७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाख्रिबासमा औद्योगिक ग्राम शिलान्यास

औद्योगिक ग्राम शिलान्यास गर्दै संघीय प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई। तस्बिर:मालाती/नागरिक

धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। पाख्रिबास नगरपालिकाको आयोजनामा बिहीबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन्।  

राईकै पहलमा नगरपालिकाको वडा नं ७, राम्चेडाँडामा ११७ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण सुरु भएको हो। कार्यक्रममा बोल्दै सांसद राईले देशलाई आर्थिक रूपमा धनी बनाउन उद्योगधन्दा, कलकारखाना खोल्न आवश्यक रहेको बताए। रोजगारी सिर्जना गर्न प्रदेश र स्थानीय सरकारले नीति बनाएर हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिरहेको जानकारी गराउँदै उनले सरकारको नीति अनुसार नै पाख्रिबास नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको बताए। उक्त औद्योगिक ग्राममा पाख्रिबासका बासिन्दाले रोजगारी पाउने सांसद राईको भनाइ छ।  

कार्यक्रममा पाख्रिबास नगरपालिका प्रमुख वृषबहादुर राईले ५४ करोडमा बन्न लागेको औद्योगिक ग्रामको लागि पहिलो चरणमा एक करोडको टेन्डर खुलेको जानकारी दिँदै यसबाट भवन, बाटो निर्माणको काम गरिने बताए। औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उनको भनाइ छ। उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङले यो औद्योगिक ग्राम स्थापनाले पाख्रिबासको विकासमा एउटा इँटा थप्ने बताए।

प्रकाशित: २४ वैशाख २०७८ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App