१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

गल्छी-रसुवागढी सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर बन्ने

३३ मिटर अग्लो फ्लाइ ओभर पुल निर्माण हुने क्षेत्र । तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर पुल बन्ने भएको छ । गल्छी रसुवागढी सडक खण्ड अन्तर्गत पर्ने त्रिशूली थ्रि ए र त्रिशूली थ्रि बि को पावरहाउस क्षेत्रमा उक्त पुल निर्माण गर्न लागिएको हो । यस क्षेत्रमा सडक निर्माणको लागि पर्याप्त स्थान नभएका कारण फ्लाइ ओभर पुल निर्माण गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।  

यसको प्रारम्भिक अध्ययन भएको छ । यसको प्रारम्भिक ड्रोइङ डिजाइन तयार भएको छ । यसको स्टिमेट स्वीकृत भएपछि काम अघि बढ्ने छ । नेपालमा यसअघि निर्माण भएका पुलहरू १० मिटर अग्लाे छन् । त्यसकारण यो पुल नेपालकै पहिलो अग्लो पुल हुने छ । पुल निर्माणका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने छ ।  

यो पुल ६ सय मिटर लामो हुन्छ । गल्छी–रसुवागढी सडक खण्डमा आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्न लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । जसमा यो पुल निर्माण पनि पर्छ । ‘यो सडकमा हामीले नयाँ प्रविधि भित्राउँदै छौं’, उनले भने, ‘यसमा फ्लाइ ओभर पुल निर्माण, पहिरो नियन्त्रण र नेटवर्क आर्क पर्छ ।’  

सडक खण्डको तीन स्थानमा पहिरो नियन्त्रणका लागि योजनाले रक एङकरिङ र सोयल नेलिङको कार्य गर्ने छ । १८ मिटरसम्म गहिरो पुल बनाएर त्यसमा रड घुसाउने हाइ स्टेन कंक्रिटको ग्राउडिङ गरिन्छ । बाहिर सरफेसमा आरसिसि बिमहरू निर्माण हुन्छ । बिममा नट बोल्ट लगाउने काम हुने छ । पहिरो नियन्त्रणको यो कार्य २ वर्षमा सकाउने योजनाको लक्ष्य छ । यसका लागि ५१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । योजनाका अनुसार यो काम तिरतिरे भीर, जिलिङ र कोल्पुटारमा हुने छ । अहिले योजनाले पैरेवेशीको पहिरोको अध्ययन गरिरहेको छ ।  

यसैगरी योजनाले तीन स्थानमा नेटवर्क आर्क (सिग्नेचर ब्रिज) निर्माण गर्ने छ । यसका लागि २५ करोड रुपैयाँ खर्च हुने योजनाले जनाएको छ । सहरको सुन्दरता बढाउनका लागि यो पुल निर्माण गरिन्छ । यो नुवाकोटको बट्टारस्थित राममन्दिर र आर्मी ब्यारेकको दाँयावाँया निर्माण हुने योजनाले जनाएको छ ।

रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको गल्छी–मैलुङ सडकको स्तरोन्नतिको काम ६८ प्रतिशत सकिएको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाएकोमा गल्छीदेखि मैलुङसम्मको ६८ प्रतिशत काम सकिएको हो । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: १८ वैशाख २०७८ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App