४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हेल्पिङ ओमेनबाट स्वास्थ्य सामग्री सहयोग

महिलाहरूको सक्रियतामा खुलेको संस्था हेल्पिङ ओमेन कम्युनिटी नेपालले दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त भइरहेको बेला स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र एन९५ मास्क सहयोग गरेको छ।  

संस्थाले नेपाल चिकित्सक संघलाई उक्त सामान हस्तान्तरण गरेको संस्थाकी एकजना सदस्य रुकिता प्रधानांगले जानकारी दिइन्। प्रधानांगका अनुसार संस्थाले संघलाई दुई हजार थान एन९५ मास्क र २४० थान पिपिई हस्तान्तरण गरेको छ। संघले संस्थाबाट प्राप्त सामग्री कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र पश्चिममा वितरण गर्नका लागि नेपालगन्ज पठाउने जनाएको छ।  

पहिलो चरणमा सुरक्षा उपकरण प्रदान गरेको र दोस्रो चरणमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई यातायात र खानाको प्रबन्ध गर्ने योजना रहेको प्रधानांगले बताइन्। ‘त्यसका लागि स्रोत जुटाउँदै छौं,’ प्रधानांग भन्छिन्, ‘मुलुक विपतमा परेका बेला हाम्रोतर्फबाट पनि केही योगदान गरौं भनेर लागिपरेका हौं।’ उनका अनुसार यसमा संस्थालाई दबाइ२४ नामको अनलाइन औषधी कम्पनीले सहयोग गरेको छ।

जारी निषेधाज्ञाका कारण सामान संकलन गर्नै मुस्किल परेको उनको गुनासो छ। प्रारम्भिक चरणमा चार सय थान पिपिई हस्तान्तरण गर्ने योजना रहे पनि बजारमा गुणस्तरीय पिपिई नपाएकोले २४० थानमात्र हस्तान्तरण गरेको उनले जानकारी दिइन्।  

यसका अलावा संस्थाले १३ जना असहायलाई राजधानीका विभिन्न विद्यालयमा पढाइरहेको छ। सिन्धुपाल्चोकमा पनि विपन्न परिवारका ८ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको र उनीहरूलाई १ देखि १० कक्षासम्मको सम्पूर्ण खर्च बेहोर्ने तयारी रहेको प्रधानांगले जानकारी दिइन्।

प्रकाशित: २८ वैशाख २०७८ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App