित भएका छन्। तर त्यहाँ काम गर्ने श्रमिकले नेपालको समस्या गम्भीर देखिएको ठानेका छन्। संघका उपाध्यक्ष बद्री केसीले महामारीको समस्या संसारभर भए पनि नेपालमा विकराल रूप लिएकाले विदेशमा रहेका नेपाली बढी चिन्तित देखिएको बताए।  

शनिबार नै पाँच सय ५० खाली सिलिन्डरसहित एक सय ७० थान अक्सिजन कन्सन्ट्रेट पनि नेपाल पठाउने तयारी भइरहेको केसीले बताए। यतिखेर सबैतिर अक्सिजन कन्सन्ट्रेटको अभाव भएपछि बल्लतल्ल चीनमा एक सय ७० थान फेला परेको उनले भने, ‘थप अक्सिजन कन्सन्ट्रेट फेला पार्न अन्य मुलुकमा खोजी जारी राखेका छौं।’  

नेपाल पठाउने तयारी गरिएका अक्सिजन सिलिन्डरको क्षमता ४० लिटर र अक्सिजन कन्सन्ट्रेटर १० लिटरका हुनेछन्। अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक पर्ने सम्पूर्ण रकम मध्यपूर्वमा काम गर्ने श्रमिकबाट संकलन गरिएको हो भने अक्सिजन कन्सन्ट्रेटका लागि संघले केन्द्रीय आर्थिक स्रोत परिचालन गरेको हो।  

कोरोना महामारीपछि यतिखेर वैदेशिक रोजगारीमा रहेका नेपाली पनि समस्यामा छन्। कैयौंको रोजगारी गुमेको छ भने कतिपयको पारिश्रमिक कटौती भएको छ। कतिपय गन्तव्य मुलुकले पहिलो लहरको कोरोना महामारी सुरु भएदेखि नै कामदारको नयाँ माग गरेका छैनन्। जसले गर्दा घर फर्कन खोजेका श्रमिकलाई बिदा पाउन कठिन भइरहेको छ। नयाँ श्रमिक जान नपाएपछि महामारी सुरु हुनुअघि नै गएका श्रमिकबाट रोजगारदाताले काम चलाइरहेका छन्।  

यतिखेर पारिश्रमिक कटौतीमा परेका श्रमिकसमेत घर फर्कन नपाएको बताइन्छ। पहिलो लहरको महामारीपछि करिब ६ महिना बन्द भएको वैदेशिक रोजगारी एक सातादेखि पुनः असहज बनेको छ। सरकाले महामारी नियन्त्रणको प्रयासस्वरूप एक सातादेखि भारतका केहीबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्दा घर फर्कन खोज्नेलाई समस्या भइरहेको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासले जनाएका छन्।  

यद्यपि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेलाई दिने गरेको श्रम स्वीकृति भने पहिलो लहरको महामारी फैलेको बेलाजस्तो अहिले बन्द गरेको छैन। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यतिखेर श्रम स्वीकृतिलाई अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको बताए।  

श्रम स्वीकृति लिएको तीन महिनाभित्र वैदेशिक रोजगारीमा जानुपर्ने हुन्छ। विभागका अनुसार हालसम्म करिब ५५ लाखले श्रम स्वीकृति लिएकामध्ये २५–३० लाख वैदेशिक रोजगारीमै रहेको अनुमान गरिन्छ। तीमध्ये करिब ८० प्रतिशत मध्यपूर्वका विभिन्न मुलुकमा श्रम बेचिरहेको अनुमान छ। विभागले वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्ने भएकाले गन्तव्य मुलुकमै रहेकाको यकिन संख्या भेट्न मुस्किल हुने गरेको छ। रोजगारीका लागि विदेश गएकाले गाँस कटाएर सहयोग गर्न थाले पनि नेपालका धनाढ्यहरूले अझै सहयोग गर्न सकेका छैनन्। 

प्रकाशित: ३१ वैशाख २०७८ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App