१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हावाहुरीले केरा खेतीमा लाखौंको नोक्सानी

हावाहुरीले ढालेको केराका बोट। तस्बिरः योगेश रावल

गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षति पुर्याएको छ ।

कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले केरा किसानले लाखौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बताए । उनले प्राय सबै केराबारीमा हावाहुरीले नोक्सान गरेको बताए ।  

‘कसैको धेरै र कसैको थोरै होला तर सबै बारीमा केराका बोट ढलेका छन’ उनले भने,‘घरी लाग्ने अवस्थाको केरा नोक्सान भएको छ ।’

उपाध्यक्ष धामीको टीकापुर नगरपालिका–४ बाघमारास्थित शुभम एग्रो फर्म अन्तरगत बेर्ना नर्सरी पूर्ण रुपमा क्षती भएको छ । उनले हावाहुरीले नर्सरीमा रहेका केराका बेर्ना समेत नष्ट गरेको जानकारी दिए ।

केरा किसान हावाहुरीले नोक्सान गरेको केराको बीमा वाफतको रकम नपाएर झन धेरै समस्यामा छन । उनीहरुको केराको बीमा भएपनि सम्बन्धित कम्पनीले भुक्तानीमा समस्या देखाउने गरेका छन । किसानका अनुसार बीमा कम्पनीको भुक्तानी प्रकृया निकै झण्झटिलो हुने गरेको छ ।

‘ऋण प्रयोजनका लागि बीमा गर्नैपर्ने हुन्छ तर भुक्तानी माग गर्दा कहिल्यै भुक्तानी हुँदैन’, उपाध्यक्ष धामीले भने, ‘त्यसकारण प्राय किसानले बीमा भुक्तानी माग नै गर्दैनन् ।’

कैलालीमा करिव १ हजार पाँच सय विगाह क्षेत्रफलमा केरा खेती हुने गरेको छ । सबैभन्दा धेरै टीकापुर नगरपालिकामा मात्रै ५ सय विगाह क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । टीकापुरलाई पछिल्लो समय ‘बनाना हब’ का नामले चिन्ने गरिन्छ । सरकारले समेत टीकापुरमा केरा खेती बिस्तारमा पहल गरिरहेको छ ।  

पछिल्लो समय जिल्लाभर केराखेती गर्नेको संख्या ह्वात्तै बढेको छ । टीकापुर नगरपालिकामा मात्रै सय जनाले केराखेती गर्दै आएका छन् । केराखेतीमा मात्रै १ हजार जनाले रोजगारी पाएका छन् । 

प्रकाशित: २४ वैशाख २०७८ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App