८ वैशाख २०८१ शनिबार
अर्थ

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

मौसममा ठूलो परिवर्तन भएको छैन। सिजन फेरिएको पनि होइन। तर राजधानीको बजारमा तरकारीको मूल्य निकै घटेको छ। कोभिड–१९ को संक्रमण फैलिएर उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि तरकारीको भाउ आधासम्म सस्तिएको छ। खाद्यान्न लागयत अन्य दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेका बेला बजारमा अधिकांश तरकारीको भाउ घटेको हो।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत मंगलबार (वैशाख १४ गते) ५५ रूपैयाँ किलोमा बिक्री भएको काउली यो सोमबार (वैशाख २० गते) २२ रूपैयाँ ५० पैसामा बिक्री भएको छ। त्यसैगरी, ९५ रूपैयाँमा बिक्री भएको बोडी ४५ मा, ६५ रूपैयाँमा बिक्री भएको घिउ सिमी १७ रूपैयाँ ५० पैसामा बिक्री भएको छ। कालीमाटीमा बिक्री भएको तरकारीको मूल्य औसत हो।निषेधाज्ञाका कारण बजारमा तरकारीको खपत घटेकाले मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। 

‘निषेधाज्ञा हुनासाथ बजारमा तरकारीको माग स्वाट्टै घटेको छ,’ श्रेष्ठले भने, ‘माग घटेपछि मूल्य पनि घट्यो।’ त्यसैगरी, भिण्डीको मूल्य एक सातामा ६५ रूपैयाँ किलोबाट ३५ रूपैयाँमा झरेको छ। घिरौंला ५५ बाट २०, लौका ३० बाट १७ रूपैयाँ ५० पैसा, चिचिन्डो ४५ बाट २५ रूपैयाँ किलोमा झरेको छ। त्यसैगरी, ब्रोकाउलीको मूल्य ७५ बाट ५५, गोलभेडा २२ रूपैयाँ ५० पैसाबाट १७ रूपैयाँ ५० पैसा, साग ७५ रूपैयाँबाट ६५ रूपैयाँ किलोमा ओर्लेको समितिले जनाएको छ।त्यही तरकारी बजार हुँदै उपभोक्ताकहाँ पुग्दा भने केही महँगो हुन्छ।

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्। निषेधाज्ञाले तरकारीको बिक्रीवितरणमा असर पुगेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘कोभिडले तरकारीको बिक्री घटेपछि मूल्य पनि घटेको छ,’ घिमिरेले भने। निषेधाज्ञा लम्बिएर कडाइ हुँदा ढुवानी गर्न कठिनाइ हुने भएकाले तरकारी उत्पादक किसानले उत्पादन गरेको तरकारी बजारमा धमाधम बिक्री गरेका छन्।

 कालीमाटीमा नै सस्तोमा बिक्री भइरहेकाले किसानले निकै न्यून मूल्य पाएका छन्। निषेधाज्ञाको कारण किसान फेरि पनि मर्कामा पर्ने सूचना अधिकारी श्रेष्ठ बताउँछन्। ‘निषेधाज्ञा सुरु भएपछि किसानले न्यून मूल्यमा तरकारी बचेका छन्,’ श्रेष्ठले भने, ‘गत वर्षको लकडाउनमा जस्तै यो वर्ष पनि किसान मर्कामा पर्ने भए।’उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामन लगायत क्षेत्रमा उत्पादन भएको तरकारी कालीमाटी आउँछ। स्थानीय उत्पादनले नपुग भारतबाट आयात हुन्छ। तरकारी कालीमाटी, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल लगायत तरकारी बजार हुँदै खुद्रा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्छ।

प्रकाशित: २१ वैशाख २०७८ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App