१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

खरिपाटीमा आइसोलेसन केन्द्र बनाउन प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९ संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र निर्माण गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर त्यही १४ दिने क्वारेन्टिनमा राखिएको थियो।  

तालिम केन्द्रको पूर्वाधार मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए।

शाक्यका अनुसार प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीलाई राख्न प्राथमिकता दिँदै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो।  

‘तालिम केन्द्र परिसरभित्रका भवनमा ६६ कोठा छन्। तिनमा १३३ बेड राख्न सकिन्छ,’ शाक्य भन्छन्, ‘गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्। त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्री जोहो गरे पुग्छ। तालिम केन्द्रमा सिसिटिभी पनि छ, बिरामीलाई अक्सिजन आवश्यक परे कोठाहरूमा सिलिन्डर राख्न सकिन्छ, आपतकालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालु अवस्थामा छ।’  

अक्सिजन उद्योगलाई निरन्तर बिजुली

प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ। कार्यकारी निर्देशक शाक्यले बत्ती गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगलाई खबर गरिएको बताए। ‘विद्युत वितरण केन्द्रहरूलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौं, केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन्।’

प्रकाशित: २४ वैशाख २०७८ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App