२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इजरायल रोजगारीका लागि निर्देशिका जारी

२५ वर्ष नाघेका मात्र जान पाउने

कहिले खुल्ने र बन्द हुने गरेको इजरायल रोजगारी नियमित गर्न सरकारले निर्देशिका जारी गरेको छ। निर्देशिका अनुसार रोजगारीका लागि इजरायल जानेको उमेर कम्तीमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।पछिल्लो पटक पाँच वर्षअघि इजरायलमा पाँच सय केयरगिभर पठाउन थालिए पनि अनेकौं अस्पष्टताका कारण बीचमै बन्द गरिएको थियो। एक सय जतिलाई इजरायल पठाएपछि त्यहाँको रोजगारी बन्द भएको थियो। पाँच वर्षअघि रोजगारी सुचारु गर्न निकै प्रयास गर्नुपरेको थियो।  

बन्द भएको रोजगारी सुचारु गर्न केही महिनापहिला इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र त्यहाँका विदेशमन्त्रीबीच सम्झौता भएको थियो। सोही सम्झौता अनुसार सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ जारी गरेको हो।  

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले निर्देशिका जारी भएसँगै इजरायल रोजगारी सुरु गर्न तयारी थालिएको बताए। ‘भाषाका लागि पाठ्यक्रम र परीक्षा सञ्चालन गर्न काम सुरु भइसकेको छ,’ उनले भने, ‘अब इजरायलबाट कामदारको माग आउनेबित्तिकै पठाउन सक्ने अवस्थामा पुगेका छौं।’  

सरकारले २०७८ भित्र पाँच सयलाई रोजगारीका लागि इजरायल पठाउने लक्ष्य राखेको छ। रोजगारीका लागि त्यहाँ जानेहरूमा अधिकांश केयरगिभर हुनेछन्। केयरगिभरको काम इजरायलमा बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। बसोबास र पारिश्रमिकको दृष्टिकोणले इजरायलको रोजगारी आकर्षक मानिन्छ। 

सरकारले २०७८ भित्र पाँच सयलाई रोजगारीका लागि इजरायल पठाउने लक्ष्य राखेको छ। रोजगारीका लागि त्यहाँ जानेहरूमा अधिकांश केयरगिभर हुनेछन्। केयरगिभरको काम इजरायलमा बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। 

आकर्षक रोजगारी भएका कारण ठूलो संख्याका युवायुवती इजरायल रोजगारीको प्रतिक्षामा छन्। विभागका अधिकारीहरू इजरायल जानेहरूको कम्तीमा मासिक एक लाख रूपैयाँ पारिश्रमिक हुन्छ। त्यस्तै त्यहाँ महिलामाथि शोषणका घटना पनि कम हुने गरेका उदाहरण छन्।  

विभागले माघमा निर्देशिकाको मस्यौदा तयार पारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले मस्यौदामा केही संशोधन गरेपछि स्वीकृति भएको हो। निर्देशिकामा विगतमा इजरायल गई काम गरेका व्यक्ति तथा इजरायलमा बसोबास गरिरहेका व्यक्तिका आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी जान नपाउने प्रावधान छ।  

त्यस्तै, लागूपदार्थ वा मादक पदार्थको दुव्र्यसनमा लागेका व्यक्ति पनि जान पाउने छैनन्। विभागका महानिर्देशक दवाडीले कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुने बताए। प्रतिस्पर्धाका लागि १२ कक्षा उत्तीर्ण गरी तीन महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ। साथै १२ कक्षा उत्तीर्ण गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ।

इजरायल जाने व्यक्तिको उचाइ कम्तीमा ४.९ फिट र तौल ४५ केजी हुनुपर्ने प्रावधान राखिएको छ।। शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुको साथै असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने मन्त्रालयका अधिकारीले बताए। इजरायल जाने कामदार छनोटका लागि विभागका महानिर्देशकको संयोजकत्वमा छनोट समित गठन गरिएको छ।  

इजरायलले केयरगिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजान तयारी गरेको विभागले जनाएको छ। छनोटमा परेकाले इजरायल जान हवाई भाडा, स्वास्थ्य परीक्षणसहित एक लाख रूपैयाँभन्दा बढी खर्च नहुने विभागले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०७८ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App