१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

असारभित्र उदयपुरगढीका सबै वडामा बिजुली बल्ने

उदयपुरगढी गाउँपालिकाका सबै वडावासीले आउँदो असारभित्र बिजुली बत्ती बाल्न पाउने भएका छन्। गाउँपालिकामा सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामिण सामुदायिक विद्युतीकरण आयोजनामार्फत् गाउँपालिकाबासीले विद्युत सेवा उपभोग गर्ने निश्चित भएको हो।

योजना सम्पन्न भएपछि गाउँपालिकाका ८ वटा वडाका ६ हजार ५ सय ० घरधुरी परिवार लाभान्वित हुनेछन्। जसअन्तर्गत १६ हजार ४ सय ७ महिलासहित ३२ हजार २ सय ५० जनसंख्याले विद्युत उपभोग गर्न पाउने गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए।

अध्यक्ष मगरले वडागत जनसंख्या अनुसार १ नं. ८ सय ४३ घरधुरीका २ हजार ५ सय ५५ जना छन् भने २ नं. वडाका ६ सय १३ घरधुरीका ३ हजार १ सय ९ जनसंख्या रहेको बताए । त्यस्तै वडा नं. ३ का ५ सय ५७ घरधुरीका ३ हजार १ सय ७१, वडा नं. ४ का ४ सय घरधुरीका २० हजार ८ जनसंख्याले विद्युत उपभोग गर्न पाउने छन् भने ५ नं. वडाका ९ सय २५ घरधुरीका ४ हजार ७ सय ६१ जनसंख्याले विजुली बाल्न पाउनेछन्।६ नं. वडाबासी १ हजार २४ घरधुरीका ७ हजार १ सय ३६ जना, ७ का १ हजार २ सय ८६ घरधुरीका ४ हजार ७ सय १४ तथा ८ नं. वडाका ९ सय २६ घरधुरीका ४ हजार ७ सय १४ जनसंख्या विद्युतबाट लाभान्वित हुनेछन् ।

गाउँपालिकाभरी १५ हजार ५३ जना विवाहित, १२ हजार ८ सय १९ अविवाहित र १ सय ४७ अपांगता भएका उपभोक्ताले विद्युत सेवा पाउने प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताए । सुवेदीका अनुसार विद्युत बाल्न पहिलो चरणमा १ हजार ९ थान मिटरबक्स लगेर गाउँपालिकाले उपभोक्तालाई वितरण गरिसकेको छ । अपुग मिटरबक्स वितरण गर्न थप ४ हजार थान खरिद प्रक्रियास्वरुप नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, गाईघाटलाई भुक्तानीको अन्तिम चरणमा पुगेको सुवेदीले बताए।  

प्रतिगोटा १ हजार ७ सय १२ रुपैयाँ पर्ने मिटरबक्सको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बापत २ सय २२ रुपैयाँ ५६ पैसा थप्दा १ हजार ९ सय ५६ रुपैयाँ पर्न आउने सुवेदीले बताए । जसअनुसार गत असोज १५ गते १ हजार ९ सय मिटरबक्सको मूल्य ३७ लाख १६ हजार ४ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गरिसकिएको छ।

अपुग उपभोक्ताका लागि गाउँपालिकाले थप ४ हजार थान मिटरबक्स लाने तयारीमा छ। त्यसका लागि गाउँपालिकाले ७८ लाख २४ हजार बुझाउने अन्तिम तयारी भइरहेको अधिकृत सुवेदीले बताए।

गाउँपालिकाले विद्युतीकरणका लागि पहिलो चरणमा ३३ करोड र दोस्रो चरणमा २१ गरी ५४ करोड लगानी गरिसकेको जनाएको छ। प्रारम्भिक चरणमा ६५ करोडको लागत इस्टिमेट भएको आयोजनाका लागि स्थानीय जनसहभागिताबापत् नगदै १० प्रतिशत जुटाएको र बाँकी ९० प्रतिशत नेपाल सरकार, सामुदायिक विद्युतीकरण विभागले उपलब्ध गराएको छ।  

समुदायले बेहोर्नुपर्ने १० प्रतिशतबापतको ५ करोड ४० लाख रकम जुटाउन स्थानीयबाट संकलित ३ करोड २० लाख र गाउँपालिकाबाट २ करोड २४ लाख खर्च भएको छ। जसका लागि प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल) र प्रदेशसभा सदस्य नारायण बुर्जामगरको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत केही रकम छुट्याइए पनि कानुनी अड्चनले खर्च गर्न नमिलेको सुवेदीले बताए।

गाउँपालिकाबासीको घरघरमा बिजुली बाल्ने योजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेटमा साझेदारी गर्न जनप्रतिनिधि तयार भएकाले यति छिट्टै बिजुली बाल्ने अवस्थामा जनता पुगेको ‘उदयपुरगढी विद्युतीकरण उपभोक्ता समिति’का अध्यक्ष देव गिरीले बताए।

आयोजना सामुदायिक बाल विकास एवं महिला जागरण केन्द्र, कटारी उदयपुरको प्राविधिक साझेदारीमा भइरहेको उनले बताए।

प्रकाशित: १७ वैशाख २०७८ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App