७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दोधारा चाँदनी सुक्खा बन्दरगाहको गुरुयोजना तयार

दोधारा चाँदनी सुक्खा बन्दरगाहको कम्प्युटरले तयार पारिएको तस्बिर।

सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने अपेक्षा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ। संघीय सरकारले तुलनात्मक रूपमा विकासले पछाडि परेको सुदूरपश्चिम प्रदेशमा छिमेकी भारतका सुक्खा बन्दरगाहसँग जोड्ने गरी कञ्चनपुरको दुई सय ८० बिघा जग्गामा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको आवश्यक गुरुयोजना तयार पारिसकेको छ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिले दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार पारेर वातावरणीय प्रभाव मूल्यांकनको पूर्वस्वीकृतिको लागि वातावरण मन्त्रालयसँग अनुमति माग गरेको छ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भइसकेको बताए।  

‘दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी सुदूरपश्चिम प्रदेशको विकासको ढोका खोल्ने परियोजनाको रूपमा अघि सारेका छौं,’ उनले भने, ‘यो परियोजना बनेसँगै भारतको राजधानी सहर दिल्लीबाट करिब तीन सय किलोमिटर दुरीमा अवस्थित भएकाले पनि नेपालको व्यापार घाटा कम गर्न धेरै मद्दत पु¥याउनेछ। त्यति मात्रै होइन, सामान पनि सस्तो र सुलभ दरमा आयात तथा निर्यात गर्न सकिनेछ।’  

समितिले अहिलेसम्म परियोजनाको गुरुयोजना तयार पारिसकेको छ। समिति वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनको अनुमति दिएसँगै परियोजनाको विस्तुत सम्भाव्यता अध्ययन प्रतिवेदन र इआई प्रतिवेदन सँगसँगै तयार पार्ने योजनासहित तयारी अवस्थामा रहेको छ।  

समितिका कार्यकारी निर्देशक गजुरेलले दुई सय ८० बिघा क्षेत्रफलमा निर्माण गरिने यो परियोजनाको प्रथम चरणको संरचना निर्माणको ६ अर्ब ९८ करोड १६ लाख ७६ हजार २ सय ६० लागत अनुमान गरिएको छ। यो परियोजना कञ्चनपुरको महाकाली पारी दोधारा–चाँदनी गौरीशंकर र मायापुरी सामुदायिक वनको जंगलमा निर्माण गर्न प्रस्ताव गरिएको छ। अहिलेसम्म यो परियोजनाले समेट्ने क्षेत्रको जग्गा प्राप्ति भने भइसकेको छैन।  

समितिले यो परियोजनाको परियोजनाको सर्भे तथा विस्तृत डिजाइन तथा इआइए र टेन्डर डकुमेन्ट तयार पार्नको लागि १५ महिनाको समय छुट्ट्याएको छ। १२ जुलाई २०२२ सम्म विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने योजना तय गरिएको छ। समितिले यो परियोजनाको कुनै अवरोधबिनै पूर्वतयारीको काम भएको खण्डमा १२ अक्टोबर २०२२ देखि निर्माण सुरु गरेर दुई वर्षभित्रै अर्थात १२ अक्टोबर सन् २०२४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। विस्तुत परियोजना सम्भाव्यता अध्ययन र निर्माण अवधिसमेत गर्दा तीन वर्ष १० महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो परियोजनाबाट वार्षिक ३.२० प्रतिशत वार्षिक प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। यो परियोजना पहिलो चरणको संरचना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनामा मेनगेट तीनवटा, भन्सार तथा अध्यागमन सेक्युरिटी, बैंक/भन्सार, अत्याधुनिक ल्याब, भान्छा यार्ड, वेयरहाउस, १२ सय क्षमताको ट्रक पार्किङ, तीन हजार क्षमताको कन्टेनर पार्किङ, रेल्वे प्लेटफर्म, रेल्वे वेयरहाउस कन्टेनर यार्ड, डर्टी यार्ड लगायत संचरना निर्माण गरिनेछ। समितिका कार्यकारी निर्देशक गजुरेलले अहिले सुक्खा बन्दरगाह नबन्दा अहिले भैरहवाबाटै सुदूरपश्चिमको लागि विभिन्न मालसमान आयात हुँदै आइरहेको छ। सुक्खा बन्दरगाह बनेसँगै भारतको दिल्ली, गुजरात, मान्द्र लगायत सुक्खा बन्दरगाहबाट सोझै सुदूरपश्चिममा विभिन्न सामान आयात तथा निर्यात गर्न सकिनेछ।

प्रकाशित: ३१ वैशाख २०७८ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App